दाङ कोरोनाको हट स्पट बन्दै, सतर्कता अपनाउन जरुरी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङ कोरोनाको हट स्पट बन्दै, सतर्कता अपनाउन जरुरी

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
दाङ जिल्ला दिनानुदिन कोरोना सङ्क्रमणको हट स्पट बन्दै जान थालेको छ । पछिल्लो चरणमा दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो अबस्थामा बढ्दै जान थालेको हो । सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएसँगै दाङका बजार पनि खुल्न थालेका छन् । यद्यपि लकडाउन खुकुलो नहुँदा पनि बैंकिङ तथा अत्यावश्यक सेवाका नाममा दाङका बजारमा भीडभाड बढेको थियो । जसले कोरोना सङ्क्रमणको अवस्थालाई बलियो बनाउँछ कि भन्ने आशङ्का एकातिर थियो नै अर्कोतिर त्यसलाई व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई मुस्किल नै परेको थियो ।
सरकारले जेठ ३२ गतेसम्म बिस्तार गरेको लकडाउनको समयको बिचमा नै लकडाउनको मोडालिटीलाई खुकुलो बनाएसँगै बजार व्यवस्थापन गर्न सकिएको छैन । अझ बजारका दृश्यहरुलाई हेर्ने हो भने त कोरोनाको प्रभाव नै नभएको प्रतीत हुन्छ ।
एकातिर बजार खुकुलो हुँदै गएको छ अर्कोतिर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेका छन् । हिजो असार २ गतेसम्मको अद्यावधिकलाई हेर्ने हो भने दाङका २ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कुनकुन क्षेत्रका मानिसमा देखियो सङ्क्रमण ?
हिजो मङ्गलबारसम्मको अद्यावधिक अनुसार दाङका २ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ सय ४३ जना सङ्क्रमितमध्ये २ सय २६ जना भारतबाट आएर दाङ जिल्लाका विभिन्न क्वारअन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अहिलेसम्म दाङमा ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्यकर्मी फ्रन्टलाइनमा रहेर काम गर्दै आएका छन् । त्यसैगरी २ जना जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको हो । क्वारअन्टिनमा स्वयंसेवकका रुपमा रहेर काम गर्दै आएका २ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य रोगको उपचार गराउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका २ जना विरामीमा पनि कोरोना पुष्टि देखिएको छ । त्यसैगरी शव व्ष्वस्थापनका लागि सहभागी भएका एक नेपाली सेनाका जवानमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा दाङका २ जना सङ्क्रमित रहेका छन् । त्यसैगरी प्यूठान क्वारअन्टिनमा बसेका १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । साथै भारतमा मृत्यु भएर दाङमा स्वाब परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि देखिएको थियो ।

सङ्क्रमितको अवस्था कस्तो छ ?
अहिलेसम्म दाङमा सङ्क्रमण देखिएका मध्ये ६० जना सङ्क्रमित डिस्चार्ज भइसकेका छन् । एकजना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

सङ्क्रमण सर्नबाट सतर्कता अपनाऔँ
पछिल्लो अवस्थामा हेर्ने हो भने भारतबाट आएर क्वारअन्टिनमा बसेका मानिसमा सबैभन्दा बढी कोरोना सङ्क्रमण देखिएको छ । क्वारअन्टिनमा बसेकाहरुबाट नै कोरोना सङ्क्रमण सर्दै जान थालेको छ । विशेष गरेर क्वारअन्टिनमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, स्वयंसेवक तथा क्वारअन्टिन व्यवस्थापनमा खटेका जनप्रतिनिधिहरुमा सङ्क्रमण सर्न थालेको छ । यस्ता क्षेत्रमा कसरी काम गर्ने र कसरी सतर्कता अपाउने भन्ने रणनीति तय गर्न जरुरी छ । सहयोगका तथा सेवाकाम नाममा नै असुरक्षित ढङ्गले भौतिक उपस्थिति जनाउँदा यस्ता समस्या देखिएका हुन् । क्वारअन्टिन व्यवस्थापन, सुरक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिहरुले पूणर् रुपमा सुरक्षा अपनाउन जरुरी छ । यसको लागि जिल्ला तहबाट कार्यविधि बनाएर सीमित व्यक्तिबाट काम गराउने योजना तय गर्दा जोखिमबाट बच्न र बचाउन सकिन्छ ।

बजार व्यवस्थापन जरुरी, कोरोना इपिसेन्टर बन्ने खतरामा बजार
अहिले दाङका बजार निकै जोखिम र असुरक्षित बन्दै जान थालेका छन् । लकडाउनको मोडालिटीसँगै पसलहरु खुलेका छन् । खुलेका पसलहरु कति जोखिममुक्त छन् भनेर त्यसको प्रभावकारी अनुगमन भएको पाइदैन । सरकारले व्यवसायीलाई राजश्व बुझाउन ताकेता गरेपछि सञ्चालनमा आएका उद्योग व्यवसायहरु कोरोनाको इपिसेन्टर बन्ने खतरा देखिन्छ । सरकारले गर्ने निणर्यको बाटो कुरेर त्यसैलाई कार्यान्वयन गर्ने मनसायमा हामी रह्यौँ भने यसले खतरा ननिम्ताउला भन्न सकिदैन । जिल्ला तह, तथा स्थानीय तहमा मोडालिटी तयार पारे अगाडि बढ्न आवश्यक भइसकेको छ । बैंकले ग्राहकलाई ताकेता गर्न थालेपछि व्यवसाय सञ्चालनमा आउन थालेका हुन् । सरकारले गर्ने निणर्यलाई कुर्नु भन्दा आवश्यकताको सिद्धान्तका आधारमा जिल्ला तहमा एक प्रकारको नीति बनाएर जिल्ला सुरक्षित राख्नतर्फ लाग्न जरुरी भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्