अलमलमा फसेको राजनीति – Kanika Khabar
Friday, March 29Nepali News Portal

अलमलमा फसेको राजनीति

    मा प्रकाशित

विनोद पोख्रेल
२०७७ फागुन २० गते
कतिपल्ट भनेको पनि छु । लेखाईले म आफैलाई पनि उत्तिकै सन्तुष्टि दिँदैनन् । विषयको स्तरीयता र विश्लेषण क्षमतामा सायद सन्तुष्टि भर पर्छ । योबारे व्याख्या लामो हुनसक्छ । तर पनि लेखेपछि पाइने एक प्रकारको आत्मसन्तोष भनेजस्तो लेखे पनि पाइन्छ । बिरामी भएर केही निको भएपछि म नियमित त भएकै यही लेखाईमै त हो । जस दिनबाट सुरु गरेँ, त्यस दिनबाट लेखिरहेको छु ।

अब त नुहाउने काममा पनि पहिलेजस्तै नियमित बन्दै गएको छ । तर यसमा अझै आत्मविश्वास बनिसकेको छैन । लेख्ने काममा त अब सक्छु भन्ने आत्मविश्वास जागेको छ । सुस्त–सुस्त नै सही सबै कुरामा आत्मविश्वास बढ्छ भन्नेमा पनि आशावादी छु । यताउता हिँड्ने कुरा हुँदैन, त्यसले पनि नियमिततालाई धान्न सजिलो नै छ । कहिलेकाहीँ सामान्य चिन्ताका विषयहरु आउँछन् । आज एकाएक सुलोचनालाई काठमाडौँ पठाउनुप¥यो ।

उपचार त यही पनि भइरहेकै थियो तर काठमाडौँ अलि चाँडो गए अलि सजिलो होला जस्तो सबैलाई लाग्यो र पठाएको हो । यति सबै जान्दा जान्दै पनि उसले आफूले रोजेको डाक्टरसँग भेटेर उपचार जारी नगर्दासम्म के हुने हो वा के भएको हो भन्ने लागिरहन्छ । यो मानवीय स्वाभाविकता हो । यस्तो स्थितिले् कहिले अलि धेरै र कहिले अलि कम चिन्तामा पु¥याउँछ । यता हामी जसरी तसरी अझै खाना बनाएर खान सक्ने छौँ । तर पनि कुक्कु यही छ । अरु एउटा रमाइलो पक्ष अहिले हामी दुई जना र त्यही एउटा छोरो मात्रै छौँ ।

१२ जनाको परिवारमा तीनजना मात्र । तर पनि एक्लो जस्तो लागेको छैन । छोराहरु घरमा भए अलग आत्मबल बढ्ने हुन्छ सायद । रमाइलो बुहारीहरु नाति–नातिनीहरु सबैले गराउँछन् । सहयोग मात्रै होइन कामै गर्न नपर्ने गराउने बुहारीहरुले नै हो । छोराहरु अलि ठग नै हुन्छन् । नढाँटेर भन्ने हो भने म पनि यही समूहमा पर्छु । काम मभन्दा मेरी श्रीमतीले नै बढी गर्छिन् । छोराहरुभन्दा बुहारीहरुले नै गर्छन् । तर आत्मबल भन्ने पक्ष अलि अलग हो ।

बुहारीहरु सबै गर्दा गर्दै पनि उनीहरु आफैलाई पनि हाम्रा छोराहरु नभएका स्थितिमा आफैमाथि शंका लाग्छ । म एक्लैले के गरुला भन्ने सोच्छन् । यही सोचाईले उनीहरुलाई कमजोर बनाउँछ कि ? सुलोचनाको समस्या पनि यही हो कि जस्तो पनि लाग्छ । समस्याले जस्तो भए पनि यसको उचित र दीर्घरुपमै समाधान होस् भन्ने इच्छा हो । फेरि व्यक्तिको विकल्पले काम नगर्ने, एकजना नभए अर्को छ भनेर मात्रै चित्त बुझाउन नसकिने ।

विक्रम भएर आत्मबल त बढेको छ तर पनि सुलोचना काठमाडौँ नपुग्दैबाट स्वस्थ भएर चाँडो घर फर्कियोस् भन्ने चाहना छ । त्यो पनि भन्न नसक्ने । मनमा कति कुरा राख्नु । धेरै कुरा मनमा हुनु तनावको कारण हुनसक्छ । डायरीमा मात्रै यसरी अभिव्यक्त गर्न सक्ने हो भने पनि त्यसको केही निदान हुन्छ होला । सबै कामले नै टाढा छन् । त्यो पनि थाहा छ । तर नजिक भए हुन्थ्योजस्तो लागिरहन्छ ।

२०७७ फागुन २१ गते

आज कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । पर्सी २३ गतेबाट बस्ने संसदमा कसरी पेश हुने भन्ने नीति आजको बैठकले बनाउनुपर्ने हो । त्यसपछि पनि नेतृत्व तहमा समन्वय निर्माण गरेर एकताको आवाज संसदमा पेश गर्नुपर्ने हो । तर सत्तालिप्सा भनेको अचम्मको कुरो भयो । जिम्मेवारी बहन गर्न परे आफू तयार रहेको भन्ने अभिव्यक्तिले म झस्केको छु । नेकपा फुटे पनि कांग्रेस तेस्रो ठूलो दल हुने हो ।

यस्तो स्थितिमा समेत संगठनको चिन्ता नगरेर सत्ताको हतारो देख्दा अचम्म लागेको छ । अर्को कुरा यो भाषा केन्द्रीय समितिको निर्णय र संसदीय दलको पनि निर्णयपछि आएको भए पनि केही सहानुभूति हुन्थ्यो कि ? तर आमसभामा भाषण गर्दा नै्र यस्ता कुरा भन्नु भनेको प्रधानमन्त्री बन्ने हतारो नै हो । केही मन्त्री हुने विश्वास भएकाहरुले यस्ता कुराको तुरुन्तै समर्थन पनि गर्लान् । तर यही लेखले राजनीति विचारहीन बन्न पुगेको, लक्ष्यहीन र अस्थिर बन्न पुगेको कुराको हेक्का कहिले हुने होला भन्ने लाग्छ ।

देशलाई सधै अस्थिर बनाउन लादिएको सोचहरु जाति, क्षेत्र आदि भौगोलिकरुपमा कमजोर बनाउन गरिएका प्रयासहरु संघीयता र अस्थिरताको मूल जरोको रुपमा संविधानमा नै लिखित केही अधिकारहरु र निर्वाचन प्रणालीलाई सच्याउनतर्फ नलागेर कुर्सी मात्रैमा सोच सीमित गर्नेहरुले समस्या प्रायः देख्दैनन् । देखे पनि न त त्यसको जिम्मेवारी लिन चाहन्छन्, न त यसको समाधान खोज्नतर्फ नै लाग्छन् । दुई तिहाईको सरकार नटिकेको स्थितिमा गठबन्धन गरेर बनेको सरकार कति समय टिक्ला यसबारे सोच्नु जरुरी छ ।

तर यही कुरोलाई बेवास्ता गरिन्छ । किनभने सत्ता भएपछि जे पनि हुन्छ वा जे पनि गर्न सकिन्छ भन्ने सोच बनेकाहरु नेतृत्वमा छन् । पार्टीका महाधिवेशनसमेत गराउन नसक्ने भातृ संस्थाहरुलाई अस्तित्वहीन भएको देख्दासमेत वास्ता नगर्ने र व्यक्तिको नाममा संगठन बढाउने प्रवृत्ति बढिरहेको यो परिवेशमा कमी कमजोरीहरुलाई सच्याउँदै जाने सोचको स्थान नै नहुने रहेछ । यो त राजनीति नभएर लुटखसोट को प्रतिस्पर्धाजस्तो मात्रै भएको छ ।

परिदृश्य प्रष्ट नहुँदै पाए तयार छु भन्नेले के गर्ने हुन् त्यो न भन्न सकेनन् । अब फेरि चौथो वा पाँचौ कति पटक हो प्रधानमन्त्री भएर गर्ने के हो ? कमसेकम यति त प्रष्ट हुनुपथ्र्यो । त्यसबाहेक यस्ता निर्णयको आफ्नो पार्टीभित्र कस्तो प्रभाव पर्ने हो त्यसमा कति विचार पु¥याइएको छ, थाहा भएन । कतै यस्तै निर्णयहरु फेरि पार्टी विभाजनको कारण नबनून भन्ने अपेक्षा हो । हुन त कांग्रेसको अस्तित्व नै संकटमा पर्ने गरी अधिवेशनलाई सारिएको छ ।

अधिवेशनले एउटा निश्चित नेतृत्व दिएर केही कुराको समाधान गर्न सक्छ तर त्यो गर्नको लागि पनि कांग्रेस पार्टीलाई व्यक्तिभन्दा बढी महत्व दिन त जरुरी छ । यस्तो नगर्ने हो भने २०१७ सालमा एकजना तुलसी गिरी थिए भने अहिले धेरै तुलसी गिरी हुनसक्छन् । यसतर्फ संवेदनशील हुन जरुरी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्