डायरीका पानाबाट : डिग्री होइन, संस्कार सिकाऔं – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

डायरीका पानाबाट : डिग्री होइन, संस्कार सिकाऔं

    मा प्रकाशित

विनोद पोख्रेल
२०७७ भदौ १८ गते
लेख्दा लेख्दै कहिलेकाहीँ केही विशेष विषयवस्तुसँग प्रशंग जुड्यो भने त्यसको विश्लेषण गर्न सजिलोजस्तो लाग्छ । त्यस्तो भयो भने अली बढी सन्तुष्टिको अनुभूति पनि हुन्छ । आजभोलि अस्वस्थ मानसिकतामा यसको बढी प्रभाव पर्छ । हिजो लेखमा मैले खाद्यान्न मात्रै होइन भान्सामा आत्मनिर्भर बन्ने क्षमता कुरा उठाएँ ।

भान्सामा आत्मनिर्भर भयो भने मानिस लामो अवधिसम्म सस्टेन गर्न सक्छ । भान्सामा आत्मनिर्भर हुनुको मतलब भोकबाट सुरक्षा मात्रै होइन, बरु धेरै रोगबाट धेरै शोकबाट समेत सुरक्षा हो । फेरि मेरो उमेरका सबैले भोगेको कुरा हो, हामीले अझ ठूला कुरा वा कामहरु केही गर्न नसके पनि हामीलाई गास, बास, कपासको समस्याको अनुभव भएको थिएन । यसकोयसको मूलकारण नै यही विषय हो । हामी आफैले गरे वा गराएर भान्सामा आत्मनिर्भर थियौ तर अहिले सामाजिक व्यवस्था पूर्णरुपमा परिवर्तित भएको छ । जीवन शैली पनि धेरै परिवर्तित भएको छ । कमजोरी हामीमा नभएको त होइन ।

पहिलेबाटै आफ्नो सम्पत्तिको प्रयोग आफै गर्ने बानी परेको भए अझै केही वर्षसम् यस्तो परिवर्तनलाई रोक्न सकिन्थ्यो होला । तर आफूले प्रयोग नगरेर अर्कालाई प्रयोग गर्न लगाउने बानीले हामीले अहिले पनि केही गर्न सकिरहेका छैनौं । हाम्रो पिढी नगरेरै सकिँदैछ । त्यसपछिको पिढी पनि आफ्नो भएको सम्पत्ति स्याहार्ने सोचमा भए जस्तो लाग्दैन । बरु यसको विकल्पको खोजी भइरहेको जस्तो लाग्छ । भएको सम्पत्ति पढाई आदिमा लगानी गर्ने बचेको सम्पत्ति सकेसम्म शहरीकरण गर्ने अर्को भाषामा सम्पत्ति घटाउँदै जाने अनि जागिर, विदेश जाने अथवा सानोतिनो व्यापार गर्ने प्रवृत्तिमा नयाँ पिढी गएकोजस्तो छ ।

भएकाहरुको यही प्रवृत्तिको नक्कल गर्नाले नभएका वा थोरै भएकाहरुले समेत त्यही काम यहाँ गर्न लाज मान्ने, विदेशमा त्यही वा त्योभन्दा पनि तल्लोस्तरको काम गर्न मन गर्ने सोचले धेरै कुरा बिगारेको छ । यस्तो सोचलाई परिवर्तित गर्नु अहिलेको ठूलो काम हो जस्तो लागेको छ । यसको लागि सरकारी नीति–नियमहरुमा आवश्यक परिवर्तन, संशोधन अथवा नयाँ नीति निर्माण गराउन त पर्छ नै । यत्तिले मात्रै पुग्लाजस्तो मलाई लाग्दैन । यसका लागि आफ्नाप्रति मोह र जिम्मेवारी जगाउनका लागि एएटा विशेष अभियान नै चलाउन आवश्यक छ ।

अहिले पनि केही तरकारी खेती, गाईभैँसी पाल्ने, खसी–बोका पाल्ने, माछा पाल्ने, विशेष गरेर फलफूल पाल्ने प्रवृत्ति अली बढेकोजस्तो लागेको छ । यसलाई मैले सकारात्मकरुपमा लिएको छु । भएको सम्पत्ति नबेचेर आफ्नो इच्छा र क्षमताअनुसार त्यसको आफैले सदुपयोग गर्ने सोच राम्रो हो । यही सोचलाई आफ्नाप्रतिको जिम्मेवारीसँगै राष्ट्रप्रतिको जिम्मेवारीसँग जोड्न सक्ने हो भने धेरै कुराहरु सुधार हुँदै जान्छन् भन्ने मेरो विश्वास छ । आफूले नगर्ने, खानेसमेतमा अरुको भर पर्ने अनि दिएन अथवा राम्रो दिएन भनेर रुने प्रवृत्तिको अन्त्य जबसम्म गर्न सकिँदैन तबसम्म देशको विकास सम्भव छैन ।

जबसम्म नयाँ पिढीलाई देश र समाजप्रति जिम्मेवार बनाउन सकिँदैन अझ उल्टै विदेशको लोभ देखाएर अन्यत्रै पठाउने प्रयास गरिन्छ तबसम्म यो पिढी जिम्मेवार बन्न सक्दैन नै, यसको दोष त्यो विदेशको लोभ जगाउने पिढीले पनि लिनुपर्छ । यहाँ किितका जीवन मैले पनि देखेको छ । लोग्ने विदेशमा छ र ऊ मजदुर हो, श्रीमती शहर–बजारको नजिकमा बस्छे, आफूले पढ्ने अनि छन् भने छोराछोरी पढाउने निहुँ बनाएर घरमा बुढा भएका बाबुआमा छन्, छोराले कमाएर आउँला र सबै सँगै बसौँला भनेर पर्खी बसेका । त्यहाँ सन्तानको माया, परिवारको माया, जिम्मेवारी, आत्मीयता सबैको समिश्रण छ तर यथार्थ अलग छ ।

२०७७ भदौ १९ गते       

हुन त यो काम भएको तीन दिन भैसक्यो तर लेखाईमा प्रभाव पार्ने गरी मनमा आएको थिएन । आज झ्यालबाट त्यता फर्केर हेर्दा राम्रो देखेँ । केही कुरा मनमा आए । यिनीहरुले कसरी गरेर खालान् भनेर माथिल्लो पिढीले तल्लो पिढीलाई भन्ने गरेको सम्झेँ । समयले उत्तरदायित्वबोध गराएर काम हुने गरेको कुराको अनुभूति गरेँ । सडक र बारीबीचको बनमाराको डरलाग्दो झाडी त्यसको बीचमा उम्रिएका सानाठूला अरु धेरै प्रकारका विरुवा केही त रुख हुन थालिसकेछ । यता बारीमा छायाँ र तप्कनी उता सडक सानोजस्तो लाग्ने ।

फेरि अरु सबैले आफ्नो घर अगाडि सफा गरिसकेका आफ्नो मात्रै बाँकी रहेकोले पनि आफैलाई अलि अप्ठ्यारो लाग्ने भएको थियो । एकदिन छोराबुहारी गएर प्रयास गरे । आफ्नो क्षमताले नभ्याउने निष्कर्ष निकाले अनि त्यसको निदान पनि खोजे । मसिनको कारण सबै जरैदेखि सफा गराए । त्यसले देख्दा राम्रो त भयो नै धेरै तनाव पनि सकियो । झाडीले दाबेको जमिनसमेतमा खेती गर्न सकिने भयो । त्यति घटनाले पनि मानिसलाई समयले, परिवेशले, बाध्यताले पनि धेरै कुरा सिकाउँछ र मानिस अनुभवी हुँदै जान्छ भन्ने कुराको पुष्टि भएको लागेको छ । कसेकम मैले मेरो पछिको पिढीलाई यिनले कसरी गरेर खालान् भनेको छैन ।

जसरी पनि खान्छन् भन्नेमा छु । कहिलेकाहीँ कुनैले होस नपु¥याएर काम गर्दा त्यो भावना आउँछ । तर पनि व्यक्तरुपमा केही भनेको छैन । बरु कहिलेकाहीँ मैले सिकाउँदा वा अह्राउँदा नकारात्मकरुपमा लिन सक्छन् जस्तो लाग्छ । आफै परे भने घाट पस्ने, तिघ्रा कमाउने गर्नु हुन्न भन्ने जान्छन् जस्तो लाग्छ । त्यो झाडी सफाईले सफा र राम्रो काम मात्र भएको छैन बरु उत्तरदायित्वबोध र शिक्षासमेत भएको छजस्तो लागेको छ । संयोगले तिनको पछिको पिढी पनि सँगै भएको बेला भएकोले यसको प्रभाव अरु बढी सकारात्मक र त्यो पिढीसम्म पुग्छ भन्ने विश्वास पनि जागेको छ ।

हामी पढाई भन्नाले किताबकेन्द्रित, पेशालक्षित र ज्यान पालामात्र हुन खोज्यो । व्यवहारमा शिक्षाको महत्व नै नहुनेजस्तो शिक्षा भनेको घोक्ने र घोकाउने नै होजस्तोमा सीमित हुन खोज्यौँ । केही नगर, पढ भनेर आफ्नो सन्तानलाई हामीमध्ये धेरैले भन्यौं । अनि पछि यिनले केही गरेनन् भनेर रोएको पनि देख्यौं । अलि ठूलो उमेर हुँदासम्म खाना बनाउन, लुगा धुन आफ्ना छोराछोरीले जान्दैननन् भन्नुमा गर्व सम्भ्झ्यौं पछि त्यही कुरा सर्मको विषय भएको बुझ्यौं । तर प्रकृति, समाज, परिवेशले सबैलाई एकै तरिकाले आफूहरुसँग अनुकूल हुन सिकाउँछन् । यिनीसँग अनुकूल हुन नसक्नेहरुले जीवन धान्न सक्दैनन् ।

हामीले बढी माया ग¥यौ वा अली ठूलो मानिस बनाउने गलत सपना देख्यौ वा उनीहरुसँग डरायौं वा पुगिसरि आएको अहम्को शिकार भयौं, उनीहरुमाथि कुनै दबाव दिन चाहेनौ वा सकेनौँ । यसको कस्तो प्रभाव देखिएला भन्ने पनि सोचेनौँ । सन्तान यति पढेको विद्वान भन्ने भयो भने पुग्छ भन्ने मात्रै सोच्यौं । सन्तानबाट हाम्रा जे–जस्ता आवश्यकता पूरा हुनुपर्ने हो अथवा हाम्रा भावनाको कदर हुनुपर्ने हो त्यसको आकांक्षा त रहिरह्यो तर त्यसको लागि तयार पार्नतर्फ लाग्दैन लागेनौँ । डिग्रीले पैसा कमाइदिन्छ र सन्तानले कमायो भने हामीलाई पुग्छ भन्ने भ्रममा बाँच्यौं । समयले देखाइदियो ।

डिग्रीले पैसा कमाउने ग्यारेन्टी पनि छैन । त्यस्तै सन्तानले पैसा कमाएपछि अघिल्लो पिढीलाई पुग्छ भन्ने पनि छैन । पढाउने त संस्कार नै रहेछ । गफ त समाज नै रहेछ । विद्वान्हरुको लेखाई त किताबका माछा मात्रै रहेछन् । हामीलाई सन्तानको विद्वत्ताभन्दा उत्तरदायित्वबोध नै बढी चाहिने रैछ । यसो भनेर विद्वत्ताको अवमूल्यन गर्न खोजेको भने पटक्कै होइन । सन्तानबाट दुवै कुराको बराबर अपेक्षा रहन्छ भन्ने हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्