प्रशामक हेरचाह सामग्री नेपाली भाषामा अनुवाद गरेर सार्वजनिक – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रशामक हेरचाह सामग्री नेपाली भाषामा अनुवाद गरेर सार्वजनिक

    मा प्रकाशित

साउन २७, काठमाडौँ ।
निको नहुने रोग लागेका बिरामीहरूलाई शारीरिक, मनोवैज्ञानिक, आत्मिक तथा सामाजिक रूपमा सेवा पु¥याउन आवश्यक विधि समेटिएको प्रशामक हेरचाह सामग्री (प्यालिएटिभ केयर टुलकिट) सार्वजनिक भएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट, प्यालिएटिभ केयरका लागि नेपाली सङ्गठन (न्यापकेयर) र आईएनएफ नेपालको संयुक्त पहलमा पहिलो पटक नेपाली भाषामा अनुवाद गरी उक्त सामग्री सार्वजनिक गरिएको हो ।

काठमाडौँमा हिजो आयोजित एक कार्यक्रमकाबीच स्वास्थय तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा महानिर्देशक सिंहले प्रशामक हेरचाह सामग्री (प्यालिएटिभ केयर टुलकिट) नेपाली भाषामा सार्वजनिक हुनु नेपालको स्वास्थ्य क्षेत्रका लागि एक ऐतिहासिक दिन भएको बताउनुभयो । यो सामग्रीलाई तल्लो तहका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउन तथा उनीहरूमार्फत सेवाग्राहीको स्याहार, उपचारका लागि व्यवहारिक रूपमा कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । ‘२०७५ सालमा जनस्वास्थ्य ऐन आएपछि जनतालाई कस्तो स्वास्थ्य सेवा दिने, कसरी उनीहरूको उपचार गर्ने, समस्या आउन नदिन के गर्ने र समस्या भइहालेमा के गर्ने भन्ने बारेमा प्रष्ट व्यवस्था गरेको छ ।’ महानिर्देशक सिंहले थप्नुभयो, ‘प्रशामक हेरचाहको अवधारणा नेपालमा शिशु अवस्थामा छ । यसको विकासका लागि आज सार्वजनिक भएको सामग्री प्रभावकारी हुने अपेक्षा गरेको छु ।’ प्यालिएटिभ केयरका लागि नेपाली सङ्गठन (न्यापकेयर) का अध्यक्ष तथा भक्तपुर क्यानसर अस्पतालका कार्यकारी निर्देशक पौडेलले नेपालमा प्रशामक हेरचाहको अवधारणाको विकास गर्नका लागि गरिएका पहलको बारेमा अनुभव सुननाउँदै विगतको तुलनामा धेरै सफलता हात परेको बताउनुभयो ।

निको नहुने रोग लागेपछि अन्तिम अवस्थामा मात्र यस्तो सहयोग गर्नुपर्छ भन्ने मान्यता पहिले भए पनि निको नहुने रोग लागेको थाहा पाउनेवित्तिकै सम्बन्धित व्यक्ति, परिवारका सदस्यका लागि गरिने स्याहार, परामर्शको कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । नेपालमा क्यान्सर प्रभावितका लागि प्रशामक हेरचाहको अवधारणा सम्बन्धित सरकारी तथा गैरसरकारी अस्पतालमा भए पनि क्यान्सरबाहेकका दीर्घ रोगीका लागि पोखराको हरियो खर्क अस्तालले यो सेवा सुरु गरिएको अस्पतालका प्योलिएटिभ केयर क्लिनिकल संयोजक मन्जु विकले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा यो सेवा दिनका लागि १४ शैया छुट्टाइएको छ । प्रशामक हेरचाह सामग्री (प्यालिएटिभ केयर टुलकिट) नेपालीसहित विभिन्न १० भाषामा अनुवाद भइसकेको छ । नेपाली अनुवादका लागि ९ जना चिकित्सक, ३ जना नर्स, औषधिविज्ञ, सार्वजनिक स्वास्थ्यका अनुसन्धातासहितको १४ जनाको टोलीले काम गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्