सुविधा बढाउँदै सामाजिक सुरक्षा कोष : घातक रोग लागेमा १० लाखसम्म पाइने – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

सुविधा बढाउँदै सामाजिक सुरक्षा कोष : घातक रोग लागेमा १० लाखसम्म पाइने

    मा प्रकाशित

असोज ७, काठमाडौँ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको श्रीमान–श्रीमती समेतले पाउने भएका छन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संसोधन) ले यो व्यवस्था गरेको हो । अस्ति बुधबार स्वीकृत भएको संशोधित कार्यविधि ९१औँ दिनदेखि लागु हुने कोषका प्रवक्ता विवेक पन्थीले बताउनुभयो ।

घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने योगदानकर्ताको सेवा आवधिभर दस लाखसम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ ।

घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागु रहने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९ पनि स्वीकृत भएको छ।

 

बोर्ड बैठकले सिफारिस गरेको कार्यविधि अनुसार योकदानकर्ताले जस्तै योगदानकर्ताका दम्पती (श्रीमान योगदानकर्ता भए श्रीमतीको र श्रीमती योगदानकर्ता भए श्रीमान) ले पनि उपचार खर्च पाउने व्यवस्था गर्न लागिएको छ । उक्त योजनाअन्तरगत अस्पताल भर्ना भइ उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी प्रदान गर्ने सुविधाको रकम भर्ना भएको अस्पतालमा सिधै भुक्तानी दिइन्छ । यदि अस्पताल भर्ना हुनु नपर्ने अवस्थामा  चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक बढीमा २५ हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

यो सुविधा दावी गर्ने योगदाकर्ताले कुल दावी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ । योगदानकर्ता र योगदानकर्ताको श्रमिकलाई कोषबाट उपलब्ध गराइने उपचार सुविधाको जम्मा रकम एक आर्थिक वर्षमा एक लाख रुपैयाँ भन्दा बढी नहुने व्यवस्था कार्यविधिमा छ । यद्यपी यसको अधिकतम सीमा भने दुवै दम्पतीको गरेर २५ हजार वा एक लाख नै रहनेछ ।

घातक रोग लागेमा १० लाख 

संशोधन गर्न लागिएको कार्यविधिमा नै योगदानकर्तालाई घातक रोग लागेमा उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ । कार्यविधि संशोधनमार्फत यस्ताे व्यवस्था गर्नका लागि सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले सिफारिस गरेको हो ।

सरकारले १० प्रकारका रोगलाई घातक रोगको सूचीमा राखेको छ । कोषले घातक रोग पत्ता लगाउन एक लाखसम्म, स्वदेश तथा विदेशमा उपचारका लागि सात लाखसम्म र फलोअप उपचारका लागि दुई लाखसम्म गरेर एकै पटक वा पटक–पटक गरेर जीवनकालभरी १० लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको हो । घातक रोग उपचार खर्च पेन्सन अर्थात निवृतिभरण पाइरहेका योगदानकर्तालाईसमेत पेन्सन वा निवृतिभरण सुरु गरेको ७ वर्षसम्म (६७ वर्ष पुगुञ्जेलसम्म) उपलब्ध गराइनेछ ।

सन्ततीलाई प्राविधिकतर्फ स्नातक अध्ययनका लागि पाँच लाख

मुलुकभरका ७ वटै प्रदेशबाट गरेर ८४ जना योगदानकर्ताका सन्ततीलाई प्राविधिकतर्फ स्नातक अध्ययनका लागि छात्रवृत्ती पनि सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने भएको छ । प्रत्येक प्रदेशबाट ६ वटा प्राविधिक विषयमा एक महिला र एक पुरुष गरेर प्रति प्रदेश १२ जनाका दरले ७ वटै प्रदेशबाट ८४ जना योगदानकर्ताका सन्तत्तीलाइ छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो । उक्त कार्यविधि मन्त्रालयले स्वीकृति गरेसँग यो योजना कार्यान्वयन प्रक्रियामा जानेछ ।

योगदानकर्ताका सन्तत्तीलाई प्राविधिकतर्फ स्नातकमा चिकित्साशास्त्र, होटल व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान, पशु विज्ञान लगायतका विषय अध्ययनका लागि छात्रवृति दिइने छ । त्यसका लागि सात वटै प्रदेशमा रहेका योगदानकर्ताका सन्तत्तीबाट निवेदन माग गरिनेछ भने आएका निवेदनमार्फत छनौट गरिनेछ ।

कोषले अहिलेसम्म आश्रित परिवार सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था र अवकाश योजना सञ्चाललन गरिहेको छ । जसअनुसार व्यवसायगतजन्य रोगको उपचारमा लाग्ने सबै खर्च व्यहोर्नुपर्ने प्रावधान पनि छ ।

कोषमा श्रमिकको न्यूनतम तलबबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरेर ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा रहेको छ । यो रकम जम्मा भएपछि रोजगारदाताले श्रमिकको कुनै पनि दायित्व व्यहोर्नु पर्दैन । योगदानकर्तालाई गत असार २० देखि औषधि तथा दुर्घटना उपचार गरेबापत ८० प्रतिशत रकम अस्पतालमा तिर्नुपर्ने व्यवस्था हटिसकेको छ ।

योगदानकर्ताले कोषको परिचयपत्र देखाएपछि खर्च भएको २० प्रतिशत रकम मात्रै अस्पतालमा व्यहोर्नुपर्ने र बाँकी ८० प्रतिशत रकम अस्पतालले नै अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा कोषमा दाबी गर्ने गरेको छ । यसका लागि पहिलो चरणमा उपचार सुविधा दिने समझदारी भएको एक सय २६ वटा अस्पतालमध्ये २६ वटाले कोषसँग नै खर्चको अनलाइन प्रणलीबाट दाबी गर्ने व्यवस्था लागू भइसकको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटनाबापतको सुविधा लिँदा सतप्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने गरेको छ ।

२०७५ साल मंसिर ११ गते कार्यक्रमको औपचारिक घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म १७ हजार ३ सय ७६ रोजगारदातामार्फत ३ लाख ६१ हजार ५ सय ७ श्रमिक सूचीकृत भईसकेका छन् ।

सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता रोहित रेग्मीका अनुसार योजनामा आवद्ध ५७ हजार नौ सय ४३ योगदानकर्ताले कोषबाट सुविधा लिइसकेका छन् । उनका अनुसार जसमध्ये सबैभन्दा धेरै २६ हजार ६ सय ५५ जनाले वृद्धावस्था सुरक्षा योजना र दोस्रोमा २६ हजार एक सय ३८ जनाले औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गतको सुविधा लिइसकेका छन् ।

यस्तै ४ हजार एक सय ३३ जनाले आश्रित परिवार सुरक्षा योजना र एक हजार १७ जनाले दुर्घटना तथा अशक्तता सुविधा लिइसकेका सह–प्रवक्ता रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार योगदानकर्ताले अहिलेसम्म २३ अर्ब १९ करोड रुपैयाँ रकम जम्मा गरेका छन् । जसमध्ये कोषले योगदानकर्तालाई २ अर्ब १७ करोड भुक्तानी गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्