भदौ २७, काठमाडौँ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समन्वय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने बैठकमा आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा महिला प्रतिनिधित्वको सुनिश्चितता, समावेशी प्रतिनिधित्वको सुनिश्चितता, निर्वाचन कम खर्चिलो बनाउने कुरा, आचारसंहिताको कार्यान्वयन र निर्वाचन पर्यवेक्षण अनि निर्वाचन कानुन, स्रोतसाधन, सुरक्षाको व्यवस्थापन, मतदाता शिक्षाको बारेमा छलफल हुने समितिका सचिव सीता काफ्ले वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।
यसैबीच अरु दुईवटा संसदीय समितिको बैठक पनि आजका लागि बोलाइएको छ ।
बिहान साढे ११ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समितिको बैठक बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्दैछ ।