असार ९, काठमाडौँ ।
नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ ।
यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको थियो । नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।
नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको ३ वटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । ३ खेल हारेको असर वरीयतामा समेत परेको हो ।