भदौ ३०, काभ्रे ।
काभ्रेमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानमा रहेको एक ढुङ्गाखानीमा आज बिहान पहिरो जाँदा घर पुरिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहान करिब तीन बजे घरमाथिबाट पहिरो खस्दा घरभित्र सुतिरहेका ८५ वर्षका लादुलुङ तामाङ, उहाँका छोरा ४४ वर्षका निर बहादुर तामाङ र ४० वर्षका छोरी साबित्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक तीनै जनाको शव धुलिखेल अस्पतालमा राखिएको छ । पहिरोले घरको अधिकांश भाग पुरिएको काभ्रेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।