नगरवासीकाे विश्वास गुमाउने छैन : नगर प्रमुख चाैधरी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नगरवासीकाे विश्वास गुमाउने छैन : नगर प्रमुख चाैधरी

    मा प्रकाशित

दाङ – नेपाली कांग्रेसका पुराना नेता तथा भद्र र शालीन व्यक्तित्व जोगराज चौधरी वैशाख ३० गतेको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै दाङको लमही नगरपालिकाका प्रमुख बनेका छन । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका उम्मेदवार बसन्तराज शर्मालाई भारि मतको मतान्तरले पराजित गरेका हुन । भर्खरै लमही नगरपालिकाको प्रमुखमा निर्वाचित बनेका चौधरीसंग प्रिया स्मृति गजमेरले   गरेकाे कुराकानी प्रस्तुत गरिएको छ ।

१- सर्बप्रथम यहाँलाई स्वागत छ, चुनाव जित्नु भएकोमा ।
धन्यवाद, म नगरबासी प्रती आभारी छु, यति धेरै माया ममता अनि जिम्मेवारी प्रदान गर्नु हुने लमही नगरबासी दाजु भाइ दिदिबहिनीहरुमा हृदय देखि नै सम्मान ब्यक्त गर्न चाहान्छु ।

२- तपाईंलाई जनताले चुनाब जिताए अब तपाईं जनतालाई के दिनु हुन्छ ?
जनताले मलाई भोट दिएर नगरको अभिभावकत्व प्रदान गर्नु भएको छ । म त्यो कुराको सदैब ऋणी हुनेछु । मैले चुनाबमा होमिने बेलै जनतालाई आश्वस्त पारेको छु । हाम्रो नगरपालिका कृषिका लागि उर्बर भुमी हो, यहाँका ९० प्रतिशत मानिस कृषि पेशामा आबद्ध छन । उनिहरुलाई समयमै मल, समयमै बीउ बिजन दिने, अनुदानका लागि उत्प्रेरित गर्ने जस्ता काम मुख्य हुनेछ्न भनेर । जनताले मलाई भोट दिनु भएको छ म त्यसको बदलामा सेवा दिने छु।

३- घाेषणापत्रमा भएका बिषयलाई अब कसरी कार्यान्वयन गर्नुहुन्छ ?
घोषणापत्रमा उल्लेख गरेका बिषयलाई मैले गम्भीरतापूर्वक लिएको छु । मेरो पाँच वर्षको कार्यकालमा अधुरा आयोजनाका काम सके सम्म पूरा गर्ने प्रतिबद्धता पनि गर्दछु । ती बिषयलाई विभिन्न खण्डमा वर्गीकरण गरि नगरबासीलाई सेवा प्रदान गर्ने वचन दिन्छु । खासगरी लमही नगरपालिकालाई सुन्दर सफा र स्वच्छ बनाउनमा मेरो प्रयास हुनेछ । नगर भित्रका अधुरा सडक बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । नगरबासीको राय सल्लाह लिएर मात्र अगाडी बढ्ने छु ।

४- नगरका सबै वडाहरुमा अत्यावश्यक सेवाहरु पुगेका छैनन भन्ने जनगुनासो छ नि यो बारे कत्तिको जानकार हुनुहुन्छ ?
हो, यो कुरा वास्तविक हो। यहाँले भने जस्तै स्थानीय तहमा जनप्रतिनिधि आइसके पछि जनताले पूर्णरुपमा विकासको अनुभूति गर्न पाएका छैनन । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनका बेला म नगरका सबै वडाका बिभिन्न बस्तिहरुमा पुगेको छु । सबै जनताले यो भएन त्यो भएन भनेर गुनासो गर्नु भएको छ । त्यो बेला हामी चुनाबी माहोलमा थियौं । चुनाब जित्नकै लागि भएपनि हुन्छ भन्नु बाहेक अरु कुनै विकल्प थिएन तर अब चुनाब जितेका छौं, ति समस्यालाई गहन तरिकाले केलाएर समस्याको समाधान गर्ने तिर मेरो ध्यान जाने छ । कतै बत्ति पुगेको छैन, कतै बाटो पुग्नै बाँकी छ । प्राय बस्तीमा शुद्द पिउने पानीको चरम अभाव छ । ति बस्तीका नागरिकलाई छिटो भन्दा छिटो पिउने पानीको व्यवस्था गर्ने छु।

५ – अन्त्यमा जनताले समग्र नगरपालिकाको विकासका लागि नेतृत्व सुम्पेका छन के भन्नु हुन्छ ?
मलाई मेरा नगरबासी जनताले नगरपालिका राम्रो बनाउनुस भनेर ५ वर्षको समय दिनु भएको छ । म प्रति मेरा नगरबासीले गरेको अटुट माया, दरिलो विश्वासलाई आत्मसाथ गर्दै दिनरात खटिएर काम गर्ने छु । म एक्लैले गरेर पनि हुने त केहि हैन । यो नगरपालिकाको चौतर्फी विकास गर्नका लागि सबैको साथ र सहयोग उत्तिक्कै आवश्यक छ । मैले यो नगरपालिका, यहाँका जनताका पक्षमा काम गर्दा गर्दै बाटो बिराउन लाग्दा खबरदारी पनि गर्दिनु हुनेछ भन्ने विश्वास लिएको छु । तपाई मिडियाहरुले पनि गलत कामको भण्डाफोर गरेर सही बाटोमा लिनु पर्छ । यदि जोगराज चौधरीले कहिकतै गल्ति गर्यो भनेर कसैले भनेको दिननै मैले नगर प्रमुखको पदबाट राजिनामा दिएर जनताको माझबाट बिदा हुनेछु । र अन्त्यमा मलाई माया गरेर विश्वास गरेर नगरपालिकाको प्रमुख पदमा निर्वाचित गराउनु हुने सम्पूर्ण मतदाता ज्युहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्