स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको आग्रह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको आग्रह

    मा प्रकाशित

माघ ११, काठमाडौँ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ । आज प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो ।

२०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगले आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको र एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरणमा २०७९ वैशाख १४ गते र दोश्रो चरणमा वैशाख २२ गते निर्वाचन गर्न आग्रह गरेको आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने र निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदान स्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको पनि आयोगले जनाएको छ ।

आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको पनि आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै गयो, त्यति जटिलता हुने भएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्