- विमला चौधरी/बिबिसी
- नेपालगन्ज, कात्तिक १ /
हात्ती र बाघका आक्रमणबाट दशैँको बेला पनि गाउँघरमा पहिलेको जस्तो चहलपहल नभएको स्थानीयवासीको भनाइ छ।
बाँकेको राप्तीसोनारी- १ गाभरनजिकै गत भदौ २७ गते सडकबाट तानेर एक ४५ वर्षीय भारतीय नागरिकलाई दुईवटा पाटेबाघले खाएका थिए।
उक्त घटनापछि त्रासपूर्ण अवस्था रहेको गाभर गाउँ दशैँमा समेत सुनसान रहेको सोही ठाउँकी चन्दा लामाले बताइन्।
गाउँनजिकै बेलाबेलामा बाघ गर्जिएको सुनिने गरेको उनले बताइन्।
“दिउँसो पनि कतैबाट बाघ आउँछ कि भन्ने डर लागिरहन्छ। बाघको डरले दशैँमा चेलीबेटीहरू पनि आउन सकेनन्। यसपालि त पहिलेको जस्तो चहलपहल छैन, दशैँ सुनसान छ।”
बाघले मान्छे खाएको करिब तीन सातापछि सोही ठाउँको सामुदायिक वनमा बाख्रा र भैँसी चराउन गएका तीन जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरू रूखमा चढेर ज्यान जोगाउन सफल भएका थिए।
तिनैमध्येका एक सेतु ओली भन्छन्, “हामी आफ्नै आँखाले चारवटा ठूला गोरुजत्रा बाघ देखेर रूखमा चढ्यौँ, हात्ती आएर नबचाएको भए बाख्रा र हामी सबैलाई त्यस दिन बाघले खान्थ्यो।”
जङ्गलको छेउमै गाउँ रहेकाले पशुचौपाया पालेर गुजारा गर्दै आएको ओलीले बताए।
उनले भने, “यहाँ सबैका भैँसी र बाख्रा धेरै छन्। यति धेरै पशुचौपाया घरमा बाँधेर पाल्न सम्भव छैन, जङ्गल लैजाऔँ बाघले खाला भन्ने डर छ।”
बर्दियामा झन् जोखिम
बाँकेभन्दा बर्दियामा जङ्गली हात्ती र बाघले बढी जनधनको क्षति गर्दै आएको देखिन्छ।
बर्दियामा २०७६/०७७ मा छ जना, २०७७/०७८ मा १२ जना र चालु आर्थिक वर्षमा अहिलेसम्म दुई जना गरी २० जनाको बाघको आक्रमणबाट ज्यान गएको बर्दिया निकुञ्जले जनाएको छ।
यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा पर्ने राजापुरको जङ्गलमा एक भारतीय नागरिकको बाघको आक्रमणबाट दुई वर्षअघि ज्यान गएको बताइएको छ।
त्यस्तै बाघकै आक्रमणबाट बाँकेमा तीन र कैलालीमा एक जनाको ज्यान गएको छ।
बर्दिया निकुञ्ज छेउछाउका जिल्लामा गरी दुई वर्षको अवधिमा बाघको आक्रमणबाट २४ जनाको ज्यान गएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।
बर्दियाका बासिन्दाहरू आफूले वर्षौँदेखि जङ्गली जनावरको प्रकोप खेप्दै आएको बताउँछन्।
चाडपर्वको बेला सबै जना रमाइरहेका बेला आफूहरू भने जागा बसेर हात्ती धपाउन बाध्य बनेको गेरुवा- ६ मनाउँका भविसर अधिकारी बताउँछन्।
रातको समयमा सधैँजसो जङ्गली हात्ती गाउँतर्फ आउने गरेको उनले बताए।
“धान, मकै सखाप पारेर जान्छ, कतै मानिसलाई पनि क्षति गर्छ कि भनेर जागा बस्छौँ। होहल्ला गरेर हात्ती धपाउँदै आएका छौँ।”
भदौमा बर्खे मकै तयार भएदेखि गहुँ पाक्ने बेलासम्म जङ्गली हात्तीले सताउने गरेको अधिकारीले बताए।
मानव र वन्यजन्तुबीच द्वन्द्व
मानव-वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन गरी वन्यजन्तु संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा सन् २००१ देखि तराई भूपरिधि कार्यक्रम सञ्चालित रहेको निकुञ्ज अधिकारीहरू बताउँछन्।
तर करिब ४५ वर्षअघि स्थापित चितवन राष्ट्रिय निकुञ्जको अवस्था पनि बाँके र बर्दियाको भन्दा फरक नरहेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काले बताए।
मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन सहज नभएको भन्दै उनले भने, “भविष्यमा जनावरबाट पनि फाइदा लिन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर यसको समाधान खोज्दै आएका छौँ।”
स्थापनाको एक दशकभन्दा बढी समयसम्म पनि बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानहरू धेरै सङ्ख्यामा पशुचौपाया पाल्ने, घाँसदाउरा काट्न जङ्गल जाने क्रम चलिरहेको देखिन्छ।
जङ्गलमाथिको निर्भरता हटाउन सकिए स्वाभाविक रूपमा मानव-वन्यजन्तु द्वन्द्व समाधान हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए।
उनले भने, “वन्यजन्तु संरक्षणको विषय जोडेर विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर कार्यक्रमले मात्र वन माथिको निर्भरता हटाउन सकेका छैनौँ। यो एउटा ठूलो चुनौतीको रूपमा देखिएको छ।”
निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि कृषि पेसा गरे पनि कसरी व्यवस्थित गराउने र अन्य पेसा तथा रोजगारीका लागि के गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकारसँग छलफल गरिरहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए।
बाँके राष्ट्रिय निकुञ्जमा अहिले पनि धेरै सङ्ख्यामा घरपालुवा जनावर छाडा रूपमा चरिचरन गरिरहेकाले अर्को समस्या देखिएको संरक्षणविद् रमेश थापाको भनाइ छ।
घरपालुवा जनावरकै कारण प्राकृतिक आहारा प्रजातिका जनावरको सिकार गर्ने बानी परिवर्तन हुनसक्ने भएकाले मानव-वन्यजन्तु द्वन्द्व झन् बढ्न सक्ने उनले बताए।
“घरपालुवा जनावर जङ्गली जनावरको वासस्थानमा गएपछि बाघले आफ्नो आहारा सम्झेर सजिलै सिकार गर्न सक्छ। यसले गर्दा बाघको सिकार गर्ने आनीबानी र स्वभावमा परिवर्तन भएर मानिसलाई पनि क्षति पुर्याउन सक्छ।”
वन्यजन्तुको आक्रमणका कारण निकुञ्ज मध्यवर्ती क्षेत्रका कतिपय बासिन्दाहरूले बस्ती स्थानान्तरणको माग समेत गर्दै आएका छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मात्र छ लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेकाले बस्ती स्थानान्तरण गर्न सक्ने सम्भावना नरहेको संरक्षणविद् थापाको भनाइ छ।
थापाले ठूला जनावरबाट सुरक्षित हुन मानिसले आफैँ सावधानी आपाउन बाहेक अन्य विकल्प नरहेको सुझाव दिए।
जङ्गली जनावरको वासस्थानमा मानिस र घरपालुवा जनावरको आवतजावत बढी भएकै कारण पछिल्लो समय वन्यजन्तुको स्वभावमा परिवर्तन भएर मानवबस्तीनजिक आउन थालेको संरक्षणविद्हरूको भनाइ छ।
तर वैकल्पिक पेसा नभएकाले पशुचौपाया पालेर जङ्गलमै आश्रित हुन बाध्य भएको निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरू बताउँछन्।