खानेपानीको सहज व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ : केसी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

खानेपानीको सहज व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ : केसी

    मा प्रकाशित

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि यही असार २५ गते शनिवारका दिन निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धन र संयुक्त प्यानल गरेर दुई वटा समूह चुनावी मैदानमा छन् । नेपाली कांग्रेस,नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा समन्वय समितिको समर्थन गठबन्धनका उम्मेदवार देवीबहादुर डिसी प्यानललाई रहेको छ । सोही प्यानलबाट कोषाध्यक्ष पदका उम्मेदवार हुन ध्रुव केसी । कोषाध्यक्ष पदका उम्मेदवार केसी सँग घोराही खानेपानीको वर्तमान अवस्था, चुनौति र भावी योजनामा केन्द्रित रहेर कनिका टिमले गरेको कुराकानीको सार संक्षेप ।

तपाईको उम्मेदवारी किन ?

म लामो समयदेखि घोराही खानेपानी तथा उपभोक्ता संस्थामा रहेर काम गर्दै आएको छु । बिगतमा घोराहीमा देखिएको खानेपानीको चर्को हाहाकारलाई बढो मेहनतका साथ समाधान गरेका छौँ । खानेपानीको समस्या समाधान गर्ने पहलमा म निरन्तर लागिपरेको छु । उपभोक्ताको समस्या सम्बोधन गर्न म कहिल्यै पनि पछि परेको छैन । थुप्रै उपभोक्ताहरु पानीको माग गर्दै डेलिगेसन आएका उदाहरणहरु पनि हाम्रा सामु छन् । उमभोक्ताका गुनासालाई हामीले सकेसम्म सम्बोधन गर्दै आएका छौँ । अझैं पनि घोराहीवासीका लागि खानेपानीको व्यवस्थापन गर्न, दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने जस्ता महत्वपूर्ण काम बाँकी नै छन् । कतिपय दीर्घकालीन योजनाको थालनी गरिसकेका छौँ हामीले । थालनी गरेका ती योजनालाई पूरा गर्ने एउटा दायित्व त रह्यो नै अर्को उपभोक्ताका सामु गरिएका थुप्रै सङ्कल्प पूरा गर्नुपर्ने भएकाले पनि म खानेपानीमा आवद्ध हुन चाहेको हुँ ।

खानेपानीका समस्या सम्बोधन गर्ने तपाईंका योजना के छन् ?

समस्या कहिल्यै निर्मुल हुँदैनन् । समस्या न्यूनीकरण गर्दै लैजाने हो । एउटा समस्या समाधान गरे अर्को समस्या आइहाल्छ । समस्याका समाधानका अल्पकालीन तथा दीर्घकालीन समाधान हुन्छन् । समस्याको प्रकृति हेरेर हामीले योजना तर्जुमा गर्दै आएका छौँ । खानेपानीमा तत्काल त्यस्ता जटिल समस्या छैनन् । धेरै हदसम्म समस्यालाई सम्बोधन गरिएको छ । समस्या सम्बोधन गर्नमा उपभोक्ताहरुले दिनुभएको साथ र सहयोग हाम्रा लागि निकै महत्वपूर्ण छन् । उपभोक्ताबाट पाएको साथ हामीले भुल्न सक्दैनौँ । यो साथको निरन्तरताको अपेक्षामा छौँ । बढ्दो सहरीकरण तथा घोराही क्षेत्रमा बढ्दै गएको जनसङ्ख्यालाई हेर्ने हो भने भविष्यमा घोराहीमा पानीको समस्या जरुर देखिन्छ । यसका लागि बबईको पानी लिफ्टिङ गरी ल्याउने योजना तर्जुमा भइसकेको छ । यसका लासि प्राथमिक चरण काम तथा बजेटको समेत बिनियोजन गरिसकेको छ । यो योजनाले घोराही क्षेत्रमा कम्तिमा ५० वर्ष पानीको समस्या टार्नेछ ।


बिगतको तपाईको संस्थासंगको आवद्धताले खानेपानीको क्षेत्रमा गरिएको कामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

सुरुवातीका दिनमा हेर्ने हो भने खानेपानी पु¥यान नै मुस्किल थियो । गाग्री भर्दै गर्दा धारा सक्दथ्यो । आधा भरिएको गाग्राको पानीलाई घरमा थन्काएर उपभोक्ताहरु खोलाका जरुवामा पानीको जोखो गर्न जानुहुन्थ्यो । यो समय धेरै भएको छैन । उपभोक्तामा देखिएको यो समास्या धेरै हदसम्म समाधान भएको छ । धारामा आउने फोहोर पानी, पानीमा आउने फोहोर दुर्गन्ध अहिले लगभग लगभग एकादेशको कथा भएको छ । खानेपानीको क्षेत्रमा भएको यो निकै ठूलो उपलब्धी हो । अब दीर्घकालमा पर्न सक्ने समस्याप्रति हामी सचेत छौँ । भविष्यमा पर्ने समस्याका लागि योजना तर्जुमा गरेका छौँ । ती समस्याहरुलाई समाधान गर्दै घोराहीमा २४ सै घण्टा पानीको उपलब्धता गराउन सकिन्छकि भन्ने अबको हाम्रो मुल एजेण्डा बनेको छ ।

तपाईंका जित्ने आधारहरु के के छन् ?

चुनावी मैदानमा उत्रनुभन्दा पहिले जितका लागि केही न केही आधार हुन्छन् नै । म पनि जितका केही आधार देखेरै चुनावमा उत्रिएको हुँ । म लामो समयदेखि यस संस्थामा आवद्ध भएर उपभोक्ताका समस्यासँग साक्षात्कार हुँदै आएको छु । मेरो जितको आधार पहिलो उपभोक्ताको माया र विश्वास हो । मैले उपभोक्ताका समस्या समाधान गर्न लागिपरेको मेहनत हो । अध्यक्ष देबीबहादुर डिसीज्यूसँग सहकार्य गर्ने अवसरले मलाई खानेपानीको क्षेत्रमा काम गर्ने सिकाई प्राप्त पनि भयो । सिकाईसँगै पानीको समस्या समाधानका लागि उपायहरुको खोजी गर्ने कौशलता पनि मिल्यो । म पुनः दोहो¥याएर भन्छु मेरो जीतका लागि सबै उपभोक्ताज्युहरुको अपार प्रेम, सद्भाव र सहयोग नै अपरिहार्य हो । म विश्वस्त छु, मलाई समग्र उपभोक्ताज्युहरुको त्यो प्रेम, सद्भाव र सहयोग मिल्ने छ र म घोराही खानेपानीको कोषाध्यक्षमा निर्वाचित हुनेछु । खानेपानीको क्षेत्रमा कटिवद्ध रहेर काम गर्ने प्रण सहित सबै आम उपभोक्ताज्युहरुलाई मेरो अनुरोध छ ‘मलाई तपाईहरुले अमूल्य मतले बिजयी बनाईदिनु होला ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्