शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला – Kanika Khabar
Thursday, April 25Nepali News Portal

शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

    मा प्रकाशित

भदौ २४, काठमाडौँ ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ ।

कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ । शुक्रबारदेखि मन्दिर खोल्न आज सुरक्षा समितिको बैठक बसी तयारी गरिएको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो ।

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्