भदौ १५, काठमाडौँ ।
सरकारले डाक्टर गोविन्द केसीसँग विभिन्न समयमा गरेको सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ । डा. केसी र सरकारबीच विभिन्न समयमा भएका सहमति कार्यान्वयनका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर दीपेन्द्ररमण सिंहको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानुन मन्त्रालयका सहसचिव सदस्य रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । समितिलाई सरकारसँग भएका सम्झौता प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्सँग छलफल गरी कार्यान्वयन गर्न बाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारेसुझाव पेस गर्न कार्यादेश दिइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि ३ भदौबाट डाक्टर केसीले सुरु गर्ने भनिएको अनसन स्थगित भएको थियो ।