नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

    मा प्रकाशित

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् ।

विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ । महाधिवेशन उद्घाटन हुनुअघि आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ । उद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ ।

नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ । महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । उज्यालोबाट

तस्बिर : रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्