थारु समूदायको अट्वारी चर्चा – Kanika Khabar
Saturday, November 27Nepali News Portal

थारु समूदायको अट्वारी चर्चा

    मा प्रकाशित

May be an image of 1 personदिप्तीशिखा चौधरी

थारु समूदायको अट्वारी पर्व भाद्र महिनाको शुक्ल पक्षको आईतबारका दिन मनाईने पर्व हो । यो पर्व दुई दिन मनाईन्छ । यो पर्वको आगमनसँगै थारु समुदायमा तोरी पेलाउने, पिठो पिसाउने काम दुई चार दिनदेखि नै शुरु भइसकेको हुन्छ ।

पहिलो दिन
अट्वारी पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने नाममा भात, माछा चोखो तरीकाले पकाईन्छ । र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । त्यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला ब्रत बस्छन् । दिउँसो पुरुष ब्रतालुहरु नुहाईधुवाई गरेर चामलको पिठोको “ठोप्वा” गोलो आकारको रोटि पकाउँछन् । रोटि पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाईएको हुन्छ । सबैभन्दा पहिले पकाईएको रोटी आकारमा अरु रोटी भन्दा ठूलो हुन्छ । जुन रोटी थारु लोकबिश्वास अनुसार भिम (पाण्डुका माहिला पुत्र) का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै ब्रतालुहरु गोवरले लिपेको ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ । टपरीमा रोटी, काक्रो, केरा लगायत अन्य फलफुल, दहि, घ्यु राखिन्छ । ब्रतालुहरुले आफनो टपरीबाट सबै खाने कुरा अग्नी देवतालाई चढाउँछन् । जल आमचन गर्छन । त्यसपछि आफनो दुना टपरीबाट अर्को दुना टपरीमा खाने कुरा अलीअली निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई “अग्रासन” भनिन्छ ।

दोस्रो दिन
अट्वारीको दोस्रो दिन बिहानै नुहाईधुवाई गरेर ब्रतालुहरु खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाईन्छ । जसमा पवैको साग सिल्टुङ (एक प्रकारको गेडा), पाप्रो (गब्डा) , चिचिण्डो (कैठा ) अनिबार्य हुनुपर्छ । अन्य मौसमी तरकारी पनि हुनु पर्दछ । खाना पकाईसकेपछि सबै ब्रतालुहरु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र बौँताबाट अलीअली खाना झिकेर अग्नीलाई चढाँछन् । जल आचमन गर्छन् । छुट्टै दुना टपरीमा केहि अंश छुट्याएर राख्छन् । त्सपछि आफु खान्छन् । साँझ निकालीएको खानेकुरा र बिहानको खाना “अग्रासन” आफना दिदि बहिनीहरुलाई दिन जान्छन् । आफुले खाने खाना शाकाहारी भएपनि दिदि बहिनीहरु लाई दिन जाँदा माछा, मासु पकाएर दिन जाने चलन छ ।

चेलीवेटीहरु अग्रासन आउने दिन हर्षीत हुन्छन् । माईतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा बसेर खाना नखाई बस्छन् । कतीखेर मेरो माईतीबाट खाने कुरा आउला र म खाउँला प्रतीक्षा गरिरहेका हुन्छन् । यो अग्रासनले माईतीको माया, पे्रम र सद्भावलाई दर्साउँछ । कुनै कारणबस अग्रासन नपाएमा दिदिबहिनीहरु मनको उदासी, छट्पटि र दुःख मान्दै आँशु खसाउँछन् । माईती देशबाट धेरै टाढा रहेको महशुस गर्दछन् । “अग्रासन” ले यसरी पराईघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदिबहिनीको प्रेमको प्रतीक हो । तर आजकल थारुहरुको चाड पर्व आधुनिकीकरणसंगै बिस्तारै हराउँदै गएको थारु अगुवाहरु बताउँछन् । अट्वारी कोहि थारुहरु तिज अगाबै मनाउँछन्, कोहि तीज पछि मनाउदै आएका छन् । कुनै गाँउमा यी यस्ता पर्व मनाउनै छाडेका छन् । यसले गर्दा थारुहरु स्वंयम एकजुट नभएर फुटेको प्रष्ट देखिन्छ । बिगत चार पाँच बर्षयता थारुहरुमा मेलमिलापको बाताबरण देखिदैन । थारु अगुवाहरु स्वयम् “म” भन्ने भावनाले ग्रसित छन् ।

संस्कृतिका अगुवा कृष्णराज सर्वहारी भन्छन् – “परापूर्वकाल देखि नै थारुहरुले अट्वारी कहिले मनाएका हुन् यस बारेमा जानकारी नभएकाले अब कतीपय थारुहरुले भाद्र महिनाको शुक्लपक्ष अगावै मनाउँदै आएका छन् । कोहि थारुहरु भने पर्व हो जहिले मनाए पनि मनाउनै पर्ने हो भन्ने सोचलेगर्दा अघि र पछि मनाउने गरेका छन् । यसलेगर्दा बाहिर नराम्रो सन्देश त गएको छ नै, सस्ंकृति धरापमा पर्ने अबस्था छ ।”

थारु सस्ंकृबिदहरु भने थारु समुदायले मनाउदै आएको चाडपर्वलाई जगेर्ना गर्दै जानु पर्छ, नँया पुस्ताले यसको संरक्षणमा जोड दिनुपर्छ भन्ने सुझाव दिन्छन् । यस पर्व ऐतिहासीक किम्बदन्ती अनौठो खालको छ भन्छन् अर्का सस्ंकृतीबिद अशोक थारुले । थारु भन्छन् – “दाङ सुकौराका थारु राजा दङ्गीशरणको दरबार घोडारुपी उर्वशीका कारण स्वर्गका राजा ईन्द्रले आक्रमण गरीदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र दंगीबिच निकै घनिष्टता बढेछ । एक पटक कुनै शत्रुले दंगिमाथि आक्रमण गरेपछि रोटि पकाउँदा पकाउँदै पाकीरहेको रोटि त्यसै छोडेर भीम दंगीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आईतबार नै परेछ । त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झीएर अट्वारी पर्व मनाउन थालीएको हो ।”

सस्ंकृतीबिद थारुका अनुसार आईतबारलाई रविबार पनि भनिन्छ । रवि अर्थात सूर्य जो जीवनको मुख्य उर्जास्रोत हो । थारु सस्ंकृतीमा सूर्यनारायणको आराध्य कन्या कुन्ती महाभारतकी नायिका कुन्ती कोटारिन देवी माईका रुपमा पुजिन्छिन् । उनमा तेत्तीसकोटि देवीदेवतालाई आह्वान गर्ने शक्ति बिद्यमान थियो । त्यही शक्ति अर्थात मन्त्रको परीक्षण गर्दा रवि अर्थात सूर्य आइपुगी निजबाट कर्ण जसलाई थारुहरु करेङवीर राज भन्दछन्, उनको जन्म भएको थियो । थारु संस्कृति अनुसार छोराको जन्म भएमा “सठौरा पुजा” पुज्ने चलन छ । जसमा रोटी चढाईन्छ । रवी अर्थात सूर्य ब्रह्माण्डका शक्ति भएको र कोटारिन माइका पूजनीय दुवै भएकाले रवीको सम्झनामा रविबार अर्थात आईतबारका दिन गरिने व्रत उपवासलाई “अट्वारी” भन्न थालिएको हो ।

थारु संस्कृबिद्धहरु अट्वारी पर्वलाई यसरी अथ्यौइरहदा थारु अगुवाहरु भने आजको आधुनिक यूगमा क्यालेन्डरमा अट्वारी पर्वको मिति घोषणा गर्न सकेका छैनन् । अहिले स्थानीय सरकार भएसँगै थारु बाहुल्यता भएको स्थानीय तहमा सार्वजनीक विदा समेत दिएको छ । थारु समुदायको पर्वलाई राज्यले चासो नलीएका बखत केहि स्थानीय तहले यसलाई चासोका रुपमा लिएको देखिन्छ । राज्यसँग माग गर्ने तर दवावमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वमा सार्वजनिक बिदा नदिएको कतीपयको बुझाई छ । एकातर्फ थारुहरु स्वयम एकजुट हुन नसक्नुले पनि थारुको लोकसस्ंकृती हराउँदै गएको बिश्लेषण छ । त्यसैले थारुहरु आफनो लोकसस्ंकृती लोक परम्परालाई जगेर्ना गर्न एक आपसमा सहकार्य, सद्भाव, सहअस्तित्व गर्नु आबश्यक छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्