असोज ११, दाङ ।
नेपाली काँग्रेसले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा राजनीतिक रंग दिने प्रयास गरेको आरोप लगाएको छ ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा गर्दै केपी ओली नेतृत्वको सरकारकै पालमा अध्यादेश मार्फत अघि बढेको भन्दै त्यसबेला अदालतले संसदबाटै टुंगो लगाउनुपर्छ भनेकाले संसदमा लगिएको बताउनुभयो ।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लङ्घन भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता महतको भनाइ रहेको छ । संविधानको व्यवस्था अनुसार उमेर पुगेपछि नागरिकले नागरिकता पाउनु मौलिक हक भएको भन्दै नागरिकताको विषयलाई निर्वाचनको मुखमा राजनीतिक रंग दिने कोशिस भएको उहाँको दाबी रहेको थियो ।
यस्तै प्रवक्ता महतले पार्टीमा लोकप्रिय रहेको नेताले चुनाव लड्ने निर्णय भएको पनि बताउनुभयो । जो लोकप्रिय हुनुहुन्छ, जनताको प्रिय हुनुहुन्छ उहाँहरू नै चुनाव लड्नु हुन्छ, काँग्रेसले भनेको छ । काँग्रेसले निर्वाचन आयोगले मन्त्री र प्रधानमन्त्रीलाई निर्वाचन प्रचार प्रसारमा आचारसंहिता मार्फत रोक लगाउने भनेर गरेको निर्णय जायज नभएको पनि बताएको छ ।
यसैबीच, काँगे्रसको संस्थापन इतर समूहले न्यायका लागि आवाज उठाउँदा संस्थापनले कारवाही गरे भोग्न तयार रहेको बताएको छ । काँग्रेस संस्थापन इतर समूहका नेता गुरुराज घिमिरेले आज पार्टी कार्यालय सानेपामा प्रतिक्रिया दिँदै काँग्रेसको समानुपातिक सूची बनाउँदा न्याय नभएको भन्दै त्यसैका लागि आफूहरुले आवाज उठाएको बताउनुभयो । समानुपातिकको सूची बनाउँदा न्याय नभएको नेता घिमिरेको भनाइ रहेको थियो ।
काँग्रेसमा शेखर कोइराला समुहका दोस्रो तहका नेताहरुले समानुपातिक सूची नसच्याए धर्ना बस्ने चेतावनी दिदै आएका छन् ।