८८ औँ दिन पछि आज सरकारले पूर्णता पाउँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

८८ औँ दिन पछि आज सरकारले पूर्णता पाउँदै

    मा प्रकाशित

असोज २२, दाङ ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाएपछि मन्त्रिपरिषद्ले आज पूणर्ता पाउने भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयलगायत अरु भागबण्डा मिलेसँगै आज बिहानसम्ममा मन्त्रीको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरूलाई भन्नुभएको छ ।

त्यसैअनुसार हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सचिवालयलाई दिएको महासचिव वेदुृुराम भुसालले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार हिजोको बालुटार बैठकमा प्रदेश १ र वागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति पनि भएको छ । उपसभामुखमा भने जनता समाजवादी पार्टीले दावी गरेको छ ।

सरकारमा जाने मन्त्रीको नाम छान्न एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान बस्ने नेता जगन्नाथ खतिवडाले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ ।

जनता समाजवादी पार्टीको कार्यकारिणी समिति र संसदीय दलले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेतालाई दिएको नेता प्रदीप यादवले सीआईएनसँग बताउनुभयो । सरकारमा जाने नेताहरूको बारेमा छलफल गर्न जसपाको शीर्ष तहको बैठक अहिले बिहान बस्दैछ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टी नेपाली काँग्रेसबाट ४ जना मन्त्री थप्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । हिजो साँझ बालुवाटारमा काँग्रेस शीर्ष नेताको छलफल भए पनि कस–कसलाई मन्त्री बनाउने भन्नेबारे सहमति भइनसकेको बालुवाटार स्रोतले जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ जना मन्त्री दिनुपर्ने अडान राख्दै आएको छ । बाँकीमध्ये वरिष्ठ नेता पौडेललाई १, महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी प्रधानमन्त्रीको छ । सत्तागठबन्धन दलबाट मन्त्री बन्ने नेताको सूची पाएपछि गठन भएको तीन महिना पुग्नै लाग्दा देउवा नेतृत्वको सरकारले आज पूणर्ता पाउनेछ । सत्तारुढ दलबीच काँग्रेसले ७, माओवादी केन्द्रले ५ वटा र जसपा अनि एकीकृत समाजवादीले ४४ मन्त्रालय पाउने सहमति बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्