आखाँले देखे जस्तो छैन देश : अध्यक्ष लिंग्देन – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

आखाँले देखे जस्तो छैन देश : अध्यक्ष लिंग्देन

    मा प्रकाशित

खेमराज रिजाल
तुलसीपुर, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले देश आँखाले देखेकोजस्तो नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीले तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन ।

‘देशमा अहिले गोलाबारुद पड्किएको छैन, द्विदेशीय नाकाबन्दी छैन, अभिव्यक्ति स्वतन्त्रता रहेकै छ, तर देश समग्रमा नाङ्गो आँखाले देखेको जस्तो शान्त छैन, मुलुक अहिले कुशासन, भ्रष्टाचारले थिलोथिलो परेको छ, भित्रभित्रै यहाँ सबैथोक बर्बाद भइसकेको छ’, सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिंग्देनले भने । कांग्रेस र कम्युनिष्टहरुले यो मुलुकलाई ३२ बर्षसम्म कहिले लोकतन्त्र, कहिले प्रजातन्त्र त कहिले गणतन्त्रका नाममा नाङ्गै बनाइसकेको आरोप लगाए । हेर्दा सामान्य देखिए पनि भित्रभित्रै मुलुक बर्बाद भइसकेको उनको अभिव्यक्ति थियो ।

कांग्रेस र कम्युनिष्टहरुकै सिण्डिकेटमा मुलुकमा लाउडा एयरदेखि बालुवाटार जग्गा काण्डहरु समेत भएको उल्लेख गर्दै उनले जनतालाई गाईबस्तुजस्तो बाँधेर अब यी पार्टीहरुले राख्न नसक्ने पनि उनले बताए । ‘कांग्रेस र कम्युनिष्टको दाम्लो चुडाएर आउनुस्, अब हिन्दु राज्य र राजसंस्थासहितको प्रजातन्त्र ल्याउनका लागि’, अध्यक्ष लिंग्देनले भने– ‘अहिले त धेरै राजाहरुको खर्च भर्न मुलुकलाई कठिन भइसकेको छ । एउटा राष्ट्रपति बराबरको खर्च पनि राजा पाल्नका लागि नचाहिने भन्दै अहिलेको तन्त्रलाई लुटतन्त्रको रुपमा उनले अथ्र्याए । देशले जनताको समर्पण खोजिरहेको भन्दै उनले अब हस्पक्षेपकारी भूमिकामा आउन पनि आमसभामार्फत आम नागरिकलाई आह्वान गरे ।

तुलसीपुरको ऐतिहासिक एवं धार्मिक महत्वलाई उल्लेख गर्दै उनले यहाँ सम्पन्न भएको विश्व विद्वत सम्मेलनकै कारण यहाँ संस्कृत विश्वविद्यालय स्थापना हुन पुगेको स्मरण गर्दै वैदिक सनातन हिन्दु धर्मको संरक्षण नितान्त आवश्यक रहेको बताए । लोकतन्त्रमा बहुमतको आस्थालाई मार्न नपाइने बताउँदै कम्तीमा ९० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको मुलुकलाई हिन्दु राज्य घोषणा गर्न किन कसलाई आपत्ति भएको भन्ने पनि प्रश्न गरे । आफूले व्यक्तिगतरुपमा किरात धर्म मान्ने भए पनि बहुसंख्यक हिन्दु भएको तथा सनातन धर्म पनि हिन्दु नै रहेकाले अब हिन्दु राज्य स्थापनाको अभियानमा तुलसीपुरबासीले विशेष सहयोग गर्ने पनि उनको अपेक्षा थियो ।

कार्यक्रममा राप्रपाका नवनिर्वाचित उपाध्यक्ष ध्रुवबहादुर प्रधानले संघीयता र गणतन्त्रका नाममा यहाँको धार्मिक आस्था र संस्कृति भत्किएको बताउँदै अब त्यसलाई जोगाउनका लागि राप्रपाको आन्दोलनमा जोडिन पनि सहभागीहरुलाइ आग्रह गरे । विश्वमा एउटा मात्र हिन्दु राष्ट्र नेपाल रहेको स्पष्ट पार्दै लोकतन्त्रका नाममा यो पनि लुटिएको उनको अभिव्यक्ति थियो । उपाध्यक्ष प्रधानले शान्तिपूर्ण आन्दोलनबाट राप्रपाले आफ्ना एजेण्डाहरुलाई अनुमोदन गराउने पनि जिकिर गरे ।

राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित महामन्त्री डा. धवल शमशेर जवराले यसअघिको नेतृत्वले सही नेतृत्व दिन नसकेकोले नयाँ नेतृत्व आएको उल्लेख गर्दै वर्तमान नेतृत्वले राप्रपाका एजेण्डालाई जनताबाट अनुमोदन गराउने बताए । कहिँकतै पनि नबिक्नेहरु राजनीतिमा आउने प्रबृत्तिको अन्त गर्न आग्रह गर्दै उनले अब शिक्षित वर्ग राजनीतिमा आउनुपर्ने बताए । काम गर्न नसक्ने व्यक्ति अब नेतृत्वमा आउन नसक्ने बताउँदै जनताको सार्वभौम हकअधिकार सुनिश्चित गर्न र मुलुकलाई भ्रष्टाचाररहित बनाउन राप्रपाको विकल्प नभएको पनि उल्लेख गरे ।

अर्का महामन्त्री भुवन पाठकले सिंहदरबारको अधिकार संघीयताका नाममा गाउँ–गाउँ पु¥याउने भनिए पनि त्यो अनुभूति जनतालाई हुन नसकेको बताए । ‘पहिले सिंहदरबारमा मात्रै सिंह हुन्थे, संघीयतापछि सयौं सिंहहरु स्थानीय तहसम्म पनि लुट्न पुगिसकेका छन्’, महामन्त्री पाठकले भने । अहिले मुलुकमा समाजवाद स्खलित भएको, माओवाद समाप्त भैसकेको बताउँदै न्यायालय पनि भागवण्डाका कारण न्यायाशीशले नै न्याय माग्नुपर्ने अवस्था आएको पनि पाठकले बताए ।

राप्रपा केन्द्रीय सदस्य तथा स्थानीय नेता दामोदर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, राप्रपा नेता प्रेमबहादुर भण्डारी, केन्द्रीय सदस्य मिना स्वर्णकारलगायतले अभिनन्दन मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष लिंग्देनलाई राप्रपा जिल्ला अध्यक्ष बस्नेतले अभिनन्दन–पत्रले सम्मान गरेका थिए भने अध्यक्ष लिंग्देनले अन्य नवनिर्वाचित पदाधिकारीहरुलाई अभिनन्दन गरेका थिए ।

कार्यक्रमको सहजीकरण राप्रपा युवा नेता त्रिभुवन थापाले गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढीले अन्य राजनीतिक दल परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा विभिन्न थारु संस्कृतिका गीत–नृत्यहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा राप्रपाका पुराना नेता तिलकबहादुर बस्नेतको जीवन चित्रण पुस्तकको विमोचन गरिएको थियो ।

‘आन्दोलनबाटै हिन्दु राज्य र राजसंस्था’

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले शान्तिपूर्ण सडक आन्दोलन वा निर्वाचनबाट राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । रिपोर्टस् क्लव दाङले तुलसीपुरमा बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने दावी गरे ।

‘जनमत संग्रहको निर्वाचनबाट पनि हिन्दु राज्य र राजसंस्थाका विषयमा निर्णय गर्न सकिन्छ, अर्थात हामीले जनतामाझ पुगेर जनआन्दोलनका माध्यमबाटै पनि यो काम पूरा गर्ने विश्वास दिलाउन चाहन्छु’, पत्रकार सम्मेलनमा अध्यक्ष लिंग्देनले भने । लोकतन्त्रमा बहुमतको सम्मान हुनुपर्ने बताउँदै नेपालमा ९९ प्रतिशत जनता हिन्दु राज्य स्थापनाका लागि आतुर रहेको पनि दावी गरे ।

त्यसैगरी कांग्रेस महाधिवेशनमा आफूले नेताहरुलाई गाउँ पुग्यो भने चोर आयो भन्ने गरेका छन् भन्ने अभिव्यक्ति दिँदा उनको अभिव्यक्तिका विरुद्ध आएका प्रतिक्रियाका विषयमा भने उनले थप बोल्न आवश्यक नभएको बताए । ‘त्यसमा मैले थप प्रतिवाद गर्न जरुरी ठान्दिन, त्यो त जनताले बोलिसकेका छन्, यथार्थ यही हो’, अध्यक्ष लिंग्देनले भने । कुशासन र भ्रष्टाचारमा लिप्त हुने प्रबृत्तिका कारण राजनेताहरुप्रति जनविश्वास निकै खस्केको पनि उनको अभिव्यक्ति थियो ।

त्यसैगरी अहिले सर्वाधिक चर्चामा रहेको एमसीसीका विषयमा पनि राप्रपाले चाँडै आफ्नो आधिकारिक धारणा बनाउने बताए । ‘एमसीसी पहिले संसदमा टेवुल होस्, यसका विषयमा व्यापक छलफल होस्, त्यसपछि मात्रै आवश्यकताअनुसार धारणा बनाउन सकिन्छ’, उनले पत्रकार सम्मेलनमा भने । मुलुकमा धेरै महत्वाकांक्षी विकास निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्बको परियोजनामा यतिधेरै टिका–टिप्पणी पनि आवश्यक नभएको उनको धारणा थियो । ‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आँच आउनु हुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भने । पत्रकार सम्मेलनको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्