‘सामाजिक मान्यताले कविता लेखाउँछ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘सामाजिक मान्यताले कविता लेखाउँछ’

    मा प्रकाशित

No photo description available.दाङका नवीन अभिलाषी  कविता र आख्यानमा बरोबर कलम चलाउँछन् । ‘इश्वरको अस्थिपन्जर’ (कविता सङ्ग्रह) र छएकात्म’ (संयुक्त कविता सङ्ग्रह) प्रकाशित भइसकेको अभिलाषीको नयाँ कविताकृति ‘मौलामा बाँधिएको राँगो’ प्रकाशित भएको छ ।

प्रस्तुत छ,  राजु झल्लु प्रसादले तयार पारेका समग्री

‘जो म पहिला थिएँ, अब त्यो रहिन’ फेसबुकमा बायो लेख्नुभएको रहेछ । ‘रहिन’मा चन्द्रबिन्दु हुन्छ क्यारे (रहिनँ) । कविता लेखिरहँदा शिरबिन्दु/चन्द्रबिन्दुहरू कत्तिको छुट्छन् नवीन सर ? या समकालीन नवीन धारका कविताहरूले छुटाइरहेका शिरबिन्दु/चन्द्रबिन्दुहरू केके हुन् ? छोड्नुस्, ‘तपाई के हुनुहुन्थ्यो, जो अहिले हुनुहुन्न ?’ यो प्रश्न पनि छोडेर तपाईंले मलाई प्रश्न गर्ने छुट पनि छ, लौ गर्नुहोस् । हाहा..

तपाईंलाई म प्रश्न गर्दिनँ, किनकि मलाई प्रश्न गर्न माइक, क्यामरा र लाइटहरूको झकिझकाउ उज्यालो चाहिन्छ । खुसीको कुरा म अहिले आफ्नै गोठ जस्तो कोठामा छु । यो मासिक भाँडाको गोठ हो । बाध्यता यो छ कि गोबर चैँ म शौचालयमै विसर्जन गर्छु ।

तर यो भन्दा मलाई चरम दुःख छ, कि मैले जीवनमा झल्लुहरूसँग कहिल्यै सङ्गत गरिनँ । विडम्बना आज तपाईँलाई सामना गर्छु, त्यो कुनै दिन तपाईँलाई गर्ने प्रश्नहरू पनि छन् ।

बाल्यकालमा म बच्चा थिएँ, त्यो पनि असल र अनुशासित । नेपाली समाजमा यी शब्दको बुझाइ कस्तो छ भन्ने कुराले म हिजो कस्तो थिएँ, त्यो लम्बेतान भन्नु/लेख्नुपरेन ।

यो लेखक/पत्रकार र कवि/साहित्यकार हुने नाममा मान्छे हुन छुट्दो रहेछ । बरु म कवि हुन्न, तर अमान्छे हुन्न । म कवि हुनुमा भन्दा कविता नै भएर बाँच्न चाहन्छु, त्यसको लागि हिम्मत चाहिन्छ । त्यो धेरै कविसँग हुँदैन ।

जहाँसम्म छुट्ने कुराहरू छन् नि, ल भन्नुस् नछुटेको संसारमा के छ ?
त्यो दिन आमाको पाठेघर छुट्यो, नौ महिना छुट्यो, आमाको योनी छुट्यो, पहिलो रुवाई छुट्यो, माटोसँगको पहिलो स्पर्श छुट्यो । ल, अब थप्दै जानुस् के के छुट्यो ? शिरविन्दु/चन्द्रविन्दु मात्र हैन, शब्दहरू छुट्छन्, वाक्यहरू छुट्छन्, हरफ र पाठहरू छुट्छन्/छुट्दै जान्छन् । एकदिन किताब छुट्छ । संसार छुट्छ । जब पातहरू छुट्दै जान्छन्, वसन्त पलाउँदै जान्छ, कस्तो राम्रो !

तर कवितामा मानिस छुटेको चैँ नराम्रो यार । मानिसले बाँचेको समय र समाज छुटेको कविता कस्तो कुरूप, कस्तो बीभत्स । आमाको कवितामा शिशु छोरीको अनुहार छुट्यो भने के हुन्छ ? यस्तो हुन्छ कि ट्रिगर थिच्दा नालबाट छुटेको गोली जस्तो हुन्छ ।

‘ईश्वरको अस्थिपञ्जर’ले ‘मौलामा बाँधिएको राँगो’लाई कसरी हेरिरहेको छ ? या ‘मौलामा बाँधिएको राँगो’ ‘ईश्वरको अस्थिर पञ्जर’लाई हेलाहितो पो गरिरहेको छ ? चियागफमा ‘प्रकाशित कविहरू’ भनिरहने गर्दछन्, ‘पहिलो किताब छाप्न बडो हतार गरिएछ, जलाउन पाए पनि हुने ।’ तपाईँसँग चिया गफ हुन् नपाएकाले यो प्रश्न ‘मौलामा बाँधिनै’ पाएको छैन है ।

एउटा अविवाहित कवि छ विष्णु सन्न्यास नामको । एउटा प्रेमीकाको शोकमा एक हजार प्रति फोटोग्राफ झोलुङ्गे पुलबाट खोलामा बगाएर उसले उत्सव मनायो । तर उसले आधा दर्जन गजल र कविताको किताब कहाँ लुकायो ? राष्ट्रिय अनुसन्धानको ब्युरोले पनि पत्ता लगाउन नसक्ने भइगयो ।

तर, उसलाई दुःखको कुरा यो छ कि सन्न्यासका केही किताबका प्रति म सँग अझै सुरक्षित छन् । सुनाई दिनुहोला ।

‘ईश्वरको अस्थिपञ्जर’ अहिले चिहानको सामुन्ने छ, ठिक अघि । तर मुर्दा भइसकेको छैन । विश्वास गर्नुस् कि त्यो किताबको रगत अझै पनि तातो छ र बग्ने हिम्मत गर्न सक्छ । गरिबिको मसीले पवित्र पानाहरूमा लेखेको किताब हो त्यो, जुन जुन कविता पढेर मानिसहरू मलाई कवि भन्ठान्ने हिम्मत गरे, भ्रम सँगाले, ती सबै कविता त्यही ईश्वरको अस्थिपञ्जरमा कैद छन् ।

May be an image of text

अबोध मुर्छनामा लेखिएका कविताहरू कुनै फगत राँगोको अगाडि हेपिनु पर्दैन । तर्क लगाएर लेखिएका कविताले छलछाम गर्छन्, निकृष्ट राजनीति गर्छन्, जो कविताकै लागि, राजनीतिकै लागि खतरनाक हुन्छन् । त्यस्तो कविताको आगो शीतलहरमा शान्त मानिसको घरबाट भागेर सम्भ्रान्त होटेलको बाविक्यूमा सल्किन्छ, भने हजुरबाको सुल्पाबाट भागेर हुक्काबारको मिन्ट फ्लेवर माथिको कोइलामा सल्किन्छ, के अर्थ छ ?

देवकोटाले भने भनेनन् थाहा छैन, तर बजारले भन्छ, ‘मुनामदन बाहेक सबै कृति जलाइदिए पनि हुन्छ ।’
तर म भन्छु, संसारबाट आगो निभ्न लाग्यो र मानिसहरू चिसा हुन थाले भने मेरा सबै किताबहरू जलाए हुन्छ । किनकि मानिसको मृत्युपछि कविताको पनि मृत्यु हुन्छ । कविता मानिसका लागि हो, यो संसारमा कविता लेख्ने भनेको मानिसले मात्र हो, जगतका अरू प्राणी त कवितै बाँचिरहेका छन् ।

‘छिटपुट लेखन, साथीभाइ भेटघाट र घुमफिर ।’ यति कुराले कविता लेखाउँछ ? साँच्ची कविता के कुराले लेखाउँछ ? लेखाएपछि मात्रै कविता लेखिन्छ ? एउटा भन्थ्यो, ‘कविता लेख्नुपर्छ । तर, जबरजस्ती गरिनुहुन्न ।’ तमाम पुरस्कार एजेन्सी र प्रकाशन गृहहरू जबरजस्ती गरिरहेका छन् क्यार । तपाईँ पुरस्कृत हुनुभएको छैन भने यो प्रश्न बेफ्वाँकमा गयो । छोड्नुस्, आफूले बाँचेको ‘समय सौन्दर्य’लाई लिपिबद्ध जाँगर कहाँदेखि बटुल्नुभयो ?

मेरो कार्यालयले मलाई कवि मान्दैन । मान्नु किन पर्‍यो र ? चिन्दैन भनूँ ।
चिन्ने केही स्टाफले पनि यो कार्यालयको काम मेरो कविता लेखनकै सानो अंश हो भन्ने जान्दैनन् । तर मेरो मम्मीले टेलिभिजनको स्क्रिन हेरेर छेरो ठिक रहेछ भन्ने खबर जान्नु हुन्छ । त्यति मात्र हैन, उहाँलाई छोराको काम कविता नै लेख्ने हो भन्ने थाहा छ ।

नत्र बाह्र वर्षको कमाइमा छोराले किनेका चार हजार किताबमा धमिरा लाग्न नदिएर किन हेरचाह गर्नुहुन्थ्यो र ।

एक दिन मलाई झोक चल्यो र एउटा कविता लेखेर प्रेमीकालाई ब्रेक अप दिएँ । (तपाईँलाई मात्र सुटुक्क भन्दा ब्रेक अप चैँ उसैले दिएको हो ) त्यति भाग्यमानी केटीले त्यो कविता टिकटकमा राखेकी रहिछ । मेरो आँखामा आँसु आयो ।

एक दिन सुसाइड नोट लेखुम न त भन्ने लाग्यो । लेखेँ, दुर्भाग्यवश मलाई त्यही सुसाइड नोटको माया लागेर आयो । त्यसका वाक्यहरू भाँच्दै जाँदा त कविता पो बन्यो । त्यो कविता आउँदै गरेको किताब ‘मौलामा बाँधिएको राँगो’मा ससम्मान राखेको छु । पढ्नु होला ।

मलाई पहिलो पटक कम्युनिस्ट मेनिफेस्टो पढाउने, कार्ल मार्क्स बारे बताउने एक माओवादी नेता अहिले खोलामा राती राती एक्स्काभेटर चलाउँछन् । मैले युद्धमा मानिसहरू मरेको देखेको छु, भोगेको छु, त्यसको दुखान्त समयको साक्षी छु ।

राजनीति शास्त्रमा डिग्री गरेको एउटा विद्यार्थी कम्युनिस्ट (नेता ?) साथीले अस्ति भर्खरै जनै त मेरो पहिचान हो भन्यो । मैले पनि हो त नि भनिदिएँ, होला त नि भन्ने पनि लागि हाल्यो । तर म रातै भरी हाँसे ।

यस्तो भयो भने म कविता लेख्छु ।
कविता लेखाउने भनेको समाजका मान्यताहरूले हो । तपाईँले के खानु हुन्छ, के सोच्नु हुन्छ, सेक्स कसरी गर्नु हुन्छ, त्यो सामाजिक मान्यताले निर्धारण गर्छ, के ? होइन, कसरी ? यस्ता कैयौँ जटिल मान्यतासँग हामी पटक पटक जुध्नुपर्छ, अल्झिनुपर्छ, त्यसले कविता निर्माण गर्छ ।

हामी अभ्यस्त बनेका मान्यताहरूको बर्खिलापको कुरुक्षेत्रमा नभए एक्काइसौँ शताब्दीको लडाइँमा कसले तरबार चलाउने ?
कविता भनेको विचारको फूल हो, त्यो जति कलात्मक हुन्छ, त्यसको सुगन्धित सौन्दर्यले तान्नुपर्छ । म जोरजवरजस्तीमा विश्वास राख्न मन पराउँछु । तर जबरजस्तीको नाममा राजनीतिक दलको चुनावी घोषणापत्रलाई कविता हो भन्न चैँ मन पराउँदैन ।

कोहलपुरको तरकारी बजार नजिकैको एक क्याफेमा तीन कप चियासँगै तपाईँले आकाशमुखीको अन्तिम पेज पढ्नुभएछ । मकालु पेट्रोल पम्पसँगै खुलेको ‘लेकबेसी फास्ट फुड’मा एक कप कफी र एक कप दूध चियासँगै मैले पनि आकाशमुखी पढेँ । नवीनजी, हामीले ‘आकाशमुखी’ किन पढेका हौंला ? ‘आकाशमुखी’ले हाम्लाई पनि पढ्यो होला है ? हामी किन पढिरहेका छौँ ? हामी किन ‘पढिइरहेका’ छौँ ? ए, साँच्ची, तपाईँले त्यो क्याफेको नाम किन नभनेको ? सहरमा आजभोलि मलाई मनपर्ने अर्को कुरा, क्याफेका नामहरू पनि हुन् है ।..हेहे

कोहलपुरमा गुराँस क्याफे छ, त्यहाँ गुराँस जस्तै एउटा बहिनी (?) छ ।
मेरो हातमा किताब देखिन भने सोध्छे, ‘खै त आज किताब ?’ मास्क भित्र उसका ओठहरू मुस्काउँछन्, तर देखिँदैनन्, आँखाहरू हाँसेको मात्र देखिन्छन् ।

कोहलपुरमा क्याफेहरूको कमी छैन र यसरी हाँस्ने आँखाहरूको पनि ।
किनकि यी क्याफेमा किताब लिएर पस्ने र लगातार ४÷५ घण्टा पढेर फर्किने कुनै हेन्सम केटाहरू छैनन् यो सहरमा । हा हा हा…. मलाई क्याफेहरू मन पर्छ, कुनै नयाँ सहरमा गएँ भने पनि मैले त्यहाँ क्याफे खोज्छु । जहाँ किताबसँग आधा दिन बिताउन सकियोस् ।

अँ साँच्ची ।
तपाईँलाई लाग्दो रहेछ, हामीले पढिरहेका छौँ, पढिइरहेका छौँ । तर मलाई पढाइएको जस्तो लाग्छ । हिजो मलाई के पढ्न मन थियो ? कसले सोध्यो ? तपाईँलाई कखरा नै पढ्न मन थियो ? तर तपाईँलाई त्यही पढाइयो । हिजो आमा र स्कुलले जे पढ्न बाध्य पारे, आज बजारले बाध्य पार्छ प्रकाशकले बाध्य पार्छ । हिजो फगत अक्षर चिन्न बाध्य पार्ने स्कुलहरू थिए तर आज विचार, दर्शन र धर्म सिकाउने किताबहरू छन् । हामीलाई आकाशमुखी, चन्द्रमुखी, सूर्यमुखी किताबहरू पढाइन्छ ।

आकाशमुखी किताबले बजार भन्दा पर बसेर पढ्नुपर्छ भन्ने सिकाउँछ । तीन सय वर्ष पहिले लेखिएका निबन्धहरू आज हामीले पढिरहेका छौँ । जरुर मित्र यस्ता किताबले हामीलाई पनि पढ्छ ।

छोड्नुस् यो कुरा, क्याफेको कुरा गर्दा मलाई पल्पसा क्याफेको कुरा याद आयो । त्यो हेर्नुपर्छ । किनकि यो नाटक हो । १० वर्ष चलेको ।

अब अरू सोध्नुस् ।

मान्छेका नवीन अभिलाषाहरू केके छन् हाउ ? अघि भर्खरै मलाई एउटा शेर फुरेको थियो । सुनाउँछु । ‘के आवश्यक छ ? किन आवश्यक छ ? यत्ति हो आवश्यकता आवश्यक छ ।’ तपाईँको आवश्यकता के हुन् ? साहित्यिक आवश्यकताका कुरा गरौँ, बाँकी त मलाई के खाँचो नि होइन ? तर, मान्छेको सुदूर भविष्य कस्तो देख्नुहुन्छ ? हाम्रा अभिलाषाहरू साह्रै प्राचीन त छैनन् ? अहम्, शोक, दुःख त प्राचीनतम अभिलाषाहरू हुन् क्यार । लासको पनि गोत्र खोज्ने मान्छेहरूलाई केही भन्नु छ र ?

पहिले एउटा चिनिया लोककथा सुनाउँछु म तपाईँलाई ।
लाओत्सेले एक दिन सपना देखे । सपनामा आफू पुतली भएर उडेको, सुन्दर सुन्दर बाग बगैँचामा पुगेर रङ्गिन फूलहरूसँग रमाएको । स्वर्ग जस्तो संसारको मगमगाउँदो वासनामा हराउँदा कस्लाई मन पर्दैन र ? प्रचुर आनन्द लिएर बिहान लाओत्से व्यूझिए ।

त्यो बिहान उनले चिन्तन गरे । के यो मान्छेको जीवन भनेको पनि कुनै एउटा पुतलीले देखेको सपना त हैन ?
ओ माई गड । हत्तेरी ।

यो कविता, यो अन्तर्वार्ता । तपाई, म, यो दुनियाँ । कुनै एउटा पुतली वा कुनै छेपारो वा सर्प वा कमिलाले देखेको सपना त हैन ? फेरी व्यूझिएर कमिलाकै जीवन बाँच्नु पर्‍यो भने ?

यो अलि आध्यात्मिक दर्शनको कुरा भो, अलि भौतिकवादी कुरा गरौँ ।
मानव सभ्यताको समयक्रमले निर्माण गरेको अहिलेसम्मकै उन्नत उपलब्धि के हो ? स्वतन्त्रता ? यो एउटा गज्जबको विषय छ, संसारमा सबै भन्दा थोरैको सङ्ख्यामा, सबै भन्दा पछि विकसित भएको मानव जातिले स्वतन्त्रताका लागि मानवसँगै लड्यो, प्रकृतिसँग लड्यो, समयका हरफ हरफसँग जुध्यो, तर स्वतन्त्र कहिल्यै बन्न सकेन ।

तपाईँले भनेको प्राचीन दुःखहरू यी सदाबहार दुःखहरू हुन् । बुद्धले संसारमा दुःख छ भनेछन् । हामी दुखबाट भाग्न सक्दैनौँ, व्यवस्थापन मात्र गर्न सक्छौँ । मानिसबाहेक संसारका कुनै पनि प्राणीलाई दुःख छैन ।

भोजनबाट सुरु भएको मानिसको दुःख अस्तित्वमा पो आइपुगेको छ । ‘मौलामा बाँधिएको राँगो’ त्यही मानिस दुखाउने व्यवस्थाको मृत्युको नियोजित परिकल्पना हो । लासको पनि गोत्र खोज्ने मानिसले यो किताब खोजेर पढुन् ।

अरे यार तपाईँले साहित्यिक आवश्यकताका कुरा गर्दै हुनुहुन्थ्यो । तर यसो गरुम तपाईँलाई भर्खरै फुरेको शेर सुनाउनुस् म साहित्यिक आवश्यकताको उत्तर खोज्दै गर्छु ।

एउटा सिल्ली कुरा सोध्छु । तपाईँका कविताहरूले कहिलेकाहीँ तपाईँलाई सोधेका छन्, ‘अभिलाषी तँ को होस् ?’ तपाईँ के उत्तर दिँदै हुनुहुन्छ ? कि तपाईँको कुनै प्रतिप्रश्न रहन्छ ?

मेरा कविताहरू स्वयं नै मेरो बारे गरिएका तमाम प्रश्नहरूको जवाफ दिन्छन् । त्यसको लागि तपाईँले ‘मौलामा बाँधिएको राँगो’ मौन मौन पढ्नुपर्ने हुन्छ, त्यहाँ तपाईँको कथा छ, तपाईँको आमाको आँखा छ, प्रेमीकाको स्पर्श र बाको चप्पल भेट्नु हुन्छ ।

देशको माटो कति विभेदकारी छ, तपाईँको धर्म कति अछुतकारी छ, यहाँको राजनीतिक मान्यता कति घृणित छ र तपाईँको घर कति दमनकारी छ भन्ने कुरा कविताले नै बोल्छन् ।

कहिलेकाहीँ देशका ठुला भनिएको राष्ट्रिय मिडियाको नजर नपरेको बेला मेरा कविताहरूले सोध्छन् नै । ‘त को होस् ?’ म भन्छु, पिउनेहरूको भिडमा म नपिउने तर, टेबलको छेउमै बसी सितन खाएर बिल बढाउने कवि हुँ । कसैलाई भ्रम नहोस् कि म सदाबहार कविताकै नशामा लिन छु, कविता बाँचिरहेको छु । जुन नशाका लागि मानिसहरू मदिरा पिउँछन्, त्यो नशा हरदम मसँगै हुन्छ ।

अँ त्यो शेरको कुरा गर्दै हुनुहुन्थ्यो नि ।

बशीर बद्रको एउटा शेर छ क्या सर । ‘मैँ चुप रहा तो और गलत फहमियाँ बढ़ीं, वो भी सुना है उसने जो मैँ ने कहा नहीं ।’ तपाईँले आफ्नैबारे अरूबाट सुनेको तारिफ या गाली ? या साहित्यिक गल्लीहरूमा हिँडिरहँदाको कुनै स्मरणयोग्य घटना ?

काठमाडौंमा एउटा कवि थियो, जो मेरो मृत्युको परिकल्पना गरी बस्थ्यो । तर म सधैँ उसको आयु थपियोस् भन्ने कोरा कल्पना गर्दथेँ । किनकि जीवनमा त्यस्ता मानिसहरूले पाइला पाइलामा ऐनाको काम गरिदिन्छन् ।

समयले वा कुनै मानिसले टप्प टिपेर यहाँ राखेको मानिस म पक्कै होइन । यसबिचमा ठेस लागेका ढुङ्गा र बिझेका काँडाहरूको हिसाब गर्न पनि मन लागेन । लेखनमा निषेधको राजनीति छ, त्यो सबै भन्दा कुरूप लाग्छ । त्यसो गर्नेहरू सबै भन्दा कमजोर लाग्छ मलाई । जो कमजोर छ, त्यो बढी चिच्याउँछ ।

कसैको प्रशंसा, तारिफ र कसैको दुत्कार्ने शैलीले मलाई खास फरक पार्दैन । तर कडा भन्दा कडा आलोचना आत्मसात् गर्ने हिम्मत गर्छु ।

तारिफको कुरा त के गर्नु र ?
बरु एउटा दुःख दिन्छु । कवि सङ्गीत श्रोताको जीवन शीर्षकको कविता छ त्यो पढ्नु भयो भने तपाईँले यो प्रश्नले उत्तर पाउनु हुन्छ ।

नेपाली कविताले विकासक्रममा कडा–कडा सेन्सरसिप पनि झेल्यो, राणा या राजाबाट या कुनै दलीय सरकारबाट । फेरी आजभोलि ‘पोलीटिकल करेक्टनेस’को कुरा चलिरहेको छ, ‘पुनर्विचार’ कुरा चलिरहेको छ । यी कुराहरूलाई सेन्सरसिप भन्न मिल्ने कि नमिल्ने भन्ने कुरा पनि होला तर, मलाई सोध्न मन लागेको– जातीय, लैङ्गिक, धार्मिक बिम्बहरू उठान, विस्तार या प्रयोग तपाईँ कसरी गर्नुहुन्छ ?

हिजोको इतिहास, साहित्य वा लेखन परम्परा अपूर्ण छ, अपुरो मात्र है, विभेदकारी पनि छ । त्यसैले हिजोको इतिहास, साहित्य खतरनाक हुँदा हुँदै बढो सचेततापूर्वक पढ्नुपर्ने हुन्छ । पढ्नु त पर्‍यो । विजयको इतिहास र पराजयको कथा बनाउने राणा राजाहरूले लेखनमा नेपाली समाजको सत्य चित्रण गर्न दिएनन् । इतिहास पढेर सत्य मान्न नसकिने कस्तो हास्यास्पद विषय ? बाह्र वर्ष विद्यालयको इतिहास पढेर सकिए पछि मात्र थाहा हुन्छ, यो इतिहास, इतिहास नभएर तत्कालीन राजा महाराजको हनुमान चालिसा हो भनेर । कस्तो दुर्भाग्य ।

हिजो राणा, राजाले चुसेको नेपाली समाज अहिले दलाल नोकर शाही पुँजीपति वर्गले चोक्टा चोक्टा निकालिरहेको छ । नेपाली समाजको चित्र निक्कै कुरूप छ । दुख्यो सम्म भन्न नपाउने । जातीय, लैङ्गिक, धार्मिक, भौगोलिक उत्पीडनमा परेका मानिसहरूले रुनसम्म नपाउने व्यवस्थामा थियौँ हिजो ।

आज रगतको किनारै किनार हिँडेर ल्याएको यो व्यवस्थाले रुन त दिएको छ, तर भाषा चैँ हाम्रो हुनुपर्छ भनेर बाध्य पार्छ । गिट्टी कुट्दा चोट लागेर निस्किएको रगत मैले भने अनुसारकै रङ्गको हुनुपर्छ भन्छ, किनकि सत्ता रातो रङ्गसँग त्रसित छ । यो समयको सबै भन्दा उन्नत व्यवस्थाको सरकार एउटा झन्डा, एउटा आवाज, एउटा मुट्ठी र एउटा कविता र गीतसँग डराउँछ । किन ?

यसको कारण जो जो त्रसित छन्, उनीहरूले हिजो कतै न कतै गलत नियतले काम गरेका थिए ।

तुलनात्मक रूपमा मेरो नियोजित लेखन छैन । बजारमा प्रगतिशील भनिनका लागि कनिकुथेर क्रान्तिका शब्दहरू राखेर कविता लेख्नेमा म पर्दैन । तर म आफ्नो विचार दृष्टिकोण निक्कै सचेततापूर्वक व्यक्त गर्दछु । आजभोलि मिथकलाई भाँचेर कविता बताउन प्रचलन छ । म त्यति सम्म गर्न सक्दैन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्