एमालेको १०औं महाधिवेशन आजबाट सुरु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एमालेको १०औं महाधिवेशन आजबाट सुरु

    मा प्रकाशित

चितवन, मंसिर १०।

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।

एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता÷कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन् ।

बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुँदै छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नरायणढगढतर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चापम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्दै छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्