असोज २, भैरहवा ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन अन्तर्राष्ट्रिय उडान हुने भएको छ । जेठबाट साताको ३ दिन उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात दिनको उडान सुरु गरेको हो ।
पछिल्लो समय यात्रु माग वृद्धि भएसँगै कम्पनीले आफ्नो उडान सङ्ख्या विस्तार गरेको विमानस्थल कार्यालय प्रवक्ता सुवास झाले बताउनुभयो । यो विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई जजिराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिँदै आएको छ ।
सञ्चालनमा आएको ३ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार यात्रुले उडान अवतरण सेवा लिइसकेका छन्। यो विमानस्थलबाट ६० प्रतिशत यात्रु तराई क्षेत्रबाट वैदेशिक रोजगारीका लागि जाँदै आएका छन् ।