चम्क्यो ‘गगन’, निस्कियो ‘प्रकाश’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चम्क्यो ‘गगन’, निस्कियो ‘प्रकाश’

    मा प्रकाशित

गजेन्द्र बाेहरा                                                                  पुस १ काठमाडौं    ।                                                              ‘म महामन्त्री हुन्छु, हुँदैन मलाई थाहा छैन। म १०-१५ वर्ष क्रियाशील भएर काम गर्छु। काम गरेर विश्राम लिंदै गर्दा मेरा २ जना छोरीहरू २०/२५ वर्षका हुनेछन्। तिनीहरूलाई लिएर देशभर कहिँकतै सडकमा घुम्दै गर्दा परैबाट कसैले मायाले भनिदिए पुग्छ- जय नेपाल।’

कांग्रेसी ‘गगन’हरूमा आफ्नो भविष्य खोज्न काठमाडौंमा जम्मा भएका आफ्ना सयौं मतदाताहरूलाई सम्बोधन गर्दै केहीदिन अघि भनेका थिए- यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन। त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ।

 

अनन्त उडान भरेको एउटा यात्रीले कहिलै आकाशको उचाईं नाप्दैन।

र, यी ‘गगन’ अब उसैगरि फैलिएका छन्, जहाँ नेपाली कांग्रेसका अनगिन्ति ‘तारामण्डल’हरू त्यही ‘गगन’मा उज्यालिन चाहन्छन्।

कांग्रेस उजिल्याउने गगनहरू

‘मैले आँखा चिम्ले भने म यो स‍ंसारभन्दा धेरै टाढाको यात्रामा निस्किएको हुनेछु। जहाँ म एउटा विशाल रूखको छहारीमुनि बसिरहेको हुनेछु। जहाँ हज्जारौ मानिसहरू जय नेपालको नारा लगाइरहेका हुनेछन्’ गगनमा सल्बलाएका यी कल्पना र ‘तरूण’सपनाहरू अब कांग्रेसभित्र सयर गर्दैछन्।

गगनलाई याद छैन, उनले कहिले कांग्रेसको पार्टी सदस्यता लिए। तर, जीवन फैलाउँदै गरेका गगनभित्र कांग्रेसका अणुहरू विकसित हुँदै थिए।

‘कांग्रेसको सदस्यता मैले कहिले लिएँ मलाई थाहा छैन। मेरा बुवा अनि हजुरबुवाहरूले सुनाएका राजनीतिक कथा कहानीहरूमा जोडिने विपी कोइरालाहरू, गणेशमान सिंहहरू, राजा र राणाका कथाहरू अनि कांग्रेस क्रान्तिका गाथाहरू सुन्दासुन्दै म कांग्रेस भइसकेको रहेछु’ गगन भन्छन्- ‘नेपाली कांग्रेससँगको मेरो नाता यही हो। राजनीतिसँग गाँसिएको मेरो साइनो नेपाली कांग्रेस नै हो।’

२०३३ सालमा काठमाडौंको रातो पुलमा गगन थापा १३ वर्षको उमेरमै २०४६ सालको आन्दोलन पछ्याइसकेका थिए। नौ कक्षामा पढ्ने बेला नै आन्दोलनको रापमा पञ्चायती सरकारले खन्याएको अश्रुग्याँस मिचेको त्यो ठिटो गगन २०६३-६३को आन्दोलनताका काठमाडौंका सडकमा प्रहरीसँग लछार-पछार गरिरहेको थियो।

त्यो बेला काठमाडौंको सडकमा प्रहरीलाई ढुङ्गा ताक्दै गरेको एउटा फोटो अहिले पनि भाइरल भइरहेको छ। उनका विरोधीहरूले त्यो फोटोलाई ‘उछृङ्ख गगन’का रूपमा प्रचार गर्छन्। उनलाई चाहनेहरू ‘गणतन्त्र माग्ने गगन’का रूपमा त्यो तस्विर यादमा राख्छन्।

आइएस्सी सक्दै गर्दा नेपाल विद्यार्थी संघको काठमाडौं वडा नं ३३को सचिव भइसकेका गगन २०५९ सालमा त्यही विद्यार्थी संगठनको ‘महामन्त्री’ भइसकेका थिए।

विद्यार्थी सर्कलमा त्यो बेला एउटा उखान थियो- पहिलो बेन्चको विद्यार्थी विदेश पढ्न जान्छ। अन्तिम बेन्चको विद्यार्थी राजनीतिमा लाग्छ।’

तर एउटा सत्य त के पनि हो भने देशको उत्कृष्ट दिमाग कक्षा कोठाको अन्तिम बेन्चमै हुन्छ।

घरपरिवार चाहन्थ्यो- विज्ञान पढ्न छोरो कतै विदेश जाओस्।              राजनीतिको ‘नसा’मा एडिक्ट भइसकेका गगनका लागि त्यो सपना ठूलो थिएन। बरू चल्दै गरेका आफ्ना पाइलाहरू राजनीतिमा झन् दरिलो बनाउन चाहन्थे।

पढ्दै गर्दा पनि दिनमा १५ सयभन्दा धेरै विद्यार्थीहरूलाई गगनले ट्यूशन पढाउँथे। एफएम रेडियोहरूमा कार्यक्रम चलाउँथे। समाचार पढ्थे। अनि आन्दोलनहरूमा हिँड्थे।

त्रिचन्द्र कलेजमा स्ववियु सभापति भएपछि शैक्षिक मुद्दामा लड्ने गगन विद्यार्थीका नेता भइसकेका थिए। विद्यार्थी संघको महामन्त्री हुँदै गर्दा देशको राजनीतिक माहोल अर्कै भइसकेको थियो।

राजा ज्ञानेन्द्रले शासन हातमा लिएका थिए र, राजनीतिक दलहरू राजा विरूद्ध आन्दोलनमा थिए। २०६२ चैतमा त्यो आन्दोलन चर्किंदै गर्दा सडकमा ‘गणतन्त्र’को नारा फुकेका गगन नारायणहिटी ढोका अघिका ‘डर’ थिए।

राजाको त्यो मुख्य ढोकाअघिल्तिर त्रिचन्द्र क्याम्पसको सडक ‘गगनहरू’का गणतन्त्रका नाराले तातिरहेको थियो। गगनहरू आफै तातिरहेका थिए।

सबै दलहरू मिलेर लडिरहेको त्यो लडाईंको हरेक अग्रमोर्चामा त्यसपछि ‘गगन’ पुकारिन थाले। त्यही गगन थियो, जहाँ गणतन्त्रको नारा गडगडायो। त्यही गगन थियो जसले राजाको विरोधमा सडकहरू ततायो।

२०६३को वैशाखमा ज्ञानेन्द्रले प्रजातन्त्रमात्रै फर्काएनन्, बरू ‘गणतन्त्र’ नै स्विकार गर्न बाध्य भए। २५० वर्षको शाहवंश देशको राज्यसत्ताबाट च्यूत भयो। राजतन्त्र ढल्यो, नेपालको राजनीतिक ‘गगन’मा पनि गणतन्त्र उदायो।

यही जनआन्दोलन थियो जसले हतियार बोकेर जंगल पसेको माओवादीलाई १० वर्षपछि शान्तिपूर्ण राजनीतिमा फर्कायो।

२०६४ सालमा पहिलोपटक संविधानसभाको चुनाव भयो। देशैभरि चलिरहेको ‘माओवादी लहर’ले कांग्रेसलाई नराम्रोसँग कुनामा हुत्याइदियो। त्यो बेला माओवादी पहिलो पार्टी भयो। कांग्रेस तेस्रोमा पुग्यो। तर, नेपाली कांग्रेसले गगनलाई समानुपातिक सांसद बनायो। गगन पहिलोपटक सांसद बनेर संविधानसभा भवन छिरे।

त्यहाँ उनी मौलिक अधिकार समितिमा रहेर काम गरे। आमाको नामबाट नागरिकता, गैरआवसीय नेपालीले नागरिकता पाउने विषय, १८ बर्षसम्म बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका थुप्रै मुद्दाहरू स्थापित गराए।

२०७० सालमा संविधानसभाको दोस्रो चुनाव भयो। काठमाडौं क्षेत्र नं ४बाट उनले चुनाव जिते। संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति भए।

पहिलो संविधानसभाले संविधान बनाउन सकेको थिएन। दोस्रो संविधानसभामा संविधानको खाका तयार हुँदै गर्दा अनेकथरि बाधाहरू आइलागे। सांसदहरूले नै संसदको कुर्सी तोडफोड गर्न थाले। तराई-मधेसमा आन्दोलनको अर्को आगो सल्कियो। भारतले सिधै संविधानमाथि हस्तक्षेप गर्न थाल्यो। भारत चाहेअनुसार नभएपछि उ नाकाबन्दीमै उत्रियो।

तर, संविधान बन्यो। पहिलोपटक जनताका प्रतिनिधिले संविधान लेखे। संविधानमा गणतन्त्र लेखे। संघीयताका रेखा कोरे।

२०७४ सालमा भएको आम निर्वाचनमा पनि गगन थापाले यही निर्वाचन क्षेत्रमा चुनाव जिते। देशभरि एमाले र माओवादी मिलेर ‘वाम गठबन्धन’ थियो। यही गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई पराजित गर्दै गगनले फेरि संसदको अर्को यात्रा तय गरे।

नेपाली कांग्रेसमा यही महामन्त्री पद हो जहाँ कुनै बेला गगनका ‘आदर्श’ नेताहरू थिए।

र, विपीका कथाहरू सुन्दै बालापनमै पञ्चायती शासनको अश्रुग्याँस पुछेर हुर्केका गगन आज त्यही ‘महामन्त्री’ पदमा आफूलाई उभ्याए।

‘त्यही महामन्त्री पदका

लागि आफूलाई उभ्याउँदै गर्दा मैले आज गौरव महसुस गरिरहेको छु। कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र होइन, पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो’ आफ्ना अवधारणाहरू सुनाउँदै उनले भने, ‘महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो।’

र, गगनले भनेका थिए- आज मैले उनै गणेशमान सिंह अनि गिरिजाप्रसाद कोइरालाहरूको जुत्ता लगाउँदैछु।

आज कांग्रेसभित्र मात्रै गगन चाहनेहरू छैनन्। थुप्रै पार्टीमा गगनका फ्यानहरू छन्। हरेक निर्वाचनका बेला जीवनमा पहिलोपल्ट भोट हाल्दै गर्दा गगन रोज्ने नयाँ नयाँ मतदाताहरू पनि छन्।

देशभरि कांग्रेसले चार लाखभन्दा धेरै नयाँ सदस्यहरू थपेको छ। त्यहींबाट कलिलो पुस्ता पनि पार्टीको नेतृत्व छान्ने हैसियतमा आइपुगेका छन्।

कांग्रेसका प्रकाशहरू

नेपाली कांग्रेस १४ औं महाधिवेशन सुरू हुँदै गर्दा सुन्दरीजलमा आफ्नो उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले केही दिनपछि चितवन पुगेर कांग्रेस बनाउने आफ्ना १४ बुँदाहरूको लामो ब्याख्यान सार्वजनिक गरे।

पार्टीको नेतृत्व लिन उम्मेदवारी घोषणाको होडबाजी चलिरहेका बेला एउटा चासो थियो- विश्वप्रकाश कुन टिममा पर्लान्?

कांग्रेसको पार्टी प्रवक्ता भएर देउवाका ‘रक्षाकवच’ भएका शर्मा अन्तिममा समयमा आएर देउवाको समूहमा परेनन्। बरू देउवाले आफ्नै ‘गुट’ बनाउनका लागिपरेका कृष्णप्रसाद सिटौलालाई समेटे र सिटौलाका पात्र प्रदीप पौडेललाई त्यो पदमा उभ्याए। अनि समूह खोज्दै विश्वप्रकाश प्रकाशमान सिंहसम्म पुगे। पहिलो चरणको मतदानमा सभापति पदमा तेस्रो स्थानमा आएका प्रकाशमानले दोस्रोचरणमा देउवालाई नै सहयोग गरे।

विश्वप्रकाशले भने- प्रकाशमान जहाँ म पनि त्यहीँ।

नेपाल विद्यार्थी संघबाट राजनीतिमा बामे सर्दै पार्टीमा गाँसिएका विश्वप्रकाश शर्मा, गगन थापा अनि प्रदीप पौडेलहरू अहिले सँगसँगै महामन्त्रीका लागि लडे।

झापाको धुलाबारीबाट राजनीति सुरू गरेका विश्वप्रकाश शर्मा त्यहीँको क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरेका थिए। २०४३ सालमा मेची क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष बनेका उनी त्यसपछि नेविसंघकै जिल्ला नेतृत्वसम्म पुगे।

त्यही क्याम्पसमा भएको स्ववियु सभापतिमा लडेका उनले चुनाव हारे। अखिलले चुनाव जित्यो। तर, चुनाव हारेर पनि एउटा औपचारिक कार्यक्रम गरेर उनले स्ववियु सभापति जितेकाहरूलाई बधाई र शुभकामना दिए। एकअर्काको अस्तित्वसमेत स्विकार नगर्ने र सधैं ‘लफडा’ गरिरहने यी दुई विद्यार्थी संगठनको त्यो सौहार्दतालाई धेरैले विश्वको राजनीतिक ‘स्टन्ट’ भने। तर जे होस् त्यहीँबाट विश्वले चर्चा भने कमाए।

२०६७ सालमा कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिए तर नेता कृष्णप्रसाद सिटौलाको समूहले उनलाई जित्न दिएनन्। शर्माले केन्द्रीय सदस्यका लागि दिएको उम्मेदवारीसमेत फिर्ता लिए।

२०७२ सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। देउवा सभापति भए। २०७० र २०७४ सालको दुबै संसदीय चुनावमा पराजित भएका विश्वप्रकाश १४औं महाधिवेशनअघि कोइराला समूहमै थिए। तर एकपटक कांग्रेस सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संघका पुराना अध्यक्षहरूलाई पार्टीमा मनोनित गर्दा विश्वलाई छुटाए अनि उनले समूह नै परिवर्तन गरे। १४औं महाधिवेशनपछि देउवाले उनलाई पार्टीको प्रवक्तामा नियुक्त गरे।

एक समय रेडियो नेपालमा ‘घटना र बिचार’मा समाचार पढ्ने विश्वप्रकाश राजनीतिज्ञमात्रै होइनन्। उनी एक साहित्यकार पनि हुन्। सामाजिक अभियान्ता पनि हुन्।

उनी नाटक पनि लेख्छन्। कविताहरू पनि कोर्छन्। गीतहरू पनि लेख्छन्। उनले लेखेका गीतहरूमा अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्कीहरूले स्वर भरेका छन्।

लकडाउन अघि उनले एउटा टेलिभिजन कार्यक्रम पनि बनाए- एना। विभिन्न सामाजिक मुद्दाहरूलाई उठाउने त्यो कार्यक्रम धेरै चर्चित भएको थियो।

सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाइरहेका ५१ वर्षे विश्व अहिले नेपाली कांग्रेसमा नयाँ पुस्ताका लागि आशाका ‘प्रकाश’ बनेका छन्।

‘नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट हामी को, कुन जिम्मेवारीमा आउँछौं। त्यो दोस्रो प्रश्न हो। पहिलो प्रश्न देश निर्माणको नवीन सपना र नवीन संकल्पको हो। नीति, कार्यक्रम, दूरदर्शिता र दृष्टिकोणको हो’ सुन्दरीजलमा विरूवा रोपेर आफ्नो उम्मेदवारी घोषणा गरेका शर्माले भनेका थिए।

चुनावमा होमिदैं गर्दा विश्वप्रकाशले भृकुटीमण्डपमा भने- ‘कांग्रेस भनेकै यस्तै नयाँ पालुवाहरू फुलाउने फुलबारी हो। कांग्रेसलाई अझ तरूण कांग्रेस बनाउन आएका यी नयाँ पालुवाहरूले फुल्न त पाउनैपर्छ।’ उनको एउटा भर भनेकै कांग्रेसमा भर्भराएका यिनै नयाँ ’पालुवा’हरू हुन्।

७० वर्षको उकालो चढ्दै गरेको नेपाली कांग्रेसभित्र आज लाखौं पालुवा पलाइसकेका छन्। कैयौ यो यात्रामा छुटिसकेका छन्, धेरै नयाँहरू समेटिएका छन्।

र, एउटा बुढो रूखमा ओत लाग्न आएका लाखौं नयाँ ‘तारा’हरू ‘गगन’सँगै झुल्किएका ‘प्रकाश’मा उज्यालिनेछन्, नवीन कांग्रेसको नवीन सपना बनेर।आयाेमेलबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्