भाषा, साहित्य र संस्कृति संरक्षणमा जोड – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भाषा, साहित्य र संस्कृति संरक्षणमा जोड

    मा प्रकाशित

रोम थापा
असोज ८, दाङ ।

दुईदिने राष्ट्रिय सांस्कृतिक संगोष्ठी घोराहीमा शुरु भएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको आयोजनामा शुक्रबार राष्ट्रिय सांस्कृतिक संगोेष्ठी उद्घाटन गरिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा बोल्नेवक्ताहरुले नेपालीहरुको पहिचान बोकेको भाषा, साहित्य र संस्कृतिको संरक्षणसँगै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । आफ्नो देशको पहिचान बोकेको संस्कृतिलाई बचाउनुपर्ने भन्दै उनीहरुले शिक्षाको माध्यमबाट नयाँ पुस्तालाई देशको मौलिक भाषा, साहित्य र कला संस्कृतिलाई पुस्तान्तरण गर्दै लगे मात्र संरक्षण गर्न सहज हुने तर्क राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले भन्नुभयो– ‘देशको भाषा, संस्कृति बचाउन नसके मौलिक पहिचान गुम्ने खतरा हुन्छ । त्यसैले भाषा, संस्कृतिलाई आत्मसात गर्दै लैजानुपर्छ ।’ उहाँले सबै नेपाली नागरिकहरुलाई स्पष्ट दिशानिर्देश गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल संस्कृत विश्वविद्यालयलाई सबैको सल्लाह र सुझावको खाँचो रहेको बताउनुभयो । विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संस्कृति रहे मात्र विकास हुने बताउनुभयो । अन्य मुलुकहरुमा आफ्नो कला, साहित्य, संस्कृतिबाटै राम्रो आयआर्जन गरेर देशको अर्थतन्त्रलाई बलियो बनाएको उहाँको भनाइ थियो । ‘हाम्रो देश नेपाल अन्य मुलुकभन्दा सांस्कृतिक हिसावले धनी छ । तर हामीहरुले त्यसको प्रदर्शन गरेर विश्वसामु देखाउन सकेका छैनौं । बरु भएका संस्कृतिहरु मासिने हुन् कि भन्ने चिन्ता बढेको छ ।’ उहाँले नेपाल संस्कृत विश्वविद्यालयले संस्कृति संरक्षण गर्न भूमिका खेलेको बताउँदै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानसँगै मौलिक कला संस्कृतिको अध्ययनलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख श्यानी चौधरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलपति माधव सुवेदी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महेन्द्र भण्डारीले गर्नुभएको थियो ।

१२ कार्यपत्र

राष्ट्रिय सांस्कृतिक संगोष्ठीमा कार्यपत्र प्रस्तुत गरिएको छ । दुई दिनमा १२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । शुक्रबार प्राडा राजाराम सुवेदीले दैलेखको इतिहास र संस्कृति, डा.कान्छी महर्जनले लोकनाट्यका रुपमा मनमैजुमा प्रचलित रोपाइँ जात्रा, डा. गोविन्द आचार्यले चमार जातिको सांस्कृतिक जीवन ः संक्षिप्त अवलोकन, राजेन्द्रसिंह रावलले मध्यकालीन डोटी राज्यको कर प्रणाली, किराँत जातिको सांस्कृतिक आधार ‘मन्धुम’ डा. भक्त राई र अवधी फाग गीत विक्रममणि त्रिपाठीले प्रस्तुत गर्नुभएको छ ।

शनिवार लुम्बिनी प्रदेशका मातृभाषाको विकास प्राडा. माधवप्रसाद पोख्रेल, प्राचीन नेपाली कलाकृतिहरुमा रतिकला डा. शशी थापा पण्डित, भोजपुरी लोककाव्य ‘शोभनयका बञ्जारा’ संक्षिप्त अध्ययन डा. गोपाल ठाकुर, थारु लोक संस्कृतिमा मन्त्रको अध्यास अशोक थारु, हाता खेल्ने मगर जातिको युद्धकला टीकाराम बुढा र नेपाल संस्कृत विश्वविद्यालयमा धर्म दर्शनको अध्यापन परम्परा र विशिष्टाद्धैत दर्शन डा. रघुनाथ नेपालले प्रस्तुत गर्नुहुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्