पश्चिम दाङमा कांग्रेसको यु–टर्न – Kanika Khabar
Friday, March 29Nepali News Portal

पश्चिम दाङमा कांग्रेसको यु–टर्न

    मा प्रकाशित

खेमराज रिजाल
तुलसीपुर, ५ जेठ । नेपाली कांग्रेसले पश्चिम दाङ अर्थात संघीय निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो पकड स्थापित गरेको छ । अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा आफूले गुमाएका दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा पुनः विजय हासिल गरेपछि पश्चिम दाङ पुरै नेपाली कांग्रेको पकडमा छ ।

तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । सम्भवतः तुलसीपुर उपमहानगरपालिकामा पनि कांग्रेसले गुमाएको हैसियत फर्काउनेमा विश्वस्त छ । गठवन्धनका कारण नभएर कांग्रेस एक्लै लड्दा पनि ती पालिकाहरुमा आफ्नो वर्चश्व स्थापित गर्न नेपाली कांग्रेस सफल भएको छ । यसले नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीलाई राजनीतिक रुपमा युटर्नका लागि सहज बनेको छ ।

दंगीशरण गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका काका शम्भु गिरी, शान्तिनगरमा नेता गिरीका विश्वास पात्रहरु प्रमोद बस्नेत र बबई गाउँपालिकामा कुलबहादुर केसीको जितले कांग्रेस नेता दीपक गिरी थप बलिया बनेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतमा पर्ने तुलसीपुर पश्चिमका तीन पालिकाहरु एकसाथ बिजय हासिल गरेर कांग्रेसले जितको झण्डा फहराउँदा मंगलबार दीपक गिरीलाई जितपछिको खुसियालीमा निकालिएको ¥यालीमा पुग्न भ्याइँ–नभ्याइँ भयो । गिरीकै भाषामा जनताले यो निर्वाचनमा कांग्रेसलाई न्याय दिएका छन् । कांग्रेसको विकासप्रेमीलाई मतदान प्रक्रियाबाट अनुमोदन गरेका छन् ।

पश्चिम क्षेत्रमा सबै ‘क्लन स्वीप’ भएपछि नेता गिरी बिहानै पश्चिम दाङतर्फ लागेर तीनै पालिकाको बिजय उत्सवमा पालै पालो सहभागी बनेका थिए । ‘पश्चिम दाङका जनताले नेपाली कांग्रेसको विकासप्रतिको चाहना र कार्यशैलीलाई मतदान गरेरै अनुमोदन गरिदिनुभएको छ, मैले यस क्षेत्रका सबै मतदातालाई आत्मैदेखि विशेष धन्यवाद दिन चाहन्छु, र निरन्तर साथ सहयोगको अपेक्षा गर्दछु’, कांग्रेस केन्द्रीय सदस्य गिरीले पश्चिम दाङको एउटा पालिकामा आयोजित विजय सभालाई सम्बोधन गर्दै भनेका छन् । यसपटक न्यायप्रेमी जनताले आफूहरुलाई न्याय गरेको उनको अनुभूति थियो ।

कम्युनिष्टले बिगतमा नहुने सपना बाँडेर जनतालाई झुक्याएको हुँदा फेरि न्यायप्रेमी जनताले कांग्रेस रोजेको पनि उनको अभिव्यक्ति थियो । यस पटक गेहेन्द्र गिरी पुनः मेयरको उम्मेदवार बन्नु नै कांग्रेस एकताको एउटा कडीका रुपमा लिइएको थियो । अघिल्लोपटक जस्तो कांग्रेस जन बिभक्त भएर हैन एकढिक्का भएर निर्वाचन फेस गरेको थियो । यद्यपि कहिँकतै केही वडामा भने अझै केही तिक्तता देखिएको छ ।

कांग्रेस नेताहरुले ती वडाहरुका तिक्ततालाई पनि व्यवस्थापन गर्दै जाने उद्घोष गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको मजबुत संगठन र प्रभाव क्षेत्र भएको हुँदा पनि यस पटक पश्चिम दाङ क्लीन स्वीप भएको धेरै कांग्रेसीको मत छ । मंगलबार प्राप्त मत परिणाम अनुसार कांग्रेसले यसअघि नेकपा एमालेले जितेका बबई र दंगीशरण गाउँपालिकामा पनि जितेर पश्चिम दाङ क्लीन स्वीप गरेको हो ।

बबई गाउँपालिकामा अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । केसी गिरीका विश्वास पात्र हुन भने खड्का अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकट मानिन्छन् । त्यस्तै दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित गिरी नाताले दीपक गिरीका काका हुन् । उपाध्यक्षमा निर्वाचित खड्का भने गेहेन्द्र गिरी निकट मानिन्छन् । जो–जोसँग निकट मानिए पनि अन्ततः कांग्रेसमा यो निर्वाचनमा घातअन्तर्घातको अधिकतम व्यवस्थापन भएको बताइएको छ । दंगीशरण कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको पुख्र्यौली गाउँ हो । पूर्वमन्त्री समेत रहेका नेता गिरी त्यहीका मतदाता हुन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले बिगतको जस्तै जितको छविलाई जोगाउन सफल भएको छ । मंगलबार प्राप्त मत परिणामअनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका ३९ बर्षीय प्रमोद बस्नेत बिजयी भएका छन् । बस्नेत गिरीका विश्वासपात्रमध्येका एक हुन् । उनी २०७४ सालको निर्वाचन ताका मात्रै राप्रपा परित्याग गरी कांग्रेसमा पार्टी प्रबेश गरेका थिए । उनी छोटो समयमै नेता गिरीकै कारण चर्चित बनेका हुन् । उनलाई क्षेत्रीय उपसभापतिको समेत जिम्मेवारी कांग्रेस क्षेत्रीय समितिले दिएको थियो ।  पश्चिम दाङ अर्थात निर्वाचन क्षेत्र नं. ३ को सिँगै परिणाम यी तीनवटै पालिकाले निर्धारण गर्छन् । यी पालिकाबाहेक तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८, १९ वडा बाहेकका सबै वडा यही निर्वाचन क्षेत्रमा पर्छन् । तुलसीपुर उपमहानगरपालिकाको मतगणना परिणाम आउन बाँकी छ, यद्यपि पश्चिम दाङमा कांग्रेस बलियो भएको अग्रज कांग्रेस नेताहरुको अभिव्यक्ति छ । कांग्रेसको यो शाखलाई जोगाइराख्न अझै थप अभ्यस्त बन्नुपर्ने पनि नेता कार्यकर्ताहरुको सुझाव रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्