आज नेपाल संवत् ११४२ : नेवार समुदायको नयाँ वर्ष – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज नेपाल संवत् ११४२ : नेवार समुदायको नयाँ वर्ष

    मा प्रकाशित

कार्तिक १९, दाङ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताईन्छ । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो ।

वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद्हरु बताउँछन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवत्ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्