आधारभूत तहसम्म निःशुल्क, कृतिम तालमा तारबार – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आधारभूत तहसम्म निःशुल्क, कृतिम तालमा तारबार

    मा प्रकाशित

दाङ, ११ जेठ । बर्षातको मौसम चलिरहँदा घोराही उपमहानगरपालिकामा नगर प्रमुख पदमा विजयी भएका नरुलाल चौधरी अलिक गम्भीर देखिएका छन् । आफ्नो दोस्रो कार्यकालको जिम्मेवारी पाएका नरुलाललाई मुख्यतः स्थानीय तहमा दुईवटा चुनौती छन् ।

आफ्नो नेतृत्वमा बनाएका कृतिम तालहरुमा तारबार र आयआर्जनको पक्षमा लैजाने र दोस्रो चुनौती भनेको नेपालको संविधानले दिएको आधारभूत तहसम्मको शिक्षा निःशुल्क । यिनै दुई चुनौतीलाई सामना गर्ने उनको पहिलो प्राथमिकता हुने छ ।

‘हामी यो र त्यो बहानामा सामुदायिक विद्यालयमा शुल्क लिनुहुन्न र सामुदायिक विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न हुन्न भन्नेमा निकै संवेदनशील छौं’, गोरक्षसँगको कुराकानीमा नगर प्रमुख चौधरीले भने– ‘आउँदो शैक्षिक सत्रदेखि सायद हाम्रो पालिकाका सामुदायिक विद्यालयहरुले अभिभावकबाट जवर्जस्त शुल्क लिने छैनन् । त्यसका लागि स्थानीय सरकारले विद्यालयमा शिक्षक राख्नका लागि निश्चित अनुदान दिने तयारी गरिरहेको पनि चौधरीले बताए ।

कुनै पनि विद्यालयले निजी स्रोतमा शिक्षक राखेको उल्लेख गर्दै अभिभावकबाट शुल्क उठाउन नपाउने व्यवस्थाका लागि आफूहरुको आन्तरिक इक्सरसाइज सुरु भैसकेको पनि उनले बताएका छन् । ‘विद्यार्थीहरुलाई मार पर्नेगरी कुनै पनि विद्यालयहरु मर्ज हुने छैनन्, तर शिक्षक दरबन्दी मिलान विद्यार्थी संख्याका आधारमा गर्न हामी प्रतिबद्ध छौं’, नगर प्रमुख चौधरीले भने– ‘अब राजनीतिक दलका कार्यकर्तालाई भर्ना गर्न सामुदायिक विद्यालयहरु बाध्य हुने छैनन् ।

जहाँ विद्यार्थी त्यही शिक्षकको अवधारणाका आधारमा उपमहानगरपालिकाको शिक्षा महाशाखाले स्पष्ट खाका तयार गर्ने पनि नगर प्रमुख चौधरीको अभिव्यक्ति थियो । निजी विद्यालयको विकल्पका रुपमा सामुदायिक विद्यालयलाई स्थापित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै नवनिर्वाचित नगर प्रमुख चौधरीले शिक्षा शाखालाई थप क्रियाशील र जागरुक बनाउने अभिव्यक्ति दिए ।

पोखरीमा तारबार

त्यसैगरी घोराही उपमहानगरपालिकाको गौरवका रुपमा कृतिम पानी पोखरीलाई हेरिएको छ । जैविक विविधताको संरक्षण, बर्षातको पानीको सञ्चिती तथा वातावरणको सकारात्मक सन्देशका लागि कृतिम ताल निर्माणमा घोराही उपमहानगरपालिका अग्रस्थानमा छ । आफ्नै स्रोतदेखि बृहत दाङ सिँचाइ आयोजनासँगको सहकार्यले पनि घोराही उपमहानगरपालिकामा कम्तीमा दर्जनभन्दा बढी कृतिम तालतलैयाहरु निर्माण भएका छन् ।

तर कृतिम तालको आवश्यक तारबार र संरक्षण नहुँदा विगतको दुइ बर्षमा कम्तीमा आधा दर्जन बढीले पौडी खैल्दै गरेको अवस्थामा ज्यान गुमाएका छन् । अघिल्लो बर्ष घोराहीको गुलरियामा पौडी खेल्दै गएका एकजना युवालाई डुबेको कम्तीमा ७२ घण्टाजति मात्रै शव भेटाइएको थियो भने अन्य तालहरुमा पनि धमाधम नागरिकहरुले डुबेर ज्यान गुमाइरहेका छन् ।

‘कृतिम ताल काल बन्नुहुन्न भन्नेमा हामी निकै गम्भीर एवं संवेदनशील छौं, त्यसका लागि उपयुक्त तारबारको व्यवस्थापनमा हामीहरु कटिबद्ध भएर अघि बढ्ने छौं’, कार्यभार सम्हालिसकेपछि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने । पानी पोखरीलाई भौगोलिक वातावरणको संरक्षणसँगै सिँचाइको काममा पनि उपयोग गर्न उपमहानगरपालिका सधै उत्प्रेरणाको स्रोत बन्ने पनि उनको अभिव्यक्ति थियो ।

नगर प्रमुख चौधरीले आगामी कार्यपालिकाको बैठकमा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा तथा अव्यवस्थित तालतलैयालाई तारबार गरी सुरक्षित बनाउनेमा पनि बहस हुने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्