मूर्तिकलाका पर्याय बन्दै भीम – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मूर्तिकलाका पर्याय बन्दै भीम

    मा प्रकाशित

लिलाधर वली
दाङ, १५ असार ।

बाल्यकालदेखि चित्रकलामा रहर । त्यही रहरले गर्दा सानोमा कहिले कागजमा चित्र कोर्थे । कहिले गिलो माटो भेट्दा त्यसैलाई भागवान, जनावर त कहिले साथीको मूर्ति बनाइदिन्थे । उनको यो कला देखेर घरपरिवार, साथीभाइदेखि विद्यालयका गुरुहरुसमेत अचम्म पर्थे । जसले गर्दा विद्यालयका सरहरुसँगै साथीहरुले हौसला दिन्थे मूर्ति बनाउन ।

त्यही हौसलाले गर्दा उनको बाल्यकाल माटोसँगै बित्थ्यो विभिन्न मूर्ति बनाएर । तर आर्थिक अवस्था कमजोर भएका कारण गढवा गाउँपालिका–१ निवासी २७ बर्षीय भीम विश्वकर्माले आफ्नो सीप र कलालाई अघि बढाउन सकेनन्् । पढ्दा–पढ्दै पढाइलाई बीचमै छोडेर उनी कमाउनका लागि छिमेकी देश भारत पुगे । त्यहाँ होटलमा काम गर्न थाले । होटलमा काम गरेर बचेको फुर्सदको समयमा मूर्ति बनाउने गर्दथे ।

आफूले बनाएको मूर्ति देखेपछि उनका मालिकले भीमलाई बोलाएर नेपालमा गएर मूर्ति बनाउने सल्लाह दिएको उनी बताउँछन् । ‘मैले काम गरेर बचेको फुर्सदको समयमा बनाएको मूर्ति देखेपछि मालिकले एक दिन बोलाएर भीम तिमीले यहाँ काम गर्नुभन्दा नेपाल गएर मूर्ति बनाउने काम गर । त्यसैमा तिम्रो भविष्य छ भन्नुभयोे’, उनले भने– ‘त्यसपछि केही समय काम गरेर म मूर्ति बनाउने कलालाई अघि बढाउने उद्देश्यले घर आएर गाउँमा मूर्ति बनाउने काम गर्न थालेँ ।’

गाउँ फर्किएपछि पहिलोपटक गाउँकै एउटा मन्दिरमा भवगन गणेशको मूर्ति बनाए । त्यो राम्रो बनाएको भन्दै सबैले प्रशंसा गरेपछि उनको ध्यान घरनजिकै रहेको कुलपानी हरित पार्कमा प¥यो । देउखुरी क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखेपछि उनले सुरुमा निःशुल्करुपमा पार्कमा मूर्ति बनाउन थाले ।

साना–साना विभिन्न देवी–देवतासँगै जीवजन्तुका मूर्ति बनाएको देखेपछि मानिसहरुको चहल–पहल बढ्न थाल्यो । त्यो देखेपछि कुलपानी हरित पार्क रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समितिसँगै अन्य समाजसेवी तथा दाताहरुको ध्यान भीममा प¥यो । उनीहरुले साना मूर्तिसँगै ठूला मूर्तिहरु बनाउन आग्रह गर्न थाले ।

त्यसका लागि पैसासमेत सहयोग गर्न थाले । त्यसपछि उनले कुलपानी हरित पार्कमा उड्न थालेको मयुर, सर्प बोकेर उड्न थालेको गरुड, घोडा, गैडा, बाघ, जरायोलगायतका विभिन्न मूर्तिहरु बनाए । जसले गर्दा पछिल्लो समय दिनहुँ कुलपानी हरित पार्कमा भीडभाड लाग्ने गर्दछ । पहिलेको सुनसान हुने कुलपानीमा अहिलेको चहल–पहल देख्दा आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछन् ।

‘सम्भावना भएर पनि पहिले ओझेलमा परेजस्तै थियो । तर कुलपानी पार्कमा विभिन्न मूर्तिसँगै समितिले पोखरी बनाएपछि अहिले छुट्टै रौनक छाएको छ’, उनले भने– ‘१÷२ बर्षमै यति ठूलो परिवर्तन भएको देख्दा खुशी लाग्ने गर्दछ ।’ समितिसँगै उनले दाताहरुको सहयोगमा सामग्री जुटाएर कुलपानीलाई पर्यटन क्षेत्रमा अघि बढाउने कामसमेत गरेका छन् ।

कुलपानी परिचित गराउन अघि बढेका भीमको कलाको समेत पछिल्लो समय तारिफसँगै चर्चा हुन थालेको छ । जसले गर्दा केही समयअघि आफ्नो गाउँ ठाउँमा मूर्ति बनाएर बस्दै आएका उनलाई विभिन्न ठाउँबाट मूर्ति बनाउनका लागि मागसमेत आउन थालेको छ । मागसँगै मूर्ति बनाएको मेहनत अनुसार ५ हजारदेखि २० हजारसम्म एउटा मूर्तिबाट कमाई समेत गर्ने गरेका छन् ।

‘सुरुमा आफ्नो कला देखाउनकै लागि मैले यहाँ मूर्ति निःशुल्करुपमा बनाउने गर्दथे’, उनले भने– ‘अहिले त्यस्तो अवस्था छैन । मूर्ति बनाइदिन माग आइरहेको छ ।’ भीमले अहिले कुलपानीसँगै देउखुरीको जखेरा ताल र नेपाली सेनाको घोराही व्यारेकमा समेत मूर्ति बनाउने काम गरिरहेको बताउँछन् । उनले जखेरा तालमा हात्ती र घोराहीस्थित नेपाली सेनाको व्यारेकमा पृथ्वीनारायण शाहको शालिक बनाउने काम गरिरहेको बताए ।

आर्थिक रुपमा कमजोर भएका कारण हतौडा र सिमेन्टलगायतका सामग्रीहरुबाट मूर्तिहरु बनाउने गरेको बताउने उनले स्थानीय सरकारले साथ र सहयोग गरे आफूजस्ता कलाप्रेमीहरुले आफ्नो ज्ञान र सीपलाई बढाउनदेखि आफ्नो ठाउँलाई परिचित गराउन ठूलो सहयोग पुग्ने बताउँछन् । अहिले आफ्नो सीप देखेर कुनै बेला यस्तो काम नगर भन्ने आमाबुबादेखि आफन्तहरुसमेत दंग पर्ने गरेको उनी बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्