रुसी सरकारी टीभी स्टेशन ह्याक गरेको अनोनिमसको दाबी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

रुसी सरकारी टीभी स्टेशन ह्याक गरेको अनोनिमसको दाबी

    मा प्रकाशित

रुसी सरकारी टीभी स्टेशन ह्याक गरेको अनोनिमसको दाबी

ह्याकरहरूको समूह अनोनिमसले रुसी सरकारी टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको छ।

ट्विटरमा लेख्दै उक्त समूहले रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको दाबी गरेको छ।

बीबीसीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

अर्को पोस्टमा उक्त समूहले अहिलेसम्मकै सबैभन्दा ठूलो “अनोनिमस अभियान” सञ्चालन गरिएको दाबी गरेको छ। तर केही राष्ट्रका सरकारहरूले आफ्नो कामलाई जोखिम ठानेर बदनाम गर्न “फल्स फ्ल्याग” अभियान सञ्चालन गर्न सक्ने चिन्ता उसले व्यक्त गरेको छ।

“धेरै शक्तिको ध्यान हामीतिर आकर्षित हुँदा हामीलाई सम्झनुहोस्, किनभने त्यो भएरै छोड्छ,” अनोनिमसले भनेको छ।

“हामी विश्वलाई राम्राका लागि परिवर्तन गर्न सक्छौँ। त्यो नै सधैँको योजना हो।”

Social embed from twitter

दक्षिण कोरियाद्वारा रुसको केन्द्रीय ब्याङ्कसँग कारोबार बन्द

दक्षिण कोरिया

दक्षिण कोरियाले रुसको केन्द्रीय ब्याङ्कसँग कारोबार बन्द गर्ने घोषणा गरेको छ।

युक्रेनमा आक्रमण गर्ने रुसी कदमविरुद्ध कडा कारबाही गर्ने पश्चिमा देशहरूको निर्णयलाई साथ दिँदै दक्षिण कोरियाली विदेशमन्त्रीले उक्त घोषणा गरेका हुन्।

यसअघि संयुक्त राज्य अमेरिकाले रुसी केन्द्रीय ब्याङ्क, अर्थ मन्त्रालय र रुसी सरकारको लगानी भएका कोषहरूसँग कारोबार बन्द गरेको थियो।

युरोपेली सङ्घ ईयूले पनि रुसविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ।

गैरसैनिक नागरिकलाई अन्यत्र जान दिन ‘युद्धविराम’

युक्रेनका विभिन्न सहरबाट मानिसहरूलाई बाहिर जान सजिलो बनाइदिन सोमवार रुसले बाटो खोलिदिन लागेको विवरण रुसी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ।

रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको छ।

यद्पि युक्रेनी अधिकारीहरूले यसको पुष्टि गर्न बाँकी छ।

सप्ताहान्तमा देशको दक्षिणपूर्वी सहर मारिऊपोलबाट मानिसहरूलाई बाहिर जान दिन बाटो खोल्ने दुईवटा प्रयास असफल भएका थिए।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि उक्त सहरमा गोलाबारी कायम राखेको थियो।

युद्धविरोधी प्रवचन दिने पादरी रुसमा पक्राउ

रुसमा आइतवार युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको विवरण अभियानकर्मीहरूले दिएका छन्।

ती पादरीलाई आज अदालतमा पेस गरिने बताइएको छ।

बीबीसी रुसीका संवाददाता आन्द्रे जाखारोभका अनुसार पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो।

युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए।

Social embed from twitter

सशस्त्र सैन्य बल प्रयोगको बदनाम गरेको आरोप प्रहरीले उनलाई लगाएको छ। गत साता रुसको संसद्ले त्यसो गर्नुलाई अपराध मानेको छ।

युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि सरकारले रुसमा विरोध प्रदर्शन दमन गरिरहेको छ। तथापि विभिन्न सहरमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन्।

आइतवार मात्र ४,६०० जनासहित अहिलेसम्म १३,००० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको स्थानीय गैरसरकारी संस्थाका ट्र्याकरहरूले जनाएका छन्।

आन्द्रेको अर्को ट्वीटले कसरी युद्धविरोधी सन्देशलाई सेन्सर गरिएको छ भनेर देखाउँछः रुसी अधिकारीहरू भुइँमा कोरिएको ‘नो वार’ लेखिएको सन्देश मेट्न बरफमा रङ्ग पोत्दै।

‘मिकोलाइभमा पुन: रुसी गोलाबारी’

युक्रेनको दक्षिणी तटीय सहर मिकोलाइभमा रुसले पुन: गोलाबारी सुरु गरेको खबर आएको छ।

स्थानीय अधिकारीहरूले उक्त विवरणबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

तर स्थानीय “न्यूज-एन” समाचारसंस्थाले स्थानीय समयानुसार बिहान ५ बजेदेखि गोलाबारी सुरु भएको जनाएको छ।

न्यूयोर्क टाइम्सका एक संवाददाताले पोस्ट गरेको भिडिओ फुटेजमा पनि रातको समयमा आकाशमा विस्फोटन भएको देखिन्छ।

उनले ट्वीट गर्दै गोलाबारी सहरको पूर्वी क्षेत्रमा केन्द्रित भएको जनाएका छन्।

युक्रेनी फौजले झन्डै पाँच लाख जनसङ्ख्या भएको उक्त सहरलाई रुसी आक्रमणबाट पुनः नियन्त्रणमा लिएको एक दिनपछि फेरि त्यहाँ रुसी फौजले आक्रमण गरेको खबर आएको हो।

Social embed from twitter

तेलको म‍ूल्य १३ वर्षमा सबैभन्दा बढी

तेल खानी

संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ।

एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो।

एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ।

पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

‘रुसले सिरियाली भाडाका लडाकु भर्ती गर्दै’

भाडाका लडाकु

मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ।

युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।

तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।

युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन्।

किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने रुसको तयारी : युक्रेन

युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्।

युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जमा गर्न थालेको छ।

त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ।

सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।

सेना

रुसमा पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या १३ हजार नाघ्यो

प्रदर्शन

रुसभरि युद्धविरोधी प्रदर्शनहरू जारी रहँदा पक्राउ पर्ने मानिसहरूको सङ्ख्या पनि बढ्दो छ।

रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ।

रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ।

हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध रुस, बेलारुस र अन्यत्र पनि दिनहुँ प्रदर्शन गर्न आह्वान गरेका छन्।

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै

रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहँदा मानवीय सङ्कट गहिरिँदै छ।

फसेका मानिसहरू हातमुख जोड्न नसक्ने वा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजेकै केही सर्वसाधारण रुसी गोलाबारीमा मारिएका विवरणबीच ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या बढ्दै गएको छ।

रुसी फौज फसेका छन्- यूके

युक्रेन

यूकेका रक्षा अधिकारीहरूले गत ४८ घण्टामा रुसी फौजले न्यून सफलता हासिल गरेकोमा उनीहरू विश्वस्त रहेको बताएका छन्।

उनीहरूका भनाइमा रुसी सैनिकहरू कडा युक्रेनी प्रतिरोध र कमजोर बन्दोबस्ती आपूर्तिबीच फस्न पुगेका छन्।

रक्षा मन्त्रालयले प्रकाशित गर्ने दैनिक गुप्तचर प्रतिवेदनमा अधिकारीहरूले भनेका छन्, “रुसले आजसम्म आफ्नो योजनाबद्ध उद्देश्यहरू हासिल गरेको छ भन्ने अत्यन्तै असम्भव छ।”

तर उक्त प्रतिवेदनमा गत २४ घण्टामा युक्रेनी क्षेत्रमा व्यापक मात्रामा रुसी हवाई हमला र गोलाबारी जारी रहेको जनाइएको छ।

त्यस्ता हमला सैन्य र सर्वसाधारण नागरिक दुवै लक्षित देखिएको यूकेको भनाइ छ।

युद्धका कारण तेलको मूल्यमा व्यापक वृद्धि

कच्चा तेल

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ।

विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ।

युक्रेनमा जारी लडाइँ तत्काल रोकिने कुनै सम्भावना नदेखिएको पृष्ठभूमिमा धातुका साथै गहुँ, मकै लगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ।बिबिसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्