कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँचजना निर्वाचित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँचजना निर्वाचित

    मा प्रकाशित

दाङ, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँच निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुल्लासहित विभिन्न आरक्षण कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेकामध्ये पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

१४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा पूर्वमन्त्रीसमेत रहेका दीपक गिरी, कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी, शिला शर्मा खड्का र गेहेन्द्र गिरी रहेका छन् । गिरी र घिमिरेले खुल्ला सदस्यबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी चौधरीले थारु कोटा र खड्का प्रदेश नं. ५ बाट महिला सदस्य आरक्षणतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यसैगरी गिरी खसआर्यतर्फ केन्द्रीय सदस्यहरुमा निर्वाचित भएका हुन् । नेताहरु दीपक गिरी, योगेन्द्र चौधरी, शिला शर्मा खड्का र कृष्णकिशोर घिमिरे यसअघि पनि केन्द्रीय सदस्य थिए । यसअघि घिमिरे कांग्रेसको आमन्त्रिक केन्द्रीय सदस्यका रुपमा रहेका थिए । गेहेन्द्र गिरी पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।

केन्द्रीय सदस्यमा उम्मेदवार बनेका नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी पार्वती डिसी चौधरी, राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकाटा, प्रतिनिधिसभा सदस्य बिमला नेपाली, बमबहादुर डिसीलगायतका उम्मेदवारहरु पराजित भएका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते

यसैबीच नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् ।

मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४औं महाधिवेशनमा १ सय ३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फ १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाई बढी पदमा जित हासिल गरेको छ ।

कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनीत गरिनेछ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्