काठमाडौं, २ असोज । सर्वोच्च अदालत जाने तयारीमा रहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिनुभएको छ । उहाँले आज बिहान ११ बजे आफू सर्वोच्च जाने बताउनुभएको थियो । तर निवासको बाहिरसमेत प्रहरी तैनाथी बढाइएकाले आफू निस्कन नपाएको र सरकारले बल प्रयोग गरेर आफूलाई रोक्न खोजेको जबराको भनाइ छ ।
उहाँको निवासबाट निस्केका गाडीलाई पनि प्रहरीले जाँच गरेको छ । उहाँलाई सर्वोच्च प्रवेश गर्न नदिन सरकारले भनेपछि निवास बाहिर प्रहरी तैनाथी बढाइएको हो । जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चासँगै उहाँको निवास बालुवाटार र सर्वोच्च अदालत परिसरमा बिहानैदेखि प्रहरीको उपस्थिति बढाइएको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन लाग्नुभएको हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी गरेको छ । बालुवाटारस्थित उहाँको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उहाँ आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा रहनुभएको थियो । तर निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले आफ्नो निवासमा घेरा हालेको उहाले बताउनुभएको छ ।