माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य – Kanika Khabar
Sunday, May 22Nepali News Portal

माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य

    मा प्रकाशित

सुशील चौधरी

‘माघ’ अर्थात माघे सङ्क्रान्ति एक ऐतिहासिक दिन हो, युगौँदेखिको । सूर्य उत्तरायण हुने पहिलो दिन । यस दिनलाई थारु भाषामा ‘माघ’ भनिन्छ । माघ अर्थात जाडो कम हुने र गर्मी बढ्दै जाने दिन । तराईको मुल आदिवासी थारु जातिको नयाँ वर्ष हो माघे संक्रान्ती । त्यसो त मगरहरूको पनि नयाँ वर्ष हो । शिख समुदायले पनि माघे सङ्क्रान्तिको दिनलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मका दृष्टिले पनि यस दिनले धार्मिक महत्व राख्दछ । मकर सङ्क्रान्ति पनि भनिने माघीको दिन सूर्यदेवताको पूजा गरिन्छ । शिशिर ऋतुको अन्त्य र गर्मीको सुरुवात हुने दिनकोरूपमा लिइने यो दिन उल्लासमय वातावरणको स्वागत मानिन्छ ।

‘माघी’ एक ऐतिहासिक नेपाली पर्व हो । यसको आफ्नै सामाजिक र साँस्कृतिक महत्व छ । माघे सङ्क्रान्तिको दिन सदियौँदेखि महापुरुषहरूले सिद्धि प्राप्ती गरेको दिन हो । त्यसैले पनि यो दिन अर्थात माघ महात्म्याको पूजन हुँदैआएको छ । प्रकृतिपूजक थारु समुदाय नेपालमा तराईका यस्ता जातीय समुदाय हुन् जसले तराईको औलो र कालाज्वारसँग लडेर नश्ल बचाएको श्रेय पाएको छ । सोझा, इमान्दार र कडा परिश्रमी जातिको परिचय बनाउन सफल थारु समुदाय संस्कृतिका पनि धनी मानिन्छन् । आफ्नै भाषा र संस्कृतिका धनी यो जाति नेपालमा चौथो ठूलो जनसङ्ख्या भएको समुदाय हो । आर्यन र मङ्गोल मिश्रण बनोट रहेको थारु जातिबारे जुन रूपमा मानवशास्त्रीय तथा समाजशास्त्रीय अध्ययन हुनपर्ने हो, हुन सकेको छैन । पच्चिस सय वर्ष पहिले जन्मिएर बौद्ध धर्मको स्थापना गर्दै निर्वाण प्राप्त गरेका गौतम बुद्ध पनि थारुका सन्तान हुन् भनेर मानिएको अवस्थामामा पाँचसय वर्ष अगाडि मात्र नेपालको चुरे तलको समथर भूभागमा रहन बस्न आइपुगेका भनी थार मरुभुमिका राजपुतानासँग नाता जोड्ने गरिन्छ जुन सत्य देखिँदैन । थारु समुदाय धेरै जातजातिको मिश्रण (सम्मिलन) रहेकोले यस समुदायबारे विशेष अध्ययन हुन आवश्यक छ । धार्मिक रूपमा प्राकृत थारु धर्म, हिन्दु र बौद्ध धर्मको प्रभाव मान्ने यो जाति तराई र पहाडको मिश्रण स्पष्ट झल्कन्छ । चाड पर्व अमुर्त संस्कृतिको जीवन्त परिचायक हुने भएकाले संस्कृतिको उन्नयनका लागि समाज र राज्यको अहम् भूमिका रहन्छ । यस सानो प्रबन्धमा थारु समुदायको नयाँ वर्ष र आमनेपालीको साझा पर्व माघीको सामाजिक तथा साँस्कृतिक सौन्दर्यको चर्चा गर्ने जमर्को गरिएको छ ।

‘माघी’ माघमा भएपनि यस पर्वको व्यापक तयारी पुस महिनाभर गरिन्छ । अनदीको झोल, जाँड र चामलको रक्सी बनाउने काम मङ्सिर र पुष महिनामा गरिन्छ । माघी आउनुअघि माछा, घोँंघी, मुसा र सँुगुरको मासुको व्यवस्था सामूहिक रूपमा गर्ने गरिन्छ । थारु गाउँ महटवाँ (दाङ) बडघर (बर्दिया), ककन्डार (देउखर), भलमन्सा (कैलाली, कंचनपुर) चितवन (महतो) आदिको नेतृत्वमा चल्ने भएकाले हरेक कुरा सामहिक रूपमा मिलेर गर्ने गरिन्छ । आगोको धुनी जगाउन चाहिने दाउरा, टपरी गाँस्न चाहिने भरलाको पातदेखि खिचिरी मिचरी समान पनि सक्रियताकासाथ जुटाइन्छ । पहिलो दिन माछा मार्ने, दोश्रो दिन दाउरा पात सङ्कलन गर्ने तेश्रो दिन अर्थात पुसको मसान्तको दिन माघीको तीन दिनको महत्वपूर्ण दिन जस्लाई सुवर मर्ना दिन भनिन्छ । यस दिन गाउँलेले सामहिक रूपमा छानेको गाउँलाई पुग्ने सुँगुर वा बुंगुर सामूहिक रूपमा मार हानेर भाग लगाएर लैजाने गरिन्छ । साँझ पख सबैले आफ््नो परिवारका सदस्यहरूबीच मिठो मसिनो खाइन्छ । त्यस साँझ खासगरी चामलको पिठोबाट बनाइएको रोटी ढिकरी (चामलको उसिनेको लामो रोटी) खाइन्छ । खानपान पछि गाउँको बुढापाका, जान्ने मान्ने र युवाहरू गाउँको बडघर, ककन्डार वा भल्मन्साको आँगनमा बालिएको धुनी ताप्दै डफगीत गाइन्छ ।

चौथो दिन माघीको दिन (माघे सङ्क्रान्ति) लाई लाहानक दिन भनिन्छ । त्यस दिन बिहानै गाउँ नजिकका नदी, ताल तलैयामा स्नानगरी सूर्यलाई अर्घ दिइ, ढ्याक मोहर पैसा जलमा चढाएर, सेतो टीका लगाउँदै सानाले ठुलालाई ढोकभेट गरी आशिर्वाद लिइ सामुहिक रूपमा नाच्दै घरतर्फ आइन्छ । घरमा चामल, मास्को दाल र नुन निस्राउको रूपमा चेलीबेटीका लागि अलग्याएर अग्रजहरूसँग ढोगभेट गरी आर्शिवाद लिइन्छ । घरमा बनेको अनेक परिकार परिवारसँग बसेर खाने गरिन्छ । सानादेखि ठुलासम्म सबैजना गाउँभरी ढोकभेट गर्न घर–घर जान्छन् । जाँड, ढिकरी, रोटी, अनडीको भात, उखु, सुगुरको मासु लगायतका परिकारहरू खान्छन् । केटाकेटीहरू ढोगभेट गरेर जम्मा गरेको पैसाले मिठाइ किनेर खाने, खोप्पी, पासा खोल्ने गर्दछन् । माघीको दिन सक्नेले गच्छेअनुसार दान दक्षिणा दिन्छन् । यस दिन कसैलाई पनि रोकथाम हुँदैन, खान, हिँड्न र कुरा गर्न । घरमा आएमा चेलीबेटी र आफन्तहरूबीच खानपिन गरिन्छ । कमैया कमलहरी मुक्तहुनु पहिले जमिन्दारका घर रहेका कमैया परिवारले पनि त्यसदिन छुट्टि पाउँदथे । त्यसदिन मुक्तकण्ठले खाने, नाचगान गर्दथे । वर्षभरीको सुखदुख आदन प्रदान गर्दथे । यसदिन सानो ठूलो कोही हँुदैन । सबै समान हन्छन् । सबैले खुलेर कुरा गर्दछन् । खान्छन् । नाच्छन्, जस्म मनाउँछन् ।

गाउँका तन्नेरीहरू समूह–समूहमा नाच टोली बनाएर गाउँमा, छिमेकी गाउँमा नाचगान गर्दछन् । माघी पर्वलाई खुलेर खाने र खुलेर बातचित गर्ने पर्वको रूपमा पनि लिइन्छ । यस दिन गरिने हाँसी मजाक र रमाइलोलाई सामाजिक मनोरञ्जनको रूपमा लिइन्छ । घर गुरुवा (कुल पूजारी), सुढिनी, घर पोत्ने, काम सघाउने, घर बनाउनेदेखि अग्रज पुर्खाहरूलाई बोलाएर खुकाइन्छ । मङ्सिर र पुसमा धान दाइँ हालेर फुर्सदको बेला र बेसाएर खाने परिवारको घरमा पनि दुई छाक खाने र एकसरो नयाँ कपडा लगाउने अवस्था हुने भएकोले पनि यो पर्व समान ढङ्गले मनाइन्छ ।

माघीको पाँचौ दिन अर्थात माघ महिनाको द्वीतीया (दोश्रो दिन) को दिन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यस दिनलाई माघी डेवानी भनिन्छ । यसदिन हरेक घरमा वर्षभरको कामको समीक्षा हुन्छ । घरमूलीले सबैलाई आफ्नो भावना राख्ने अवसर दिन्छन् । नयाँ घर बनाउने, भाइभाइमा अंशवण्डा गर्ने, कस्ले घरभित्रको काम गर्ने, कस्ले घर बाहिर गर्ने सबै सल्लाह हुन्छ । भाइभाइमा घर अलग्गिने भएपनि माघी कुरेर बस्दछन् । कोही गाउँबाट बसाई सर्ने योजना भएपनि माघी मानेर मात्र सर्ने गर्दछन् । विहेबारी, लेनदेन, ऋण सापट चुक्ता गर्ने काम पनि माघी मानेर हुन्छ । लुगा सिउने दर्जी, हँसिया फाली बनाउने लुहारदेखि गाउँको पूजाआजा चलाउने देशबन्धिया गुरुवा (पण्डित), गुरुवाका सहयोगी चिरकिया, चौकिदार, ढाक बजाउने ढकेहेर समेतलाई गत वर्ष तोकिएको तिहाई (दस्तुर) बुझाउने र नयाँ दस्तुर तोक्ने काम गरिन्छ । यसका साथै थप आवश्यक वर्षभरीको कामको योजना बनाइन्छ । कृषि मुख्य पेशा भएकाले आफ्नो पेशामा सघाउने सबैलाई सम्झिने चलन छ, माघीमा । माघ महिनाभर इष्टमित्र, चेलीबेटीहरूलाई सम्झीसम्झी निम्ता गरेर खुवाउने गरिन्छ ।

माघी डेवानीको दिन मुख्य रूपमा हरेक थारु गाउँमा नयाँ मटवा । बडघर, भल्मन्सा चुन्ने काम गरिन्छ । सामाजिक रीति, विवाहरीत, पूजा, कुलो पैनी, नहर, ताल पुलपुलेसा बनाउने योजना बनाइन्छ । यो कार्य वार्षिक वा आवधिक निर्वाचन वा अधिवेशनको रूपमा पनि लिन सकिन्छ । माघी डेवानीको दिन बडघरको आँगनमा खुल्ला सभा हुने भएकोले गाउँका घरमुली अनिवार्य रूपमा उपस्थित हुनुपर्दछ । सोही दिन गाउँका केटीहरू बडघरको आँगनमा सखिए हो …. गीत गाउँदै नाच्न र दक्षिणा लिन चुक्दैनन् ।

हरेक माघीमा नयाँ बडघर चयन गर्ने चलन रहेकोले पनि माघीपर्व अति महत्वपूर्ण रहेको छ । बडघर प्रणाली थारु समुदायको सदियौँंदेखि चलिआएको राजनीतिक संस्था हो । यो प्रणालीको समावेशी र न्यायोचित अभ्यासले नै होला हालसम्म पनि निरन्तरता पाइरहेको छ । बडघर प्रणाली थरुहट क्षेत्रको जनजातीय परम्परागत सङ्गठन हो । यो प्रथा र परम्परा मौजा, प्रगन्ना तहमा अस्तित्वमा रहेको थियो । थरुहटी क्षेत्रमा विभिन्न नाममा यो प्रणाली रहेको पाइन्छ ।

माघी पर्व हर्र्षोल्लास बाँड्ने चाड मात्र होइन जुग–जुगदेखि दासताविरुद्ध मुक्तिको खोजीगर्ने सन्देश छर्ने एक साँस्कृतिक अवसर पनि हो । माघी आफैँमा इतिहासको गर्तमा रहेको पीडित र वर्तमानको उकुसमुकुस भरिएको जीवनले पक्कैपनि मुक्ति खोजिरहेको छ । नेपालका आदिवासी जनजातिमा रहेको लोकअभ्यास नेपाली स्वशासनको असली मोडेल बन्न सक्दछ । जनजातीय सामाजिक अभ्यासलाई मान्यता दिन सकेमा जनविश्वास बढ्नुका साथै स्थानीय स्वशासन बलियो हुन सक्दछ । हाल स्थानीय सरकारहरुले कानून बनाएर बडघर संगठनलाई विकासको मुलप्रवाहमा ल्याउन खोजिरहेको देखिन्छ , जुन अति महत्वपूर्ण सवाल हो । यस कार्यमा ढिलाई नहुनु राम्रो होला । माघी उत्सव मनाइरहेको बेलामा माघीको सामाजिक तथा साँस्कृतिक सौन्दर्यको विवेचना हुनुकासाथै राजनीतिक पहुँचको सवाल पनि मुखरित भएर आओस् । जय गुर्वावा !
(लेखक थारु संस्कृतिका अध्यता तथा अधिकारकर्मी हुनुहुन्छ ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्