बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी, विवाह लगायतका सांस्कृतिक सामाजिक कार्यमा १५ जनाभन्दा बढी भेला हुन नपाउने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी, विवाह लगायतका सांस्कृतिक सामाजिक कार्यमा १५ जनाभन्दा बढी भेला हुन नपाउने

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।
मुलुकमा कोरोना सङ्क्रमणले बाक्लो रुप लिइरहँदा सरकारले पनि बन्दाबन्दीलाई व्यवस्थित गर्नका लागि मापदण्ड तय गर्दै गएको छ । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न निर्देशन दिएको छ ।

सरकारले जारी गरेको मापदण्डमा तोकिएको सेवा प्रदायक संस्थाहरू व्यवसायीहरुले आफ्ना निकायबाट सेवा प्रवाह गर्दा सेवा प्रदायक र सेवाग्राहीबीचको २ मिटरको सामाजिक दूरी कायम गर्ने ÷ गराउने र सम्भव भएसम्म सामानहरूको स्यानिटाइज गर्ने उल्लेख छ । आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्ने,गराउने र तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिहरूले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, स्यानिटाइजर साथमा राख्ने, बन्दाबन्दीलाई व्यवस्थित गर्ने मापदण्डमा भनिएको छ, । त्यसैगरी मापदण्डमा मालसमान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार नगर्ने र नगराउने पनि उल्लेख गरिएको छ ।

विवाह,ब्रतवन्ध मृत्यु संस्कार, चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नै पर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ । साथै यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ । साथै राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने पनि मापदण्डमा उल्लेख छ ।

उद्योग कलकारखाना,भौतिक पूर्वाधार,विकास निर्माण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरू जम्मा हुन नपाउने व्यवस्था गर्न समेत गृह मन्त्रालयले मापदण्डमा निर्देशन गरेको छ ।त्यस्तै सेवा प्रदायक संस्थाहरूले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने भनिएको छ भने कार्यालय प्रवेश विन्दुमा अनिवार्य रूपमा ज्वरो नाप्ने, स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान सरकारले बनाएको छ।

कार्यालयमा सबैले अनिवार्य मास्क लगाउनैपर्ने, कर्मचारीहरूबीच दुई मिटरको दूरी कायम हुनुपर्ने, एउटै कोठामा धेरै कर्मचारी बस्नपर्ने भएमा निश्चित दूरी कायम गर्नुपर्ने नियम सरकारले बनाएको छ।

भीडभाड नगरी सम्बन्धित व्यक्तिमात्र आवश्यक कागजात लिएर कार्यालयमा सेवा लिन जाने र अनिवार्य रूपमा मास्क लगाउनपर्ने समेत प्रावधान सरकारले राखेको छ।

कार्यालय परिसरमा सेवाग्राही जाँदा २ मिटरको भौतिक दूरी कायम राख्नैपर्ने र आफ्नो काम सम्पन्न हुने बित्तिकै कार्यालय बाहिर निस्कने र अनावश्यक भीडभाड नगर्न समेत भनिएको छ ।
सरकारले जारी गरेको मापदण्ड सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्