असोज १, दाङ ।
आजबाट प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएको छ । कार्यकाल सकिने अन्तिम दिनमा बसेको प्रतिनिधि सभा बैठकमा पनि नेताहरूले एकले अर्कालाइ आरोप, प्रत्यारोप र घोचपेच गर्न छोडेनन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्मा भेट भएको बताउनुभयो । हुन त उहाँले परमादेशको सरकार भनेर भन्नु हुन्छ, यो संसद् नै परमादेशबाट आएको हो, जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । प्रधानमन्त्रीले भन्नुभयो ।
परमादेश नभएकोसँगै बसेर काम गर्न पाउने अवसर नआउने प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो । यो अवधिमा सरकारले राम्रो उपलब्धी हासिल गरेको दाबी गर्दै प्रधानमन्त्री देउवाले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुर्नस्थापनालाई असंवैधानिक कदमको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको आरोप लगाउनुभयो । आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उहाँले दोहो¥याउनुभयो ।
अध्यक्ष ओलीले आज छुट्टिने बेलामा आफूले कठोर बोली बोल्न नचाहेको पनि बताउनुभयो । भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेको भन्दै उहाँले बाहिरबाहिर एकथोक भनिने र भित्रभित्र अर्को थोक नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनुभयो । प्रतिनिधिसभाको अन्तिम बैठकमा अध्यक्ष ओलीले संसद् विघटनको बचाउ गरिरहँदा प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । यस्तै नेता ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी भएको पनि प्रचण्डको भनाइ रहेको थियो ।
यसैबीच,मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।