काङ्ग्रेस महाधिवेशन : कस्ताे बने प्यानल संरचना ? – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : कस्ताे बने प्यानल संरचना ?

    मा प्रकाशित

दाङ,२६ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि शेरबहादुर देउवासहित ६ जनाको सभापति पदमा उम्मेदवारी दर्ता भएको छ । सर्वसहमतिमा नेतृत्व चयनको प्रयास सम्भव नभएपछि फरक फरक प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ ।

सभापति पदमा शेरबहादुर देउवा, डा। शेखर कोइराला, बिमलेन्द्र निधि, कल्याण गुरुङ, प्रकाशमान सिंह र युवराज न्यौपानेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । केही बेरअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्कालाई उपसभापतिमा उम्मेदवार बनाउनुभएको छ ।

त्यस्तै, महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको छ । सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, सभापतिमा डा। शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गर्नुभएको छ । कोइराला प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  प्यानलको उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहँदा सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विमलेन्द्र निधिले सभापतिमा उमेदवारी दर्ता गराउनुभएको छ । मनोनयनस्थल राष्ट्रियसभा गृह पुगेर उहाँले कांग्रेसको आउँदो केन्द्रीय समितिको सभापतिका लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसको सभापतिमा पहिलो उम्मेदवारी कल्याण गुरुङको परेको छ । गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । गुरुङ केन्द्रीय सदस्य हुनुहुन्छ ।

सभापति पदमा युवराज न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । खासै चर्चामा नआएका युवराज न्यौपाने गोरखाका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।

यसैबीच, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिनुभएको छैन । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गर्नुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिएपछि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।

पौडेल समूहबाट शेखर कोइरालाले उम्मेदवारी दिनुभएको छ । नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीको महाधिवेशनले व्यक्ति छनोट मात्र नभई नीति, योजना र एकताको सन्देश दिनु पर्नेमा जोड दिनुभयो । उम्मेदवारीको दावी विरोध पछि पर्सी मतदान हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्