भदौ १०, काठमाडौं ।
काबुल विमानस्थललाई लक्ष्य गरी प्रहार गरिएका केही रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले जनाएको छ।
अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा प्रदान गरिरहेको छ।
अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिने अघिल्लो दिन उक्त घटना भएको हो।
अमेरिकाका अनुसार सोमवार बिहान कम्तीमा पाँचवटा रकेटलाई खसालिएको थियो।
प्रारम्भिक विवरणमा अमेरिकी सेनापट्टि कोही हताहत भएको सङ्केत नआएको एक अमेरिकी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
केही स्थानीयवासीले छर्रा आफ्नो घरमा खसेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका भिडिओ र तस्बिरमा काबुलका छतबाट धुवाँ निस्किएको र एउटा जलेको गाडी सडकमा देखिन्छ।
अफगान सञ्चारमाध्यमका अनुसार एउटा सवारीसाधनको पछाडिपट्टिबाट रकेट आक्रमण गरिएको थियो।
कसैले पनि उक्त आक्रमणको जिम्मेदारी लिएको छैन।
‘अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे’
त्यो सम्झौता जसले तालिबानलाई अफगानिस्तानको सत्ता कब्जा गर्न सघायो
तर त्यसबारे राष्ट्रपति जो बाइडनलाई जानकारी दिइसकिएको अमेरिकी राष्ट्रिपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसका अनुसार अहिले पनि काबुल विमानस्थलमा अमेरिकाले आफ्नो गतिविधि “निर्बाध” सञ्चालन गरिरहेको छ।बिबिसी