विद्यालय तहमा नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली: विद्यार्थीलाई थप मेहनती बनाउनेमा शिक्षक विश्वस्त – Kanika Khabar
Friday, April 19Nepali News Portal

विद्यालय तहमा नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली: विद्यार्थीलाई थप मेहनती बनाउनेमा शिक्षक विश्वस्त

    मा प्रकाशित

मिलन दाहाल

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (कक्षा १ देखि १२) सम्म लागू हुने गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको छ ।

निर्देशिका यसै शैक्षिक सत्रबाट लागू भए पनि सबै कक्षाहरुमा भने लागू नहुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माका अनुसार यो निर्देशिका यस शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुमा मात्र लागू हुनेछ ।

अन्य कक्षामा नयाँ पाठ्यक्रम लागू भएपछि मात्र यो निर्देशिका लागू हुने उनले बताए । एसईई परीक्षाको सन्दर्भमा भने राष्ट्रिय परीक्षा बोर्डले नै निर्णय गर्ने उनले बताए ।

एसईईमा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेकाले बोर्डले यस्तो खाले निर्देशिका लागू गर्ने विषयमा निर्णय गर्न सक्ने उनले बताए ।

‘शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तरलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ शिक्षा मन्त्रालयले यो निर्देशिका जारी गरेको हो,’ उनले भने ।

निर्देशिका अनुसार विद्यार्थीहरुले एउटा कक्षा पास गरेर अर्काे कक्षामा अध्ययन गर्न प्रत्येक विषयको सैदान्तिक परीक्षामा कम्तिमा पनि ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । उक्त अंक प्राप्त नगरेका विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।

नयाँ ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई थप मेहनती बनाउने र शैक्षिक गुणस्तरमा वृद्धि हुने शिक्षकहरूले विश्वास लिएका छन् ।

काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले लेटर ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि हुने धारणा राखे ।

यसअघिको ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई अल्छि बनाएको बताउँदै उनले अब विद्यार्थीहरुले पास हुनको लागि पनि मेहनत गर्ने बताए ।

सैदान्तिक विषयमा मात्रै ३५ अंक ल्याउनुपर्ने बाध्यता भएपछि विद्यार्थी, शिक्षक र अभिभावकमा पनि जिम्मेवारी थपिएको उनको भनाइ छ ।

‘यो निर्देशिका लागू भएपछि विद्यार्थीहरुमा पढाईको केही दबाव पर्ने भए पनि यसले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा राम्रो भूमिका खेल्छ,’ उनले खबरहबसँग भने ।

त्यस्तै नक्सालस्थित नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले पनि नयाँ ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने बताइन् ।

प्रधानाध्यापक काफ्लेले भनिन्, निर्देशिकाले शिक्षकलाई जिम्मेवार र विद्यार्थीलाई मेहनत गर्न बाध्य बनाएकाले शैक्षिक गुणस्तर वृद्धि हुनेमा म विश्वस्त छु ।’

उनका अनुसार ग्रेडिङ निर्देशिका लागु भएको एक/दुई वर्ष विद्यार्थी र शिक्षकहरुलाई स्वभाविक रुपमा प्रेसर पर्ने देखिए पनि दीर्घकालीन रुपमा सकारात्मक नतिजा दिनेछ ।

भविष्यमा राम्रो जनशक्ति उत्पादन गर्न पनि अहिले शैक्षिक प्रणालीलाई कसिलो बनाउन जरुरी रहेको उनले बताइन् । यो निर्देशिकाले विद्यार्थीलाई मात्र नभएर शिक्षकहरुलाई समेत मेहनती बनाउने उनले धारणा राखिन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले कक्षा कोठामा राम्रोसँग पढाउन सकियो भने मात्रै विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिने बताए ।

 

विद्यार्थीहरुलाई जे गरे पनि पास हुन्छु भन्ने मनोविज्ञान विकास गर्न दिनुहुन्न भन्ने कुरामा यो निर्देशिकाले केही सकारात्मक भूमिका खेलेको उनले बताए ।

मन्त्री फेरिएसँगै नीति निर्देशिका परिवर्तन गर्दा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई मनोवैज्ञानिक रुपमा असर पुग्ने उनको भनाइ छ ।

भण्डारीका अनुसार यस्ता निर्देशिका ल्याउने र प्रणाली परिवर्तन गर्ने विषयमा विद्यार्थीहरुलाई पहिला नै जानकारी गराएर ल्याउनुपर्छ । जसले विद्यार्थीहरुलाई मानसिक रुपमा तयार पार्छ ।

निर्देशिका अनुसार कक्षा आठ, दश र बाह्र का विद्यार्थीले सबै विषयमा निर्देशिकाले तोके बमोजिम न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउने छ ।

मूल प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीहरुले सैदान्तिक विषयतर्फ कम्तिमा पनि ३५ र प्रयोगात्मक तर्फ कम्तिमा पनि ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्य कक्षाका विद्यार्थीहरुलाई विद्यालयले नै यो निर्देशिका प्रतिकूल नहुने गरी ग्रेड सिट उपलब्ध गराउन सक्छन् ।

निर्देशिका सकारात्मक छ: शिक्षाविद् कोइराला

शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले सरकारले जारी गरेको लेटर ग्रेडिङ निर्देशिका सकारात्मक रहेको बताए ।

यो निर्देशिकाले शिक्षकहरुलाई राम्रोसँग अध्यापन नगराए विद्यार्थीहरु फेल हुन्छन् भन्ने पहिलो सन्देश दिएको उनले बताए । त्यस्तै राम्रोसँग नपढे फेल भएर कक्षा दोह¥याउनुपर्छ भन्ने सन्देश विद्यार्थीहरुलाई पनि दिएको उनको भनाइ छ । नपढे पनि पास भइन्छ भन्ने विद्यार्थीहरुको मानसिकतालाई निर्देशिकाले पूर्णविराम लगाइदिएको उनले बताए ।

उनका अनुसार सैद्धान्तिक र प्रयोगात्मक विषयमा आएको अंकलाई जोडेर पास गराउने प्रणालीमा विद्यार्थीले सैदान्तिक विषयमा थोरै अंक प्राप्त गरे पनि पास हुने व्यवस्था थियो । तर, अब सैदान्तिक विषय र प्रयोगात्मक विषयमा छुट्टाछुट्टै नम्बर ल्याउनुपर्ने भएपछि विद्यार्थीहरुलाई मेहनत गर्न निर्देशिकाले बाध्य पारेको उनले बताए । यो निर्देशिकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई राम्रोसँग पढाउन बाध्य पारेको उनले बताए ।खबरहवबाट

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्