भदौ २८, काठमाडौँ ।
महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ४३ प्रश्नको बयान सकाएको छ । तर अझै पनि पूरक र प्रतिप्रश्न भने गर्न बाँकी रहेको समितिले जनाएको छ । जबराले बयानका क्रममा विभिन्न आरोप लगाएका व्यक्तिहरूसँग पनि छलफल गरेपछि अन्तिममा फेरि जबरासँग बयान लिने समितिले तयारी गरेको छ ।
समितिका अनुसार यही १५ गतेदेखि शुरु भएको बयानको क्रममा ४३ प्रश्नको जवाफ लिएको छ । आज बसेको समितिको बैठकले जबराले आरोप लगाउनुभएका केही व्यक्तिसँग छलफल गर्ने सहमति गरेको जसपा सांसद प्रमोद साहले जानकारी दिनुभयो ।
बयानका क्रममा प्रधानन्यायाधीशले मुछेका केही पूर्वन्यायाधीश, वकिललगायतसँग छलफल गरेपनि यही महिनाभित्रै प्रतिवेदन सभामुखलाई बुझाउने उहाँको भनाइ छ । असोज १ गते प्रतिनिधि सभाको कार्यकाल सकिनु अगावै सभामा पेश गर्नेगरी समितिले प्रतिवेदन तयार गर्न लागेको छ ।
सत्तापक्षीय ५ दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा फागुन १ गतेदेखि निलम्बनमा हुनुहुन्छ ।