युवाको व्यक्तित्व र नेतृत्व विकास हाम्रो अभियान : दाङ महिला जेसीज अध्यक्ष घर्ती – Kanika Khabar
Friday, March 29Nepali News Portal

युवाको व्यक्तित्व र नेतृत्व विकास हाम्रो अभियान : दाङ महिला जेसीज अध्यक्ष घर्ती

    मा प्रकाशित

दाङ महिला जेसीज सन २००८ मा दाङमा स्थापना हो । यो संस्था खुलेसँगै यसमा आबद्ध महिलाहरु सक्षम नेतृत्वमा पुगेका छन् । क्षमता विकास जेसीजको कर्म हो । महिलाको व्यक्तित्व र नेतृत्व विकास गर्दै सामाजिक विकास तथा रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको संस्थाले करिब डेढदशकको अवधिमा धेरै महिलाहरुलाई राजनीतिक, सामाजिक क्षेत्रको नेतृत्व तहसम्म पु¥याएको छ । जुन संस्थाको १३औं अधिवेशनबाट नेतृत्वमा जेसी शारदा घर्ती पुग्नुभएको छ । सन २०२२ का लागि अध्यक्षमा निर्वाचित घर्तीसँग लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

 जेसीज भनेको के हो ? यसले कुन कुन क्षेत्रमा रहेर काम कार्यहरू गर्ने गर्दछ ?

 जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको संस्था हो । जेसीजको मुख्य केन्द्रविन्दु भनेको व्यक्ति हो । जेसीजले सामाजिक कार्यहरू गरे तापनि यो सामाजिक संस्था भने होइन । यसलाई युवाहरूको अनौपचारिक विश्वविद्यायलयका रूपमा लिने गर्दछौँ । युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि अवसर र संम्भावनाहरू प्रशस्त छन् ।

त्यी अवसरहरूलाई लिएर आफ्नो क्षमता विकास गर्दै सामाजिक विकास र सामाजिक रूपमान्तरणका लागि युवाहरूलाई अघि बढाउने संस्था जेसीज हो । जेसीजका चारवटा कार्य क्षेत्रहरू हुन्छन् । त्यी भनेका युवाहरूको व्यक्तिगत क्षेत्र, सामुदायिक क्षेत्र, अन्तर्राष्ट्रिय र व्यवस्थापन क्षेत्र हुन् । युवाहरूको क्षमता विकासका लागि जेसीजले यी चार क्षेत्रहरूमा रहेर काम गर्ने गर्दछ ।

 लामो समय दाङ महिला जेसीजमा आबद्ध रहेर काम गर्नुभयो, अहिले नेतृत्वमा पुग्नुभएको छ । नेतृत्वमा पुग्दा कस्तो अनुभूति हुने रहेछ ?

 दाङ महिला जेसीज सन् २००८ मा दाङमा स्थापना भएको संस्था हो । त्यसको ६ वर्षपछि सन् २०१४ मा दाङ महिला जेसीजमा आबद्ध हुने अवसर प्राप्त भयो । आबद्ध भएपछि सन् २०१५ मा उपाध्यक्ष, २०१६ मा शाखा सम्पादक, २०१७ मा महासचिव, २०१८ मा कार्यकारिणी उपाध्यक्ष, २०१९ मा कानुनी सल्लाहकार, २०२० मा कोषाध्यक्ष र २०२१ मा जनसम्र्पक अधिकारीजस्ता विभिन्न पदहरूको पदीय जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त गर्दै वर्ष २०२२ मा आउँदा दाङ महिला जेसीजको अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित हुन पाउँदा असाध्यौ खुसी लागेको छ । जेसीज अभियानमा जोडिएको करिब ८÷९ वर्षमा प्राप्त गरेको कार्यानुभवलाई व्यावहारिक रूपमा प्रसुस्त गर्ने अवसर प्राप्त भएको महसुस गरेको छु ।

 महिलाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि जेसीजले काम गर्दै आइरहेको छ, सामाजिक रूपान्तरणका लागि तपाईंले के–कस्ता कार्यहरू गर्ने योजना बनाउनुभएको छ ?

 दाङ महिला जेसीजले स्थापनाकालदेखि नै व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न कार्यहरू गर्दै सामाजिक रूपान्तरणमा अग्रणि भूमिका खेल्दै आएको छ । यद्यपि, जेसीजको मुख्य केन्द्रविन्दु भनेको व्यक्ति हो । त्यसकारण यस वर्ष पनि मैले तालिमहरूलाई प्राथमिकतामा राखेको छु । सामाजिक क्षेत्रमा समय परिस्थिति, समुदायको माग र आवश्यकताको आधारमा विभिन्न सचेतनासँगै सहयोग र महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न सीपमूलक कार्यहरू गर्ने योजना रहेको छ ।

 महिलाहरूलाई नेतृत्व तहमा पु¥याउन जेसीजले कसरी भूमिका खेलिरहेको छ ?

 जेसीजमा हरेक वर्ष सञ्चालन हुने तालिम, बैठक, साधारणसभा र कार्यक्रममार्फत् आफ्नो प्रतिभा, क्षमता प्रफुष्टन गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्दै नेतृत्व तहमा पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । साथै जेसीज सौजन्यबाट चल्ने संस्था भएकाले हाम्रा हरेक कार्यक्रमहरू सञ्चालनका लागि सहयोगी, दाताहरूसँग समन्वय गर्ने क्रममा, जेसीजका एरिया सम्मेलन, महाधिवेशनजस्ता कार्यक्रममार्फत् विभिन्न व्यक्तित्वसँग परिचय र समन्वय हुने गर्दछ ।

जसबाट पनि क्षमता विकास गर्दै नेतृत्व तहमा पुग्नलाई महत्वपूर्ण भूमिका रहन्छ । जसमा उदाहरणका रूपमा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, महिला उद्यमी विष्णु थापा, शिक्षा क्षेत्रमा सरिता देवकोटा, महिला अधिकारको क्षेत्रमा हुमा डिसी, सामाजिक संघसंस्थाहरूको नेतृत्वमा दाङ जेसीजको संस्थापक अध्यक्ष समेत रहनुभएकी निर्मला गौतम, जेसीजको अभियानमा जोडिनुभएका निर्मला गौतम रेग्मी, कल्पना न्यौपाने, सुशीला पौडेललगायतका धेरै आदरणीय महिला दिदीहरू रहनुभएको छ ।

 जेसीजलाई सम्पन्न व्यक्तिहरूको संस्था भनिन्छ, के दाङ महिला जेसीजमा पनि आर्थिक रूपमा सम्पन्न महिलाहरू संलग्न हुनुहुन्छ ?

 एकदमै राम्रो प्रश्न गर्नुभयो । जेसीजप्रतिको धेरै बुझाइ पनि यस्तै रहेको पाइन्छ तर वास्तवमा जेसीज सम्पन्न व्यक्तिहरूको संस्था नभएर युवाहरूको क्षमता विकास गर्दै सम्पन्न बन्न प्रेरित गर्ने संस्था हो । दाङ महिला जेसीजमा आर्थिक रूपमा सम्पन्न महिलाहरू मात्र नभएर वर्गीय रूपमा सबै किसिमका महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ ।

 एक व्यक्ति एक पद, एक कार्यकाल भन्ने जेसीजको मान्यता छ । त्यहीअनुसार दाङ महिला जेसीजको एकवर्षीय कार्यकालका रूपमा अध्यक्ष निर्वाचित हुनुभएको छ, यो एक वर्षमा के–कस्ता कार्यक्रमहरू गर्ने योजना बनाउनुभएको छ ?

 जेसीजको विधान तह एक व्यक्ति, एक पद र एक कार्यकाल भन्ने मान्यता अनुरूप वर्ष २०२२ का लागि दाङ महिला जेसीजको अध्यक्ष पदको जिम्मेवारी मैले प्राप्त गरेको छु । यो एक वर्षमा मैले विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको छु । जसमध्ये पहिलो प्राथमिकतामा विभिन्न तालिमहरू राखेको छु । साथसाथै समय परिस्थिति र समुदायको माग र आवश्यकताको आधारमा विभिन्न सचेतनासँगै सहयोग र महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न सीपमूलक कार्यहरू गर्ने योजना रहेका छन् ।

जसमा निःशुल्क स्वास्थ्य शिविर, जेसीज इन कलेज, युवासँग जेसीजसँगै महिला जेसीजलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने गरी काम गर्ने सोच छ । सामुदाय स्तरसम्म दाङ महिला जेसीजलाई जोड्ने र नेतृत्व विकासका कार्यक्रमहरू सँगसँगै संस्थागत विकासका लागि केही कामहरू गर्नुपर्ने छ । त्यी कामहरूलाई पूरा गर्नका लागि संस्थाका अग्रज दिदीहरूको सल्लाह र सुझावअनुसार स्थानीय सरकारका रूपमा रहेका घोराही उपमहानगरपालिका, वडा कार्यालयहरू, विभिन्न संघसंस्था, जनप्रतिनिधिहरू, विभिन्न व्यक्तिहरूसँग समन्वय र सहकार्य गरेर महिला जेसीजलाई अघि बढाउने सोचमा रहेको छु ।

 यी कामहरू पूरा गर्नका लागि चुनौती के देख्नुभएको छ र कसरी समाधान गर्नुहुन्छ ?

 कुनै पनि काम गर्दा चुनौती नआउने होइन, चुनौतीहरू आउने गर्दछन् । यद्यपि, हामी जेसीजहरूले हरेक चुनौतीहरूलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने गर्दछौँ । जसले गर्दा हामीमा अझ निखारता आउने गर्दछ । जेसीज सौजन्यबाट चल्ने संस्था हो । जेसीजमा कतैबाट बजेट आउँदैन ।

यस हिसाबले हामीलाई काम गर्दा आर्थिक रूपमा मुख्य चुनौती आउनसक्छ । त्यसका लागि मैले दाङ जेसीजका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, वर्तमान कार्यसमितिलगायत सबै अग्रज व्यक्तित्व, संघसस्थाहरूसँग समन्वय र सहकार्यका गर्दै यी चुनौतीहरूलाई समाधान गर्दै अघि बढ्ने प्रयास गर्नेछु ।

जेसीजलाई सहरमुखी संस्था भन्ने आरोप छ, के तपाईं यसमा सहमत हुनुहुन्छ ?

 जेसीजलाई सहरमुखी संस्था भन्न मिल्दैन । बुझाइमा फरक परेको हुनसक्छ, बास्तवमा त्यस्तो होइन । किनभने जेसीजमा सहरका मात्र नभएर ग्रामीण क्षेत्रका युवाहरू समेत आबद्ध हुनुहुन्छ । जसको उदाहरण स्वयम् आफुलाई नै दिन चाहन्छु । म घोराही उपमहानगरपालिका–१७ धाइरेखुट्टी जस्तो ग्रामीण क्षेत्रमा जन्मिएर हुर्किँदै गर्दा दाङ महिला जेसीजमा जोडिएर अहिले नेतृत्व तहमा पुग्ने सौभाग्य प्राप्त गरेको छु ।

म मात्र होइन मजस्ता धेरै दिदीबहिनीहरू हुनुहन्छ, जो ग्रामीण क्षेत्रबाटै आएर दाङ महिला जेसीजमा आबद्ध हुँदै विभिन्न नेतृत्व तहमा पुग्नुभएको छ । यति मात्र नभएर जेसीजले हरेक वर्ष सञ्चालन गर्ने विविध कार्यक्रमहरू सहरमुखी नभएर ग्रामीण क्षेत्रसम्म गर्ने गर्दछ । जसको उदाहरणका रूपमा त्रिभुवननगर जेसीजले घोराहीको विकट क्षेत्रका रूपमा रहेको मौलाकोटमा ‘मौलाकोट जेसीजग्राम’ कार्यक्रम गर्दै आएको छ ।

दाङ महिला जेसीजले पनि घोराहीको विकट क्षेत्र वडा नं. १९ को भगवती माध्यमिक विद्यालयमा सचेतना, विभिन्न ग्रामीण क्षेत्रहरूमा पुगेर विपन्न घरपरिवारसँगै बालबालिका शैक्षिक सामग्री सहयोगलगायतका कार्यक्रम गर्दै आइरहेको छ भने आउने दिनहरूमा पनि यस्ता कार्यहरूलाई ग्रामीण क्षेत्रमा निरन्तरता दिनेछ । यस हिसाबले जेसीज सहरमुखी संस्था होइन भन्ने प्रमाणित गर्दछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्