भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता : प्रमुख खड्का – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता : प्रमुख खड्का

    मा प्रकाशित

लामो समय कम्युनिस्ट आन्दोलनमा निरन्तर लाग्दै आएका सादगी एवं स्वयम् सुकुम्वासी नेता टीकाराम खड्का भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीलाई हराएर तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनी मात्र विजयी भएनन्, उपमहानगरपालिकाको कार्यपालिका पनि संभवतः एमालेकै वहुमतमा निर्माण हुने छ ।

यस अघिको कार्यकालमा कम्तिमा पनि ६० करोड रुपैयाँभन्दा बढी दायित्वमा चुर्लुम्म डुबेको तुलसीपुरलाई दायित्वमुक्त बनाउनु र यहाँका नागरिकको अपेक्षा अनुसारको भौतिक विकास एवं मानवीय विकास पनि उनका लागि निकै चुनौतीपूर्ण छ । यी यावत चुनौती हुँदाहुँदै पनि नवनिर्वाचित नगर प्रमुख खड्का निकै हौसिएर उपमहानगरपालिकाको दैनिक गतिविधिलाई कसरी अघि बढाउने भन्ने योजनामा जुटेका छन् ।

जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष समेत बनेका खड्काका भूमिहीनलाई जग्गा उपलब्ध गराउने सपना त्यो बेला पूरा गर्न त सकेनन् तर निर्वाचित खड्काले आफ्नो पहिलो आवश्यकता भने भूमिहीन सुकुम्बासीको व्यवस्थापन नै भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न समस्या र जनताका अपेक्षामा केन्द्रित रहेर पत्रकार खेमराज रिजालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासँग गरेको कुराकानीको सार संक्षेप ।

 सर्वप्रथम त बधाई एवं स्वागत छ ।

 धन्यवाद, यो जित मेरो नभएर सबै तुलसीपुरबासी जनता एवं तपाईं मिडियाकर्मीहरूको पनि हो । निर्वाचन लड्ने समयमा एउटा पार्टीबाट टिकट लिनु स्वाभाविक हो तर विजयी भइसकेपछि मैले सबैका समस्यालाई समान रूपमा ग्रहण गर्नु पर्दछ भन्ने आत्मसात गर्न चाहन्छु ।

 निर्वाचनमा विजयी बनेर नगर प्रमुखको अभिभारा वहन गरिसक्नु भएको छ, के छन् तपाईंका प्रमुख प्राथमिकताहरू ?

 सबैभन्दा पहिले त म स्वयम् सुकुम्बासी नेता भएकाले पनि नगरमा सबैभन्दा पहिले भूमि व्यवस्थापन गरी वास्तविक भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउनु हो । त्यसपछि ऐलानीमा बसोबास गरिरहेकालाई आवश्यकताका आधारमा भूस्वामित्व दिनु तथा ऐलानी जग्गा जोतभोग गरेकालाई पनि आवश्यकताअनुसार प्रचलित नीति नियममा रहेर जग्गाको स्वामित्व उपलब्ध गराएर त्यस्ता जग्गाको कर राज्यले पाउनुपर्ने व्यवस्थापन गर्नु मेरो पहिलो प्राथमिकता हुने छ ।

त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले यस अघि थालेको भूमि व्यवस्थापनसम्बन्धी कामलाई पुनः निरन्तरता दिनका लागि म सबैभन्दा बढी प्रतिबद्ध छु । मैले कार्यभार सम्हालेकै दिन यो कुरा उपमहानगरपालिकामै बोलि पनि सकेको छु । अर्को कुरा तुलसीपुर उपमहानगरपालिकाले विकास निर्माणका योजनामा निर्माण व्यवसायीलाई तिर्नुपर्ने दायित्वको निकै चर्चा छ । यस अघिको स्थानीय सरकारले थालेका अधुरा विकास निर्माणका योजनालाई पूरा गर्ने र बाँकी रहेको भुक्तानी निर्माण व्यवसायी वा उपभोक्तालाई दिने मेरो दोस्रो प्राथमिकता हो ।

त्यसपछि आवश्यकताका आधारमा मुलुकको संविधान र तुलसीपुर उपमहानगरपालिकाका स्थानीय ऐन, नीति नियम र कार्यविधिमा रहेर उपमहानगरपालिकाको समग्र विकासका लागि हामी अघि बढ्ने छौँ । त्यसमा सबै वडाध्यक्ष, वडा सदस्यलगायत आम नगरबासीको सधैँ साथ र सहयोगको पनि अपेक्षा गरेको छु ।

 यस अघि तुलसीपुर उपमहानगरपालिकामा कर निकै बढी भयो भन्ने चर्चा थियो, केही शीर्षकका कर उपमहानगरपालिकाले पनि उठाउन सकेन, फोहर व्यवस्थापन करदेखि व्यवसायीहरूले राखेका साइनबोर्ड करमा समेत ठूलो विवाद भयो ? यसलाई कसरी व्यवस्थापन गर्ने योजना छ ?

 राज्यका हरेक नागरिकले सरकारलाई कर तिर्नु पर्दछ तर कर करले होइन, रहरले तिर्नु पर्दछ । कर स्वाभाविक हुनु पर्दछ र करको प्रतिफल नागरिक स्वयम्ले पाएको अनुभूति हुनु पर्दछ भन्ने मलाई लाग्छ । हो, केही कर दोहोरो भएको हुन सक्दछ, केही कर छिमेकी पालिकाको तुलनामा केही फरक भएको हुन पनि सक्छ र केही कर यस पालिकामा नयाँ शीर्षकका हुन सक्छन् । त्यसमा हामी कार्यपालिकाको बैठकमा गहन छलफल गर्ने छौँ ।

छिमेकी पालिकाको कर कम्पाइल गर्ने छौँ र स्थानीय सरकारलाई पनि मजबुत र जनतालाई उत्साहित हुने गरी करको दर निर्धारण गर्ने तयारीमा छौँ । करको दर बढाउनुभन्दा पनि दायरा बढाएर हामीले तुलसीपुर उपमहानगरपालिकालाई आन्तरिक स्रोतमा समुन्नत बनाउने छौँ । त्यसका लागि नदीजन्य पदार्थको कर पुनरावलोकनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने छौँ ।

अन्य विभिन्न शीर्षकका करका सन्दर्भमा उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, प्रजातान्त्रिक उद्योगी व्यवसायी, राष्ट्रिय वाणिज्य संगठनलगायत विभिन्न व्यावसायिक संघसंगठनका प्रतिनिधिसँग पनि एक पटक बसेर यो विषयमा छलफल गर्ने छौँ । मैले तपाईंको पत्रिकामार्फत आमनगरबासीलाई विश्वस्त बनाउन चाहन्छु कि हामीले जनताको ढाड सेक्ने गरी नागरिकबाट कर अशुल्ने छैनौँ ।

 स्मार्ट सिटीको नारा जप्दाजप्दै तुलसीपुरबासी हैरान भइसकेका छन् । तपाईं आफ्नो निवास दुधरासदेखि दैनिक तुलसीपुरसम्म आउँदा स्मार्ट सिटी त देखि सक्नुभयो नि ?

 हो, मैले देखेको मात्र होइन भोगेको पनि छु । अस्तिको केही क्षणको वर्षातले हात्तीखौवा हिलाम्मे देखेपछि तत्काल ग्राभेल लगेर राख्न तुलसीपुर विकास प्राधिकरणलाई आग्रह गरेलगत्तै केही सुधार भएको देख्नुभयो होला । यद्यपि, यो दीर्घकालीन समाधान भने होइन । हो, स्मार्ट सिटीको अवधारणाबाट हामी व्याक हुने छैनौँ । किनकि अब नागरिक पहिलेको सोचाइमा चल्न सक्दैनन् ।

नागरिकको चाहना र विकसित सहरहरूको अभ्यासलाई हामीले क्रमशः अनुसरण गर्ने छौँ । अव्यवस्थित बजार छ । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भइसकेको छ । सरसफाईको पूर्ण व्यवस्थापन हुन सकेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अझै समस्या यावत छन् । फोहर व्यवस्थापन तुलसीपुरको उहिल्यैदेखिको चुनौती हो भन्ने मैले स्पष्ट रूपमा बुझिकसकेको छु ।

त्यसका लागि फोहरको वैज्ञानिक र आधुनिक व्यवस्थापन गर्नु पर्छ भनेर केही विज्ञहरूसँग सुझाव लिने छौँ । केही यो विषयमा काम गरिरहेका कन्सल्टेन्ट कम्पनीसँग पनि चाँडै छलफल गरी फोहरलाई मोहरमा बदल्नेतर्फ हाम्रो ध्यानाकर्षण हुने छ ।

फोहर व्यवस्थापनका लागि उपमहानगरबासीबाट पैसा लिने मात्र होइन, अब सम्भव भयो भने हामीले नगरबासीबाट स्याप्रेशन गरिएको फोहर खरिद गर्ने समेत योजना बनाउने छौँ । अर्को कुरा अव्यवस्थित सडक व्यापारको पनि छ । स्मार्ट सिटी बन्नका लागि सडकमै सबथोकको व्यापार हुनु हुँदैन । त्यसका लागि फलफूलका लागि उपयुक्त बजार खोजिने छ, माछामासुका लागि अर्को स्थान र चल्दै आएको तरकारी बजारलाई थप आधुनिक र व्यवस्थित बनाउन हाम्रो निरन्तर प्रयास रहने छ ।

 तुलसीपुरलाई गन्तव्य स्थल बनाउनका लागि के–कस्ता पूर्वाधारहरूको परिकल्पना गर्नुभएको छ ?

 तुलसीपुरमा आन्तरिक एवं वाह्य पर्यटकहरूको गन्तव्यस्थल बनाउन यहाँ सबैभन्दा पहिले चाहिने भनेको स्तरीय विमानस्थल हो । यसका लागि हामीले यस अघि पनि टरिगाउँ विमानस्थल सञ्चालन गर्नका लागि अहोरात्र प्रयास गरेकै हो तर पर्याप्त धावनमार्ग सहितको विमानस्थल बन्न नसक्दा यहाँको हवाई सेवा प्रभावकारी बन्न नसकेको हो ।

अब आगामी आर्थिक वर्षमा यो विमान स्थलको धावनमार्गको स्तर वृद्धिका लागि संघीय सरकारले पनि बजेट विनियोजन गरेको सुनेको छु । प्रस्तावित बजेटलाई कार्यान्वयनमा ल्याउनका लागि हामीले फेरि पनि क्रियाशीलता बढाउनु पर्ने छ । अर्को कुरा स्तरीय होटल निर्माणको पनि हो । तुलसीपुरमा नियमित र स्तरीय हवाई सेवा सञ्चालन हुन थाल्यो भने यो पश्चिम नेपालको एउटा गत्तिलो हवाई ट्रान्जिट पनि बन्न सक्छ । त्यसका लागि पाहुना राख्नका लागि तुलसीपुर क्षेत्रमा पर्याप्त स्तरीय होटलहरू छैनन् ।

स्तरीय होटल सञ्चालनका लागि हामीले निजी क्षेत्रलाई आह्वान गर्ने छौँ । त्यसका लागि स्थानीय सरकारले के–कस्ता सहयोग गर्न सक्छ, त्यसका लागि हामी तयार पनि छौँ । अर्को कुरा तुलसीपुरलाई गन्तव्य स्थलका रूपमा विकास गर्न अमिलिया–तुलसीपुर–रुकुम सडक र घोराही–तुलसीपुर–पुरन्धारा–सुर्खेत सडकको चाँडै स्तरोन्नति हुनु नितान्त आवश्यक छ । यी दुवै सडकहरू स्तर वृद्धिका क्रममा छन् ।

अमिलिया–तुलसीपुर–सल्यान सडकलाई त यो वर्ष आकर्षक बजेट पनि परेको छ । त्यसमा हामी पनि गौरवान्वित छौँ । यी दुवै सडकको स्तर वृद्धि तुलसीपुरको समग्र समृद्धिसँग जोडिएको छ । तुलसीपुर सुर्खेत सडकले कर्णालीलाई दाङमा जोड्दै राजधानीसम्म जोड्ने छ । यी दुवै राजमार्ग सञ्चालनमा पनि हाम्रो अहोरात्र पहल रहनेछ । यो अवस्थामा यस क्षेत्रका पर्यटकीय क्षेत्र पनि उदाउने छन् ।

 भौतिक विकाससँगै मानव संसाधनमा पनि केही योजना छन् कि ?

 हो, हामी मानव विकासमा पनि उत्तिकै गम्भीर छौँ । सुत्केरीको स्वास्थ्यमा होस् वा बालबालिकाको स्वास्थ्य र ज्येष्ठ नागरिकको स्वास्थ्योपचारलाई निःशुल्क बनाउन हाम्रो आवश्यक पहल रहने छ ।

सामुदायिक शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउन हामी सम्बन्धित विद्यालयसँग छलफल गर्ने छौं । जहाँ विद्यार्थी त्यहा शिक्षक भन्ने अवधारणालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन तथा विपन्न समुदायलाई पानी तथा विद्युतको महशुल अधिक्तम छुट दिनेतर्फ हाम्रो गम्भीर ध्यान जाने छ । यसैगरी सीमान्तकृत समुदायको उत्थानमा पनि तुलसीपुरलाई नमुनाका रूपमा स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 सर्वप्रथम त मलाई अमूल्य मत दिएर तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको जिम्मेवारी प्रदान गर्ने आदरणीय मतदाताज्यूहरूमा विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, मतदान एवं मतगणनासम्मै खटिनु भएकाका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरू, निर्वाचनमा खटिएका समस्त कर्मचारीहरू, अधिकारकर्मी, सञ्चारकर्मीलगायत सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा पनि तुलसीपुर उपमहानगरपालिकाको समुन्नत विकासमा सहकार्यका लागि सदैव साथ र सहयोगको अपेक्षा गर्दछु । धन्यवाद !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्