डायरीको पानाबाट : जनताप्रति गैरजिम्मेवारपन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

डायरीको पानाबाट : जनताप्रति गैरजिम्मेवारपन

    मा प्रकाशित

विनोद पोख्रेल

२०७७ माघ २३ गते
आम नागरिकलाई थाह नहुने अथवा मतलब नै नहुने कुरा राष्ट्र सञ्चालक तथा नीति निर्माताहरुलाई थाह हुन्छ । यससँग उनीहरुको बढी स्वार्थ जुटेको हुन्छ । उनीहरुको अस्तित्व संकटमा पनि पर्न सक्छ । त्यसकारण उनीहरु सधै केही यस्ता कुरामा संवेदनशील हुन्छन् । हुन पनि पर्छ । यही कुरा नै खास समयमा उनीहरु आफैले एकअर्काको बारेमा आक्षेपको रुपमा ओकल्न थाले भने विपक्षी भएर सुन्न त केही बेर अथवा केही रमाइलो नै लाग्छ ।

तर आपेक्ष स्तर, गहिराई र विषय सबै जोडेर बुझ्ने प्रयास गर्ने हो भने घृणा र दिक्क दुवै लाग्छ । हुन त साना देशमा कुनै न कुनै ठूलो वा ठूला देशहरुको प्रभाव परेकै हुन्छ । यो हामीले देखेको, भोगेको वास्तविकता हो र यसबाट हामी पनि जति गफ गरे पनि अलग हुन सकिरहेका छैनौ । तर यस्तो प्रभाव कुन विषयमा कति परेको छ भन्ने महत्वपूर्ण कुरो हो । राष्ट्रि नेतृत्वले प्रभाव सकेसम्म कम पार्ने प्रयास गर्नुपर्छ । तर यहाँ यसतर्फ ध्यान दिएको जस्तो लाग्दैन । बरु कति कुरामा प्रभाव बढी पार्ने प्रयास गरेको जस्तो देखिन्छ ।

नेपाली नेतृत्वको अर्को कमजोरी के पनि छ भने कुनै पनि विषयलाई अति व्याख्या गर्ने गरिन्छ । अहिले एकथरि संसद पुनःस्थापना भए देशै अस्थिरतामा जाने, द्वन्द्वमा जाने भन्ने व्याख्या गरिरहेका छन् भने अर्काथरि संसद पुनःस्थापना नभएर निर्वाचनमा गए देशै नहरनेसम्मको भविष्यवाणी गरिरहेका छन् । देशको नेतृत्व यदि आफ्नो देशप्रति इमानदार छ भने यी दुवै हुँदैनन् । देशप्रति भन्दा स्वार्थ रक्षाप्रति बढी झुकाउ छ भने यस्तो परिणाम आउन पनि सक्छ । यसमा आम नागरिकको कुनै भूमिका हुँदैन । तर पनि त्यो आम नागरिकले समेत राष्ट्रवादलगायत अरुको अधिनताको पीडा भोग्न बाध्य छ ।

गल्ती तिनैले गर्छन्, जसले आफूलाई सबैभन्दा जान्ने र सबैभन्दा जिम्मेवार भएको दावी गर्छन् । भोग्न भने सबैलाई पर्छ । हिजोमात्रै पनि एउटा पार्टीका दुईवटा अध्यक्षमध्ये एउटाले एउटा सञ्चार माध्यमबाट अर्को अध्यक्षलाई झेली आदि शब्द प्रयोग गरेर आक्षेप लगाए । झेली भन्ने शब्दले नै मैले मनोरञ्जन अनुभव गरेँ र यो शब्द यहाँ लेखेँ । अरु धेरै शब्दको प्रयोग भएको थियो । फेरि उनीसँग पार्टी एकता अथवा चुनावी तालमेलको वातावरणका लागि कुरा आफैले उठाएको पनि भने । चुनाव जित्नमा आफ्नो भूमिका महत्वपूर्ण रहेको पनि भने ।

अहिले उनी किन झेली भए भने उनले सहमतिअनुसार यिनलाई प्रधानमन्त्री हुन दिएनन् । कुराहरु जसरी राखिए वा राखिने गरेका छन्, यसबसाट कुनै गम्भीर विषय भएको जस्तो देखिएकै छैन । एउटा नेताले अर्को नेतालाई भेला ग¥यो अनि यो दुईजनाको झेलको परिणाम पार्टीपंक्तिभित्र पु¥याइयो । त्यहाँको खिचलोको परिणामस्वरुप संसद नै विघटन गरियो । अनि सकेजति अतिवादको व्याख्या गर्न थालियो । देशलाई बचाउने, व्यवस्थालाई बचाउने नाममा आफै आन्दोलन, अविश्वास, द्वन्द्वको वातावरण सिर्जना गरिँदैछ र दोष अर्कोलाई लगाइँदैछ । यही क्रमको रमाइलो आज पनि छ रे, राजदरबार अगाडिको सडकमा ।

२०७७ माघ २४ गते

हिजोको एउटा दृश्य सकियो । ओलीले हिजोको सभालाई नेपालमै पहिलो पनि भने । होला पनि । मलाई यसमा केही मतलब छैन । कसैले भाषण गर्दा गर्दै रोए, आँसु पुछे भन्ने पनि लेखेका छन् । ओलीले चिसोले आँसु आएको पनि भने रे । त्यो मेरो र मजस्ता सामान्य नागरिकको विषय नै होइन । त्यो भाषणमा ओलीले के–के भने र आम नागरिकले के पाए त्यो हामीजस्ताको मतलबको विषय हो ।

यसरी हेर्दा केही फरक परेको जस्तो लाग्छैन । उनै सत्तोसराप र उही अडियल रुख यथावत छ । अब हामीले २८ गते अर्को समूहको पनि के कस्तो हुन्छ भनेर पर्खने, रमाइलो हेर्ने वा सुन्ने र तुलना गर्ने मात्रै हो । बरु राजनिितमा सामानय चाख राख्ने मजस्ताको लागि हिजोको दिन अलि अनौठो रहेको छ । अग्नि सापकोटाले केपी ओली र विद्यादेवी भण्डारीलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । विषय र तर्कतर्फ पनि नजाऊँ ।

यो सर्वोच्च अदालतको विषय बनोस् । तर यहाँ भएको के हो भने बहुदलीय प्रजातान्त्रिक व्यवस्था भएको देशमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसारका तीनवटा निकायबीच असमझदारी र द्वन्द्व यो रुपमा आएको छ कि व्यवस्थापिकाले कार्यपालिकाको विरुद्ध न्यायपालिकामा लिखित रुपमै मुद्दा दर्ता गराएको छ । यो नेपालको इतिहासमा न पहिलो केश नै हो । मलाई जहाँसम्म लाग्छ यो विश्वको इतिहासमै पहिलो केश हो ।

यस्तो गतिविधिले बहुदलीय पद्धतिको मान्यता र संवेदनशील्ता दुबैलाई कमजोर बनाउँछ जस्तो लाग्छ । देश व्यक्ति र विचारको द्वन्द्वमा मात्र सीमित रहेन । बरु शक्ति पृथकीकरणका तीन स्तम्भबीच पनि यो द्वन्द्वले स्थान पायो । यो आजको मितिमा जुन अवस्थामा छ, त्योभन्दा अलिकति पनि अघि बढ्यो भने सक्नेले हस्तक्षेप गर्ने वातावरण तयार भयो । अब न्यायालयले अलि बढी नै संवेदनशील र जिम्मेवार भएर जतिसके छिटो यस्तो समस्यालाई समाधान गर्ने उपाय खोज्न सक्यो भने केही आश गर्न सकिन्छ । अन्यथा द्वन्द्वको लागि अथवा भनौ नसोचेको परिस्थितिको लागि स्वागत गर्न तैयार भएर बस्ने बेला भएकै हो ।

जब राजनीति जनतासँग नजोडिएर केही व्यक्ति वा समूहको स्वार्थमा सीमित र उनीहरुबाट नियन्त्रित हुन्छ तब हस्तक्षेपका लागि मौका पर्खेर बसेकाहरुलाई उचित समय, उचित परिस्थिति तयार हुन्छ । अब द्वन्द्व व्यक्ति वा दलहरुका बीच, उनका समर्थकहरुका बीच मात्रै रहेन । बरु राजनीतिक संस्थाहरुका बीचमा पनि द्वन्द्व पस्यो । अझ जनताद्वारा छानिएको व्यवस्थापिका र जनताको भनिने व्यवस्थापिकाद्वारा छानिएका सरकार (कार्यपालिका) नै द्वन्द्वका दुई पक्ष भए ।

नेतृत्व क्षमताको कमजोरी र जनताप्रतिको जिम्मेवारी बहन गर्न नसकेको प्रमाणको रुपमा योभन्दा अर्को उदाहरण अहिलेसम्म विश्वमै देखिएको छैन । यस्तोमा हस्तक्षेप गर्नेहरुको पहिलो कदम भनेकै नागरिक अधिकारमाथि नै हस्तक्षेप हो । प्रजातन्त्रप्रति विश्वास राख्नेहरुप्रति नै असहिष्णु हुने हो । किनभने नागरिक स्वतन्त्रताको नारा दिनेहरु र हस्तक्षेपकारीहरुको स्वार्थ कहिल्यै मिल्दैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्