राजनीति थालेका दुई स्वास्थ्यकर्मी, अधिकृतको जागिर छोडेर पालिका उपाध्यक्ष – Kanika Khabar
Friday, March 29Nepali News Portal

राजनीति थालेका दुई स्वास्थ्यकर्मी, अधिकृतको जागिर छोडेर पालिका उपाध्यक्ष

    मा प्रकाशित

जीतसागर जी.एम.
दाङ, ७ जेठ ।
राजनीति पनि समाज सेवा हो । तर केही राजनीतिज्ञका कारण राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । राजनीतिप्रतिको वितृष्णा बढिरहेको समयमा दाङमा केही व्यक्ति भने सरकारी जागिर छोडेर राजनीतिलाई अंगालेका छन् ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भारी मतका साथ उनीहरू निर्वाचितसमेत भएका छन् । दाङको बंगलाचुली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका भक्तबहादुर जिसी पालिकाकै स्थास्थ्य शाखा प्रमुख थिए । स्वास्थ्य क्षेत्रका कर्मचारी भएका जिसीले अधिकृतको जागिर छोडेर राजनीतिमा लागेका छन् । नीति कार्यान्वयन तहमा रहेका जिसी अहिले आफै नीति निर्माण तहमा पुगेका छन् ।

यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रकाश विष्ट पनि स्वास्थ्यकर्मी र सामाजिक व्यक्तित्व हुन् । तर अहिले जनप्रतिनिधिको रूपमा निर्वाचित भएका छन् । सडक मानवको उद्धार तथा पालनपोषणमा निरन्तर लागेका विष्ट अहिले आफै स्थानीय सरकार प्रमुखको रूपमा पुगेका छन् । स्वास्थ्य क्षेत्रबाट जनप्रतिनिधिमा पुगेका दुवैजनाले आफ्नो ठाउँलाई सुन्दर र समृद्ध बनाउने योजना अघि सारेका छन् ।

को हुन् भक्तबहादुर जिसी

जिसी बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । ५ हजार ९४५ मतका साथ गठबन्धनमा नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित जिसी अब भने सबैका साझा व्यक्ति बनेका छन् । जिसी यसअघि स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । अधिकृत छैठौँस्तरका जिसी अहिले राजनीतिमा प्रवेश गरेका छन् ।

राजनीतिबाट कमाउनका लागि आएका होइनन् उनी । राजनीतिबाट नागरिकका साझा समस्यालाई समाधान गर्नका लागि राजनीतिक क्षेत्रमा आएको उनी बताउँछन् । विस २०३३ साल कार्तिक १७ गते साविकको लुहारपानी–१ हालको बंगलाचुली–६ रिभानमा जन्मिएका जिसी सरकारी सेवामा २२ वर्ष ५ महिना बिताएका छन् ।

विस २०५६ साल मंसिर १ गतेबाट स्वास्थ्य सेवाबाट सरकारी सेवामा प्रवेश गरेका जिसीलाई पछिल्लो समय स्वास्थ्यमा देखिएका समस्यालाई निराकरण गर्नका लागि आफै जनप्रतिनिधि बनेका छन् । ‘कर्मचारी हुँदा म नीति कार्यान्वयन तहमा थिए’ उनले भने– ‘अब नीति बनाउने तहमा पुगेको छु, सबैको साथ र सहयोगले अब पक्कै पनि स्वास्थ्य क्षेत्रलगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्नेछु ।’

बंगलाचुली गाउँपालिकामा भर्खरै सञ्चालनमा आएको सामुदायिक अस्पतालको सेवालाई स्तरबृद्धि गर्नेदेखि लिएर गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य केन्द्रको सेवालाई फराकिलो बनाउने उनको योजना छ । ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी गुणस्तरिय सेवा दिने योजना बनाएको छु’ उनले भने– ‘लामो समय स्वास्थ्य क्षेत्रमा रहेर सरकारी सेवामा काम गर्दा धेरै अनुभव संगालेको छु ।’

स्वास्थ्य सेवामात्र नभई गाउँपालिकाबाट सुख सुविधाका लागि बसाइँ सर्नेहरूलाई रोक्ने उनको योजना छ । उनले युवालाई गाउँकै माटोमा आत्मनिर्भरताको बाटोमा लैजाने योजना बनाएका छन् । ‘रोजगारी होस्, या सुख सुविधाको लागि जिल्लामै एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्ने क्रम बढेको छ’ उनले भने– ‘यसलाई रोक्नका लागि अब गाउँपालिकाले आत्मनिर्भरतामुखी योजना ल्याएर अघि बढ्छ ।’ सबैको साझा प्रयासले मात्रै गाउँको समृद्धि हुने उनको धारणा छ ।

प्रकाश विष्ट

विष्ट राप्ती गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुन् । बैशाख ३० गते सम्पन्न निर्वाचनमा ६ हजार ८९८ मतका अध्यक्षमा निर्वाचित विष्ट यसअघि पनि सामाजिक सेवामा थिए । पेशाले स्वास्थ्यकर्मी विष्ट पछिल्लो समय सडक अश्रित मानवको उद्धार तथा सेवामा थिए । सामाजिक सेवामा लागेका विष्ट पछिल्लो समय राजनीतिमा पनि उदाएका छन् ।

उनलाई जनमत पनि राम्रै मिलेको छ । राजनीतिलाई पनि सेवाको रूपमा लिएर गाउँपालिकाको समग्र विकास गर्ने सोच बोकेर राजनीतिमा लागेको उनको भनाइ छ ।

‘म राजनीतिलाई पेशा बनाउनका लागि होइन्, मैले सेवाको दायरालाई बढाउनका लागि गाउँपालिकाको जनप्रतिनिधिको रूपमा आएको छु’ उनले भने–‘समाजमा देखिएका विभिन्न समस्यालाई निराकरण गरी समृद्ध समाज निर्माण गर्ने योजना छ ।’ विस २०३८ साल फागुन १ गते प्यूठानको दाखाक्वाडीमा जन्मिएर २०४८ सालतिर दाङमा बसाइँ सरेका विष्ट स्वास्थ्यकर्मी हुन् ।

उनले करिब २० वर्षदेखि पोलिक्लिनिक सञ्चालन गरिरहेका छन् । २०५७ सालदेखि निरन्तर स्वास्थ्य सेवामा लागेका विष्ट पछिल्लो तीन वर्षयता सडक मानवहरूको उद्धार तथा पालनपोषणमा लागिरहेको निलसागर सेवा आश्रमका दाङ संयोजक पनि हुन् । समाजमा सेवाको दायरालाई बढाउनका लागि राजनीतिमा लाग्नुपरेको उनले बताए ।

‘राज्यको निकायमा आफू नपुग्दासम्म परिवर्तन सम्भव छैन् भन्ने लाग्यो र अहिले म राजनीतिमा होमिएको छ’ उनले भने– ‘म कुनै पार्टीको टिकटबाट राजनीतिमा आएपनि म अहिले सबैको साझा व्यक्ति बनेको छु, सोहि अनुसार म निष्पक्ष ढंगले समाजमा परिवर्तन हुने गरी काम गर्छु ।’ उनले अब लगत्तै स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन ल्याउने योजना बनाएका छन् ।

सिसहनिया र भालुवाङमा रहेका सामुदायिक स्वास्थ्य संस्थालाई स्तरवृद्धि गरेर २४सैँ घण्टा स्वास्थ्य सेवा सहजरूपमा दिने उनले बताए । ‘दुई स्वास्थ्य संस्थाको सेवा स्तरवृद्धि गछौँ’ उनले भने– ‘स्वास्थ्य बिना अरू विकासको परिकल्पना गर्न सकिदैन् ।

यस्तै माविसम्म पाउनुपर्ने निशुल्क शिक्षालाई पनि पूर्णतः कार्यान्वयनमा ल्याउने उनको योजना छ । ‘माविसम्मको शिक्षालाई निशुल्क बनाउने योजना छ’ उनले भने– ‘शिक्षाको सुधारसँगै अन्य आवश्यक विकास निर्माणमा पनि मेरो ध्यान पुग्नेछ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्