चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनका लागि सरकारले थाल्यो पहल – Kanika Khabar
Thursday, December 1Nepali News Portal

चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनका लागि सरकारले थाल्यो पहल

    मा प्रकाशित

असोज ३१, दाङ ।
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग गरेको सहमति कार्यान्वयनका लागि पहल थालेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको छ ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । तर, केपी ओली नेतृत्त्वको सरकारले ती सबै सहमतिको कार्यान्वयन गरिसकेको थिएन । सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गर्नुभएको थियो ।

त्यसपछि गृहमन्त्री खाँणले आज अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री खाँणले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराउनुभएको थियो । बैठकमा सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा फेरि एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्