मतगणना अन्तिम चरणमाः एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मतगणना अन्तिम चरणमाः एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

    मा प्रकाशित

बालकृष्ण अधिकारी                                                          जेठ ११, काठमाडौं ।                                                          वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ।

झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ।

अघिल्लोपटक काठमाडौं, पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ। यसपटक मधेस प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमालेले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ। कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ। दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन। एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ। भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म १ सय २१ स्थानीय तहको प्रमुख जितेको छ। दुई दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौं उपत्यकामा भने निकै कमजोर देखिएको छ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ। पोखरा महानगरपालिकामा ऊ जितको नजिक छ। उसले अहिलेसम्म जम्मा १९ स्थानीय तहको प्रमुख जितेको छ।

मधेसको शक्तिकारूपमा उदाएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा पहाडमा पनि उक्लिएको छ। उसले वीरगन्ज महानगरपालिकासहित ३० स्थानीय तहको प्रमुख जितेको छ। एक स्थानीय तहको प्रमुखमा उसले अग्रता लिएको छ। तर अघिल्लोपटक जितेका जनकपुर उपमहानगरपालिकासहितका केही स्थानीय तह यसपटक उसले गुमाएको छ।

केही समयअघि जनता समाजवादी पार्टीबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी यसपटक स्थानीय तह निर्वाचनमा कमजोर बन्न पुगेको छ। उसले १६ स्थानीय तहको प्रमुख जितेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुरसहित चार स्थानीय तहको प्रमुख जित्दै संगठन सुदृढ गरेको संकेत दिएको छ। राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख जितेको छ। नागरिक उन्मुक्ति, जनमतसहितका पार्टी स्थानीय तहको निर्वाचनबाट अनुमोदन भएका छन्।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका र स्वतन्त्रले धरान उपमहानगरपालिकासहित दर्जन स्थानीय तहको प्रमुख जितेका छन्। काठमाडौं महानगरपालिकामा राजनीतिक दलबाट मैदानमा खडा भएका उम्मेदवारलाई पछि पार्दै वालेन्द्र साह प्रमुखमा निर्वाचित हुने निश्चित देखिएको छ।

महिला प्रतिनिधित्व बढ्यो

स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्व वृद्धि भएको छ। अघिल्लो निर्वाचनमाभन्दा यसपटक महिलाहरूको उम्मेदवारी कम परेको अवस्थामा प्रतिनिधित्वमा समेत ह्रास आउने अड्कल गरिएको थियो। तर प्राप्त निर्वाचन परिणामले महिलाहरूको प्रतिनिधित्व वृद्धि भएको छ। ७ सय २१ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा प्रमुख, उपप्रमुखसहित स्थानीय तहमा महिला प्रतिनिधित्व विगतमाभन्दा बढी देखिएको छ।

निर्वाचन आयोगका अनुसार २३ स्थानीय तहको प्रमुखमा महिला निर्वाचित भएका छन्। भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन्। योसँगै दुई दर्जन स्थानीय तहको नेतृत्व अब महिलाले गर्नेछन्। कांग्रेसबाट आठ, एमालेबाट १०, माओवादी केन्द्रबाट चार महिला पालिका प्रमुखमा निर्वाचित भएका छन्।

त्यस्तै ५ सय ४९ स्थानीय तहको उपप्रमुखमा महिला निर्वाचित भएका छन्। काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलसहित थप १५ महिला उम्मेदवार उपप्रमुखमा जितको नजिक छन्। उपप्रमुखमा कांग्रेसबाट २ सय २४ र एमालेबाट २ सय ४ जना महिला निर्वाचित भएका छन्।

केही स्थानमा मतगणना जारी रहेकाले एमालेबाट उपप्रमुखमा थप दस महिला निर्वाचित हुने देखिएको छ। माओवादी केन्द्रबाट ६३ महिला उपपप्रमुखमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट २६ महिला उपप्रमुखमा निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीबाट १० जना महिला उपप्रमुख निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी ६६ सय २१ वडाको मतगणना सकिँदा ६९ महिला वडाध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसबाट २५, एमालेबाट २२, माओवादी केन्द्रबाट १२ महिला वडाध्यक्ष भएका छन्। महिला सदस्यमा ६६ सय २० र महिला दलित सदस्यमा ६५ सय २ जना निर्वाचित भइसकेका छन् ।

१३ हजार २ सय४५ खुला सदस्यतर्फ ४ सय ३६ महिला निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा सात प्रमुख, २ सय ७६ उपप्रमुखसहित विभिन्न पदमा गरी १४ हजार ३ सय ८ महिला निर्वाचित भएका थिए।

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा ५८ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एकजना पनि महिला निर्वाचित हुन सकेका थिएनन्। त्यसबेला ५ सय २१ वडामध्ये पाँचवटा वडाको अध्यक्षमा मात्र महिला निर्वाचित भएका थिए। यो संख्या २०५४ सालमा आइपुग्दा घटेर तीनमा सीमित भएको थियो। तर वडा सदस्यमा महिला सहभागितालाई सुनिश्चित गर्दा ८ सय ६ महिलाको प्रतिनिधित्व भयो, जहाँ कुल वडा सदस्यको संख्या ४ हजार १ सय ४६ थियो। त्यस्तै २०४९ को निर्वाचनमा ३ हजार ९ सय ९३ गाविसमध्ये महिलाले सात अध्यक्ष र १५ उपाध्यक्ष जितेका थिए।

त्यसबेला ३५ हजार ८ सय ८३ गाविस सदस्यमध्ये १ सय ९० महिला निर्वाचित भएका थिए। २०५४ सालको निर्वाचनमा महिलाले २० अध्यक्ष र १७ उपाध्यक्ष जितेका थिए। त्यसबेला ५० हजार ८ सय ५७ गाविस सदस्यमध्ये ३ हजार ९ सय १३ जना महिला निर्वाचित भएका थिए। त्यस निर्वाचनमा २ सय ४० वडाध्यक्ष र ३५ हजार २ सय ८ सदस्यमा महिला निर्वाचित भएका थिए।

२१–३० उमेर समूहबाट महिला धेरै निर्वाचित

स्थानीय तह निर्वाचन, २०७९ को हालसम्म घोषित परिणामअनुसार २१ देखि ३० वर्ष उमेर समूहबाट उम्मेदवार भएकामध्ये महिला बढी निर्वाचित भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ३३ सय ८० जनप्रतिनिधि यो उमेर समूहबाट निर्वाचित भएका छन्।

त्यसमध्ये १४ सय पुरुष निर्वाचित हुँदा १९ सय ८० जना महिला छन्। जसमा कांग्रेसबाट ७ सय ९२ महिलासहित १३ सय ४२ जना, एमालेबाट ६ सय ६८ महिलासहित ११ सय २४ जना निर्वाचित भएका छन्। त्यस्तै यो उमेर समूहबाट माओवादी केन्द्रबा ३ सय २८ , जनता समाजवादीबाट ४८, नेकपा एकीकृत समाजवादीबाट ५६ जना महिला निर्वाचित भएका छन्।

यसैगरी ४० वर्ष उमेरसम्मका १० हजार ८ सय ५० जना निर्वाचित भएका छन्। जससमध्ये ५२ सय ७९ जना महिला छन्। ५० वर्ष उमेर समूहबाट १० हजार ९ सय ९० जना निर्वाचित भएका छन्। यो समूहबाट सबैभन्दा धेरै ४३ सय १७ जना महिला चुनिएका छन्। ६० वर्ष उमेर समूहबाट ६९ सय ७८ जना निर्वाचित भएकोमा २ हजार ८६ जना महिला छन्।

७० वर्ष उमेर समूहबाट २ हजार ७ जना निर्वाचित भएकोमा ४ सय ७२ जना महिला छन्। ८० वर्ष उमेर समूहबाट २ सय ३० जना निर्वाचित भएकोमा ६२ महिला निर्वाचित भएको आयोगले जनाएको छ। ९० वर्ष उमेर समूहका १३ जना निर्वाचित भएका छन्। जसमा १० पुरुष र ३ महिला छन्। यो उमेर समूहबाट एमालेका आठजना निर्वाचित भएका छन्। ९० वर्ष उमेरमाथिका २ जना पुरुष निर्वाचित भएका छन्, जसलाई कांग्रेसले उम्मेदवार बनाएको थियो। नागरिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्