भदौ १९, लमजुङ्ग ।
नेपाली काँग्रेस मनाङले अधिवेशन नहुँदै सहमतिमै नयाँ नेतृत्वको टुङ्गो लगाएको छ । काँग्रेस मनाङ्गले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।
दुई कार्यकाल नेतृत्व सम्हाल्नुभएका वर्तमान जिल्ला सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाईएको काँग्रेस मनाङ्गका सचिव सुरेन्द्र गुरुङले बताउनुभयो ।
जिल्ला सभापतिसहित मनाङ्ग काँग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रिय कार्यसमिति र स्थानिय तहमा समेत सहमतिमै नयाँ नेतृत्व चयन गरिएको काँग्रेस मनाङ्गका सभापति टेकबहादुर गुरुङले बताउनुभयो । मनाङ्गमा स्थानिय तह, प्रदेश र संघिय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद नभएको गुरुङको भनाइ छ ।
जिल्ला सभापति बन्न लाग्नुभएका गुरुङ नेपाली काँग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति हुनुहुन्थ्यो । यद्यपी अधिवेशनको मिति बाँकी नै रहेकाले सबै नाम भने सार्वजनिक गरिएको छैन ।