दाङ, १४ असोज । दाङ डेंगु रोगको जोखिमको देशभरमा चौथो जिल्लाको रुपमा छ । जिल्लामा पछिल्लो समयमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग इपिमियोजी तथा रोग नियन्त्रण महाशाखा तथा लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय दाङको आयोजनामा स्थानीय तहका प्रमुखहरुसँग डेंगु रोगको रोकथाम तथा नियन्त्रणका विषयमा आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले दाङ डेंगुको उच्च जोखिममा रहेको बताए । दाङमा हालसम्म १ हजार ४ सय ७३ जना डेंगुका बिरामी रहेको उनले बताए । जिल्लामा हालसम्म डेंगुबाट ४ जनाको मृत्यु भइसकेको र ३ जनाको आइसीयुमा उपचार भइरहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा ३ हजार १ सय २५ जना डेंगुका बिरामी रहेको दाहालले बताए । ‘दाङमा डेंगुका बिरामी बढ्दै गइरहेका छन्’, उनले भने । घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, तुलसीपुर उपमहानगरपालिकामा डेंगुका बिरामी बढी देखिएको उनले बताए ।
समुदायमा सचेतनासँगै लामखुटेको लार्भा नष्ट गरेर यसको नियन्त्रणमा लाग्नुपर्ने उनले बताए । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद्बहादुर शाहीले दाङ देशमै डेंगु रोगको जोखिममा चौथो जिल्लाको रुपमा रहेको बताए । रोग नियन्त्रण गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । रोग नियन्त्रणका लागि सरसफाइमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरे । ‘रोग नियन्त्रणभन्दा बाहिर जानसक्छ यसतर्फ ध्यान दिन सक्नुपर्दछ’, प्रमुख शाहीले भने । विज्ञ मुरारी दासले सानो कुरामा ध्यान दिनुपर्ने बताए । सानो कुराले नै ठूलो असर पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
समस्यालाई समाधान गरी अगाडि बढ्न सक्नुपर्ने उनले बताए । ‘समस्याबाट उपाय निकालेर अगाडि बढ्न सक्नुपर्दछ’, उनले भने । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले डेंगु नियन्त्रणका लागि घर–घरबाट सुरु गर्नुपर्ने बताए । घर–घरबाट सुरु नहुँदासम्म रोग नियन्त्रणका लागि समस्या हुने उनको भनाइ छ । पालिकाहरुले पनि घर–घरसम्म पुग्ने योजना बनाउन उनले आग्रह गरे । पालिकाहरुले आफ्नो योजना बनाएर अगाडि बढ्न सक्ने उनले बताए । ‘पालिकाले आफ्नो तर्फबाट भूमिका खेल्न सक्नुपर्दछ’, उनले भने । घर तथा घर वरिपरी नै डेंगु सार्ने लामखुट्टे रहेकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले नागरिकले बानी, व्यवहार परिवर्तन गर्नुपर्ने बताए । डेंगुको जोखिम आउँदा वर्षमा हुने समेत उनको भनाइ रहेको छ । त्यसतर्फ ध्यान दिन सक्नुपर्ने उनको भनाइ रहेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कँडेलले ज्वरोका बिरामी बढेको बताए । डेंगुका बिरामी उच्च जोखिमको अवस्थामा आउने गरेको उनको भनाइ रहेको छ । समयमा नै उपचार गराउनुपर्ने उनले बताए । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले डेंगु नियन्त्रणका लागि उपमहानगरपालिकाले अभियान सुरु गरेको बताए । कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्रा बुढालगायतले विचार राखेका थिए ।