गणेशमान सिंहकाे त्याे प्रण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गणेशमान सिंहकाे त्याे प्रण

    मा प्रकाशित

काठमाडौं २, असाेज ।                                                आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवस हाे । उहाँको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तत्कालीन सरकारले उहाँको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तात्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन । यो घोषणा नै पहिलो थियो । जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उहाँलाई लौहपुरुषको उपाधि दिइएको थियो । जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गर्नुभएको हो । सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाण्डाैकाे यट्खामा भएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई लौहपुरुष र त्यागी नेताका रूपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाउनुभएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानव अधिकारका पक्षमा लड्नुभयो । उहाँले कहीँ कसैसँग सम्झौता गर्नुभएन । आजीवन कारावास सजाय भोगिरहँदा सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी माग्नुभएन बरु जेल तोडेर भाग्नुभयो । प्रजातन्त्रको लडाइँमा सिङ्गो जीवन अर्पण गर्नुभएका सिंहले २०४६ सालको आन्दोलनको नेतृत्व गर्नुभयो । आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुनासमेत बन्नुभयो । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गर्नुभयो । पराजित भएपछि फेरि कहिल्यै उम्मेदवारी दिनुभएन ।

नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर, काठमाण्डाैकाे खानदानी परिवारमा जन्मिनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउन राजनीतिमा होमिनुभएको थियो । उहाँ तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक हुनुहुन्थ्यो । भारतमा अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिकाे एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो । सङ्घर्षका हिसाबले वीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सधैँ क्रियाशील रहनुभयो । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर कारावास भोग्नुभयो । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा वीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिइ स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहनुभयो ।

२०१५ मा सम्पन्न देशकाे पहिलो संसदीय चुनावमा काठमाण्डौ क्षेत्र नं १ बाट विजयी हुनुभएका सिंह त्यसपछि कहिल्यै चुनावमा उठ्नुभएन । त्यो चुनावमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठलाई झिनो मत अन्तरमा हराएर उहाँ विजयी हुनुभयो । त्यही बेलादेखि उहाँले फेरि कुनै पनि चुनावमा प्रतिस्पर्धा नगर्ने प्रतिज्ञा गर्नुभएको थियो ।

त्यो चुनावमा नेपाली कांग्रेसले कुल एक सय नाैमध्ये ७४ सिटका साथ दुई तिहाइको जित हासिल गरेको थियो । वीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री हुनुभयो । तिनै ताकाको कुरा हो, नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुनसहित बधाई दिन चाक्सीवारीमा रहेकाे उहाँको निवासमै पुगेका थिए ।

बधाई दिन जाने टोलीका एक सदस्य हुनुहुन्थ्यो, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले हामीलाई यसरी सुनाउनुभयो–

‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसँग ज्यादै नजिकको सम्बन्ध भएको नाताले हामी पन्ध्र/सोह्र जना साथीहरू सगुन दिन भनेर उहाँको चाक्सिवारीमा रहेकाे घरमै गएका थियौँ । त्यही बेला उहाँले भन्नुभएको थियो– ह्या, तपाईँहरू पनि केको बधाई र सगुनको कुरा गर्नुहुन्छ । मैले जितेको भनेर तपाईँहरूले यो सगुन दिन ल्याउनुभएको होला । प्राविधिक रूपमा जितेको भए पनि वास्तवमा म त हारेको व्यक्ति हुँ । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मतमात्र पाए । म आफूलाई जितेको भनुँ कि हारेको । प्रक्रियागत रूपमा जिते पनि वास्तविक रूपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाण्डाैवासीलाई नराम्रोसँग गाली गर्नुभयो ।

उहाँको भनाइ थियो, ‘यी दास भइरहेका उपत्यकावासीलाई उद्धार गर्नुपर्छ भनेर मैले ज्यानको बाजी लगाए । कहिल्यै चैनसँग बस्न पाइन । राणा शासन फाल्न ज्यानको बाजी लगाएँ । राणाहरूले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचेँ । मेरो त्यो त्याग काठमाण्डाैवासीले चिनेको यही हो । मेरो भोट चाँहि मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौँ मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासताबाट मुक्त गरेर मानिस बनाउन मैले लडेँ, उनीहरूले नै मेरो मूल्याङ्कन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जितेपछि मेरो हाई–हाई । लड्दा बाई–बाई । यो स्थिति भएकाले मैले जितेको होइन ।’

त्यही बेला गणेशमानजीले भन्नुभएको थियो, ‘हेर्नुस्, म आइन्दा कुनै चुनाव पनि लड्दिनँ र कुनै सरकारी पदमा पनि जान्नँ’, कायस्थले सम्झिनुभयो, ‘त्यसै बेला उहाँले प्रण गर्नुभएको थियो ।’

त्यसपछि गणेशमानजीसँग पटक–पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने वातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरिरहेको थियो । राजा महेन्द्रले २०१७ पुस १ गते संसदीय प्रजातन्त्रमाथि ‘कु’ गरे । वीपीसँगै गणेशमानजीलाई आठ वर्ष सुन्दरीजल बन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उहाँ भारत प्रवासमा रहनुभयो । प्रजातन्त्र बहालीका लागि सङ्घर्ष गर्नुभयो । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्‍याे । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उहाँले अस्वीकार गरिदिनुभयो । प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले हातैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । उहाँले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।

गणेशमानले २०१५ पछि पार्टीको कुनै पदमा चुनाव लड्नुभएन र २०४८ र २०५१ को आम चुनावमा समेत उम्मेदवार नै हुनुभएन ।

पछि २०४६ सालमा राजाले तपाईँ नै प्रधानमन्त्री भएर चलाउनुपर्‍याे भनेर प्रस्ताव गर्दा पनि उहाँले मान्नुभएन । नेपाली कांग्रेसले त भन्ने नै भए । कम्युनिस्टहरूले पनि भनेका थिए– गणेशमानजी अब तपाई नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपाईँले देशको प्रधानमन्त्री भएर जानुपर्छ ।

गणेशमानलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गर्नुभयो । मनमोहन अधिकारीले समर्थन गर्नुभयो । यसरी उहाँ सर्वमान्य नेता हुनुभएको हो ।

यसरी राजा, कांग्रेस र कम्युनिस्टले समेत तपाईँ प्रधानमन्त्री भइदिनु पर्‍याे भन्दा समेत नाइँ मेरो स्वास्थ्यले साथ दिँदैन भनेर अस्वीकार गर्नुभयो र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।

गणेशमानले प्रधानमन्त्री पद छाड्ने निर्णय तत्काल गर्नुभएको होइन, त्यो प्रण उहाँले २०१६ सालमै गरि सक्नुभएको थियो । उज्यालोबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्