कोभिडले रोकिएको जनजणना सुरु गरिदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोभिडले रोकिएको जनजणना सुरु गरिदै

    मा प्रकाशित

दाङ, २८ भदौ । कोभिडको कारणले बैशाखमा रोकिएको राष्ट्रिय जन गणना २०७८ सुरु गरिएको छ । जन गणनामा खटिने सुपरिवेक्षकहरुलाई आइतवारबाट पुनर्ताजगी तालिम दिन सुरु गरिएको छ । उनीहरुलाई २ दिने तालिम दिएर फिल्डमा पठाइने भएको छ । सरकारले आगामी कात्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरुले घर घरमा गएर तथ्याङक सङकलन गर्ने छन् ।

सुपर भाइजरलाई तालिम दिएर भदौ ३० देखि असोज १८ गते सम्म घर घरमा पुगेर सूचीकरण गर्ने छन् । छनोट भएका गणकलाई कार्तिक १३ देखि १६ गतेसम्म तालिम दिने र मूल गणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने तथ्यांक कार्यालय दाङका प्रमुख तथा जिल्ला जन गणना अधिकारी तुलसीराम पोख्रेलले जानकारी दिए । ‘मेरो गणना मेरो’ सहभागिता भन्ने नाराका साथ १२औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुन थालेको हो । नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.सं. १९६८ देखि शुरु भएको थियो ।

नेपालमा प्रत्येक १०÷१० मा जनगणना गर्ने गरिन्छ । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिएर काम गरिने छ । अघिल्ला वर्षहरुमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको हो । शिक्षकहरुलाइ खटाउँदा पठाइमा समेत समस्या पार्ने भएको भन्दै सरकारले करारमा जनशक्ति लिन थालेको बताइएको छ । ‘बेरोजगारलाई रोजगारी प्रदान गर्ने सकियोस् भनेर करारमा लिन थालिएको हो’, प्रमुख पोख्रेलले भने । यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ रहेको छ ।

जनगणनाका लागि यसअघि जिल्लाहरुमा जिल्ला जनगणना कार्यालय तथा स्थानीय तहहरुमा स्थानीय जनगणना कार्यालय स्थापना गरिए पनि कोभिडका कारण बन्द भएका थिए । अब पुनः सञ्चालनमा ल्याइनेछ । जिल्लामा ७ वटा इलाका जनगणना कार्यालय रहने भएका छन् । जनसंख्यालाई आधार मानेर जनगणनाका कार्यालयहरु स्थापना गरिने प्रमुख पोख्रेल बताउँछन् । बबई गाउँपालिकामा बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकालाई हेर्ने गरी इलाका कार्यालय रहने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय रहनेछन् । जसले तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा हेर्नेछ । घोराही उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय स्थापना हुने भएका छन् । जसले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका हेर्ने भएको छ । लमही नगरपालिकामा रहने इलाका कार्यालयले लमही नगरपालिका र राप्ती गाउँपालिका हर्ने छ । भने गढवा गाउँपालिका रहने कार्यालयले गढवा गाउँपालिका र राजपुर गाउँपालिका हेर्ने प्रमुख पोख्रेलले बताए ।

जनगणनाबाट संकलन गरिने तथ्यांकले देशको नीति निर्माण गरी देशको विकास गर्न समेत महत्वपूर्ण सहयोग पुग्ने छ । भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि यसले भूमिका खेल्ने छ । त्यसैगरेर जनसंख्याको आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गरिने छ । कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरि रहेका सबै व्यक्तिहरूको नाम थर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाई–सराई आदि विवरणहरू संकलन गर्ने गरिन्छ । यसरी तोकिएका अधिकारीहरू बाट प्रत्येक घरदैलोमा गई संकलन गरिएका सम्पूर्ण तथ्यांकहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जन गणना भनिन्छ ।

नेपाल संघीय राज्यमा परिणत भएपछि पहिलो पटक जनगणना हुन लागेको हो । स्थानीय र प्रदेश अस्तित्वमा आइसकेपछि अहिले पछिल्लो तथ्यांकको ठूलो माग रहेको तथ्यांक अधिकृतहरु बताउँछन् । यो आवश्यकता अब जनगणना २०७८ बाट पूरा गरिने छ । यसपटक पहिलो चोटी कुनै पनि घर कुन प्रयोजनका लागी बनेको हो भनेर सोधिने छ । विगतमा मात्र घरको संख्या गनिन्थ्यो । अब सिनेमा हल हो कि, व्यापारिक कम्प्लेक्स, उद्योग, कलकारखाना हो कि, मात्र बासस्थानका लागि हो भन्ने जस्तो प्रश्नको उत्तर खोजिने भएको छ ।

त्यसैगरेर यो पटक जनगणनामा मानिसहरुले बैंक खाता खोलेको वा नखोलेको बारे प्रश्न राखिने भएको छ । परिवारका सदस्यले बैंकबाट ऋण लिए नलिएको बारे समेत पहिलो पटक प्रश्न राखेर उत्तर खोजिने तयारी छ । यसले नेपालमा वित्तीय पहुँच र त्यसको उपयोग कसरी भइरहेको छ भन्ने बारे जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । कुन घरमा कुन विषयमा दक्षता वा शिक्षा लिएको प्राविधिक जनशक्ति रहेछन् भनेर खोज्ने लक्ष्य लिइएको छ । सो क्रममा घरको कुन सदस्यले कुन विषयमा कस्तो ज्ञान लिएको छ भन्नेबारे प्रश्न राखिने भएको हो । यसबाट नेपालमा प्रावधिक जनशक्तिको उपलब्धता र उनीहरुको संलग्नताबारे जानकारी प्राप्त हुने छ ।

यसपटक पहिलोचोटी जनगणनामा जन्म दर्ता कति परिवारले कति जना बच्चाको गरेका छन् भन्ने बारे विवरण संकलन गरिने भएको छ । यसअघिको जनगणनामा यस्तो प्रचलन थिएन । केन्द्रीय तथ्यांक विभागले एकपटक जन्मदर्ता बारे सर्भे गरेको थियो । तर, जनगणनामा पहिलो पटक समावेश गरिएको हो । यसैगरेर जनगणना यसअघि व्यक्ति केन्द्रित रहने गरेको थियो, जुन परिवारमा पुगेर भरिन्थ्यो । यसपटक पहिलो चोटी सामुदायिक प्रश्नावली बनाइएको छ ।

यी प्रश्नावली लिएर हरेक स्थानीय तहको वडा तह सम्म पुगेर त्यहाँको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधारको विषय संकलन हुने छ । सो क्षेत्रमा रहेको जोखिम (बाढी–पहिरो)को पनि अवस्था बारे संकलन गरिने भएको छ । साथै घर परिवारको जाति, धर्म, लिङ्गबारे वडाबाट समेत तथ्यांक संकलन गरिने भएको छ । यसबाट परिवारले दिएको विवरण र वडाले दिएको विवरणलाई तुलनागरी अझ विश्वसनीय तथ्यांक बनाउन सकिने विश्वास विभागको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्