यसपालिको बडादसैंमा यसरी लगाउने टीका – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

यसपालिको बडादसैंमा यसरी लगाउने टीका

    मा प्रकाशित

असोज २९, दाङ ।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने र टीका लगाइदिने मानिस पश्चिम फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

 

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्