कार्तिक २०, काठमाडौँ ।
भाइटीकाको दिनमात्रै खुल्ने काठमाडौंको रानीपोखरी आजका लागि खुला गरिएको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागिरानीपोखरी खुला गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण कायमै रहेकाले व्यक्तिगत दुरी कायम, अनिवार्य मास्क लगायत स्वास्थ्य मापदण्ड अपनाउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई काठमाडौँ उपत्यकामा टीका लगाउँदै आउनुभएका अञ्जली मास्केले भने यसपाली पनि टीका नलगाउने हुनुभएको छ ।
कोरोनाको सङ्क्रमण फैलिने जोखिम कायमै रहेको भन्दै उहाँले यसपाली टीका नलगाउने निर्णय गरेको बताउनुभयो । उहाँले वि.सं २०५५ देखि वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि दिदीबहिनी नभएका दाजुभाइलाई सामुहिक रुपमा टीका लगाउने गर्नुभएको थियो ।